कम्युनिष्ट आन्दोलन र साउनका कुरा

  • शरद अधिकारी

कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्ये सबैभन्दा अन्तिममा दिवंगत हुनुभएको थियो नरबहादुर कर्माचार्य । उहाँको निधनसँगै नेपालमा कम्युनिष्ट पार्टी सञ्चालनको कार्यभार दोस्रो पुस्तामा आएको छ । पुष्पलालको अगुवाईमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठले भारतमा गएर कम्युनिष्ट पार्टी स्थापना गर्दा नेपालमा राणाशासन थियो । 

यही साउनमा अर्का कम्युनिष्ट योद्धा तुलसीलाल अमात्यको सम्झना गरिन्छ । उहाँको मृत्यु ०५४ सालमा भएको थियो । ०४६ साल फागुन ७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन थाल्ने दिन उहाँ एक्लै काठमाडौंको सडकमा कम्युनिष्ट पार्टीको झण्डा लिएर आउनुभएको थियो । 
यही महिना विश्वमा कम्युनिष्ट दर्शनलाई मलजल गर्ने समाजशास्त्री फ्रेडरिक एंगेल्सको निधन भएको हो । सन १८२० मा जन्मनुभएका एंगेल्सको निधन १८९५ मा भएको थियो । माक्र्सलाई माक्र्सको रुपमा चिनाउने एंगेल्स पनि आफैं विभिन्न पुस्तक लेख्नुभएको छ । उहाँले कार्ल माक्र्सले तयार पार्नुभएको पँुजीको भाग एक र दुई प्रकाशनका लागि सहयोग मात्र गर्नुभएन तेस्रो अंक आफैंले प्रकाशनमा ल्याउनुभयो । तेस्रो अंक निस्किँदा माक्र्सको निधन भइसकेको थियो । कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्ने काम माक्र्स र एंगेल्स दुवैको सहकार्यमा भएको थियो । 

केही वर्षअघि गरिएको यौटा सर्वेक्षणमा माक्र्सवाद २१ औं शताब्दीको उत्कृष्ट विचार ठहरिएको थियो । आज विश्वका सबैजसो देशमा कम्युनिष्टहरुको कुनै न कुनै प्रभाव परेको छ । कतिपय देशमा त कम्युनिष्टहरुको शासन छ । कम्युनिष्ट शासित करिब आधा दर्जन र समाजवाद उदाउँदै गरेका देशहरुको संख्या पनि निकै छ । आफू कसरी धनी बन्ने भन्दा पनि गरिबको आर्थिक स्तर कसरी उठाउन सकिन्छ भन्ने मान्यताका साथ संसारभरका कम्युनिष्टहरु अघि बढेका हुन्छन् । लेनिन, स्टालिन, माओ, हो चि मिन्ह, किम इल सुङ, फिडेल क्यास्ट्रो सबैको चाहना शासन सत्तामा गरिबको पनि पहुँच हुनुपर्छ भन्ने थियो । नेपालका कम्युनिष्टहरुको आदर्श पनि त्यही हो । मात्र सिद्धान्त र व्यवहारमा केही फरक छ । बोली र व्यवहारमा भिन्नता छ ।

अन्यत्र र नेपालका कम्युनिष्टबीच भिन्नता नहुनुपर्ने हो । विचार र व्यवहारमा समानता देखिनुपर्ने हो । कतिपय सन्दर्भमा कम्युनिष्टभन्दा पनि कमाउनिष्टको हालीमुहाली छ । देश र जनताको हितभन्दा आफ्नो र परिवारको स्वार्थ ज्यादा देखिन्छ । आफ््नो स्वार्थका लागि जोसँग पनि घाँटी जोड्न तत्पर हुने स्थिति पैदा भएको छ । कुरा क्रान्तिकारी गरे पनि व्यवहारमा पुँजीवादीभन्दा तुच्छ चरित्र पाइन्छ । भेट हुँदा एक आपसमा नबोल्नेसम्मका क्रियाकलाप हुन्छन् । छिमेकी भारतमा अहिले पनि कम्युनिष्टका नाममा हतियार उठिरहेको छ ।

नेपालमा पनि १० वर्षसम्म हतियार उठेकै हो । हतियारले समाधान दिँदैन । यौटा देशमा जसरी परिवर्तन हुन्छ त्यसैगरी अर्को देशमा क्रान्ति हुन्छ भन्ने छैन । चिनमा हतियारको संघर्षले सफलता पायो तर नेपालमा पाएन । यही कुरा अरु देशमा नहुन सक्छ । जनताको मत जितेर सत्तामा पुग्न सकिने कल्पना जनताको बहुदलीय जनवादले गरेको छ । रुसमा हजारौंको बलिदानले ल्याएको कम्युनिष्ट सत्ता गुम्दा एक थोपा पनि रगत बगेन । सत्ता परिपक्व नहुँदा वा सत्ता सञ्चालन गर्नेहरुको दृष्टि दूर हुन नसक्दा समस्या पर्दोरहेछ भन्ने कुराको उदाहरण रुस नै हो । बरु भेनेजुयलाजस्ता राष्ट्रहरुले कसरी प्रगति गर्दछन् भन्ने पनि सिकाइको विषय बनेका छन् ।

कम्युनिष्ट हुनु भनेको व्यक्तिको प्रतिष्ठा वा बदनामीको विषय होइन । कम्युनिष्टहरुप्रति जसरी आकर्षण बढिरहेको छ । यो घट्ने स्थिति आयो भने बढाउनका लागि निकै मिहिनेत गर्नुपर्नेछ । कम्युनिष्टहरु पद र पैसाका लागि जसरी मरिहत्ते गरिरहेको देखिएको छ यसले समग्र रुपमा आन्दोलनलाई घाटा छ । अर्को चुनावमा पार्टी हैन, व्यक्ति हेरेर मत हाल्ने परिस्थिति सिर्जना हुँदै छ । 

टिप्पणीहरू