​होच्याएर नबोल, हेर भोलि के हुन्छ

जीवनमा हामी बन्द भएको एउटा ढोका हेरेर रुन्छौं/कराउँछौं । दिक्क हुन्छौं । तर, हाम्रै अगाडि खुलेका अरू तीन द्वारतिर आँखा पु¥याउँदैनौं । भन्छन् नि विष नभएको सर्प र इख नभएको मान्छेको काम छैन । त्यही इखले हो आज उनको परिचय बदलिएको । हिजो राजधानी खाल्डोमा एकमुठी सास अड्याउनकै लागि जागिर खोज्दै हिँड्ने उनी अहिले आफूजस्तै सयौं अपांगको सहारा बनेकी छन् । 

यस्तो उदाहरणीय पात्र हुन् संगीता पन्त । उनले जिन्दगीमा भोगेका हण्डर(ठक्करको कुनै हिसाब छैन । ७ वर्षकै उमेरमा जीवनमा बज्रपात भयो । त्यही घटना जीवनभर बिझाइरहने काँडा बन्न पुग्यो । बालापनमा खेल्दाखेल्दै लडिन् । शुरुमा बायाँ हात नराम्ररी दुख्यो । कुहिना फुटेको आशंकामा गोरखाको मिसन अस्पतालमा प्लास्टर त भयो । तर, नक्कली डाक्टरको फेला परेछ । ‘टाउकाको दुखाइ, नाइटोमा दबाइ’झैं भयो । जोर्नी खुस्किएको प्लास्टर कुहिनामा गरियो । त्यसपछि हातै चल्न छाड्यो । पार लागेन डाक्टरबाट । गुहारियो धामीझाँक्री । भाकियो देवता । आखिर डाक्टरले पार लगाउन नसकेकोे रोग के तार लाग्थ्यो धामीझाँक्रीबाट ? औषधिले २० को १९ पार्न नसकेको दुखाइ के कम गर्न सक्थ्यो र फुकफाकले ? औषधिले छोएन । वैद्यले नि भएन । उपचारको खोजीमा भांैतारिँदै छिरिन् राजधानी । 

तीन महिनासम्म गाउँमै भौंतारिएर वीर अस्पताल धाउँदा बल्ल थाहा लाग्यो– हातको जोर्नी खुस्किएको रहेछ । उपचारका लागि कहाँ मात्र धाइएन ? दिल्ली, पटनासम्म पुगिन् । बायाँ हात झन् सुक्दै गयो । एकातिर यो पीडा थियो, त्यसमाथि समाजको टोकसो । उनीहरू मायाभावले होइन, दयाभावले हेर्थे । आखिर दया र माया पनि फरक रहेछ । आकाश र जमिनजत्तिकै । भन्थे, बिचरीलाई पूर्वजन्मको श्राप लागेछ । मुटु चिमोट्ने यस्ता बज्र धेरैपटक बज्रिए कानमा । तर, सहनुको विकल्प थिएन । भनेर ठूलो हुनुभन्दा सहेर सानो हुनु उत्तम भन्ने सोच्थिन् संगीता । त्यही चोटले मनमनै इख पलाएको थियो । यो समाज, यो गाउँ, यो ठाउँ र यहाँका मान्छेलाई देखाउनु छ केही गरेर । सम्हाल्दै गइन् आफूलाई । जसरी हावाको चापले फुक्दै जान्छ बेलुन, उसैगरी भर्दै गइन् आफूभित्र आत्मविश्वास । तँ आँट् म पु¥याउँछु भनेझैं त्यही आँट र साहसका कारण हो रोकियो देब्रे हातको चाल । तर, रोकिएन अध्ययनको गति । गोरखाकै गाउँबाट पार लगाइन् फलामे ढोका । र, भित्रिइन् सपना नगरी काठमाडौंमा १९ वर्षअघि । तर, कहाँ प्रिय छ र राजधानी खाल्डो ? मनभरि सपना र झोलाभरि भविष्य बोकेर टेकेकी थिइन् पाइला । सपना थियो ‘मास्टर बनेर गाउँ फर्किने ।’ 

बसाइ दाजुभाउजूसँगै । सरस्वती कलेजबाट प्रमाणपत्र तह पार लगाएपछि खोज्न थालिन् जागिर । सपांगले त काम भेट्न गाह्रो, उनी थिइन् असक्त । अनेक हण्डर र ठक्करबाट गुजँ्रदै लामो दौडधुपपछि बसुन्धरास्थित एउटा बोर्डिङ स्कुलमा काम पाइन् मास्टरी । खुशीको सीमा थिएन । त्यसले उनलाई पनि उडायो मुजुरझैं । तर, लामो हुँदैन रहेछ खुशीको आयु । खुशी २० दिन पनि टिक्न नपाई चुँडियो । एकदिन प्रिन्सिपलले भूमिका बाँध्दै भनिन्, ‘बहिनी, तपाईं स्मार्ट हुनुहुन्छ, राम्रो पढाउनुहुन्छ । सबै ठीक छ । तर, हामीले निरन्तरता दिन सकेनौं !’ त्यो दिन बल्ल ब्यँुझिइन्, जागिरको चक्कर आफ्नालागि मात्रै हुन्छ, जीवन चल्छ तर अब अरूका लागि पनि जिउनुपर्छ भन्ने सोच पलायो । हो, त्यही सोचले फेरियो जीवनको नक्सा । त्यसैले त विद्वान्हरू भन्छन्, सोच बदल, जीवन बदलिन्छ । 

बल्लतल्ल पाएको जागिर । त्यही पनि एउटा हात नचलेकै कारण देखाएर जागिरबाट निकालिँदा झण्डै डिप्रेसनको सिकार भइन् । तर, गुमाइनन् आत्मबल । गाउँघरमा सुनेकी थिइन्, अग्रजबाट– ‘विष नभएको सर्प । इख नभएको मान्छे काम छैन ।’ जागिरबाट निकालिएपछि थपियो अर्काे ‘इख’ । यही समाज, यही गाउँ । त्यही जागिरबाट निकाल्ने प्रिन्सिपलकै अघि केही गरेर र केही बनेर देखाउने । दिमागमा तत्कालै क्लिक भयो एउटा हात नचले पनि, शरीर चल्छ, दिमाग चल्छ, मन चल्छ । त्यही जागिरबाट निकालिएको चोटले आज उनको जीवन कायापलट भएको हो । फेरिएको छ अहिले उनै संगीताको परिचय देश÷विदेशमा सफल उद्यमी । र, समाजसेवीका रूपमा । 

जागिरबाट निकालिएपछि मनमनै प्रण गरिन् आफूजस्तै अवस्थाबाट गुज्रिएकाहरूका लागि जिउने । तर, अगाडि पहाड बनेर उभियो पैसा । आखिर कसले बनायो होला यस्तो पैसा ? जो पाइला–पाइलामा तगारो बनेर उभिन्छ । केही गर्नुथ्यो । केही बन्नुथ्यो । एउटा जागिरबाट निकालिएकी उनी फेरि जागिर खोज्दै गइन् । तर, यसपटकको जागिर आफ्नो पेट पाल्नका लागि मात्र थिएन आफूजस्तै अपांगता भएकाहरूका लागि जिउने प्रणस्वरूप थियो । दृढ संकल्पसहितको । गौशालास्थित शान्ति सेवागृह नामक एउटा जर्मन प्रोजेक्टमा काम पनि मिल्यो । महिलालाई सीपमूलक तालिम दिने ठाउँ थियो त्यो । झण्डै चार वर्ष त्यहाँ गुजारिन् । धेरै काम सिकिन् । जागिरे जीवनमा धेरै ‘अपांग’ महिला सम्पर्कमा आइसकेका थिए । यसबीच त्रिचन्द्रबाट समाजशास्त्रमा बीए, एमए सकिन् । र, छाडिन् जागिर । युटर्न भए उनका पाइला । हिम्मत गरिन् । सम्पर्कमा आएका केही अशक्त महिला भेला गरिन् र ऊन खरिद गरेर हाते बुनाइका सामान बनाउन थालिन् । यसरी संगीत र सारथीहरू दिनरात, साँझ बिहान केही नभनी निरन्तर खटिए क्रममा । साबुन र मैनबत्ती बनाउने क्रम चल्यो । संगीताको त्यो सानो पँुजीको उद्योगमा शुरुमा पाँच जना असक्त महिलाले रोजगारी पाए । ती सबै अपांगता भएका, कसैको एउटा खुट्टा चल्दैनथ्यो, कसैको दुईवटै । तर, हिम्मत कसैको कम थिएन । दिनरात नभनी सिलाइ–बुनाइको काम सिकाउन थालिन् । केही आशावादी हुँदै थिइन् । मन चंगाझैं हुँदैथ्यो । फेरि भिलेन बनेर आइपुगे घरबेटी । जसले बिच्छ्याए सपनामाथि तगारो । 

जहाँ उनी कोठा लिएर कार्यालय चलाउँदै थिइन्, त्यहाँ कोठामा ‘धेरै अपांग’ जम्मा भए भनेर घरबेटीले छाड्न उर्दी जारी गरे । एउटा घरबाट निकालिएकी फेरि अर्काे घर चहार्दै हिँडिन् । बल्लतल्ल फेला प¥यो । एउटा घरलाई एड्भान्स पनि दिइन् ५ हजार । तर दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे भनेझैं भयो त्यहाँ पनि । अपांग भन्ने थाहा पाएपछि घरबेटीले रकम फिर्ता गरिदिए । यस्ता अनगिन्ती दुःख, हण्डरले जिन्दगी घेरिए । तर, कत्ति पनि बिचलित भइनन् । 

यो शहरमा क्रूर घरबेटी मात्र होइन केही मनकारी मन पनि रहेछन् । हो, उनले पनि भेटिन् यस्तै एक मनकारी । जो बस्थे युकेमा । उनले ‘बहिनी, यस्तो पवित्र काम गर्न लाग्नुभएको रहेछ’ भन्दै जग्गा दिए । मित्रनगरमै टिनको पाता जोडेर टहरो बन्यो । यसपछि मात्र जीवनले गति लियो । संस्था जन्मियो । शुरुमा १२ जना अपांगता भएका दिदीबहिनीले हस्तकलाको तालिम लिए । त्यहीँ सेल्टरको व्यवस्था । सिलाइ बुनाइको तालिम । उत्पादन शुरु भयो । फिनेल र साबुन बन्न थाल्यो । हस्तकला, फेल्टजन्य वस्तुले तालिम केन्द्र भरिन थाल्यो । घरभित्रै कुँजिएका र अपांगता भएका महिला एकपछि अर्को सम्पर्कमा आउन थाले । सामान उत्पादन र बिक्री आफैं शुरु भयो । यही टहराबाट उत्पादित सामान ठमेलका चोक–चोकमा लगेर बेच्न थालिन् । दिन फिरे । सामान बिक्रीबाट आएको पैसाले सेल्टर चल्न थाल्यो । आत्मविश्वासको मात्रा चुलिँदै गयो । यही बीचमा आफूजस्तै अपांगता भएकाहरूलाई लिएर सामाजिक कार्यका लागि शक्ति (इप्सा) स्थापना गरिन् । ०६६ सालसम्म आइपुग्दा सामानको अर्डर भ्याइ नभ्याइ भयो । हस्तकलाका सामान विस्तारै विदेशसम्म निर्यात हुन थाले । फिनेल–साबुनको माग काठमाडौंमै बढ्यो ।

संगीताले अपांगता भएका दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । तालिम सिकाउँथिन् । निपुण भएपछि बाहिर रोजगारी खोजिदिन थालिन् । तालिम लिन आएका कतिपयलाई त जागिरको अफर नै आउन थाल्यो । क्षमता विकास नभएसम्म यहीं सिक्थे, खाने–बस्ने छँदै थियो । गोजी खर्च पनि थमाइदिन्थिन् । 

मात्र हिम्मत हार्नुहुन्न जीवनमा । बग्नुपर्छ निरन्तर गंगाझैं अविचलित र थकित नभई । हो उनका लागि पनि कता–कताबाट सहयोग जुट्न थाल्यो । कोही लुगा दिन आउँथे, कसैले खानेकुरा दिन्थे । कसैले सुत्नलाई खाट दिए । केही मनकारीले अशक्तहरूले बनाएका सामग्री भन्दै ‘मार्केट’ बनाइदिए । कसैले ‘अर्डर’ खोजिदिए । यसरी उनको झुपडी ‘सेल्टरहोम’ बन्न थाल्यो, अपांगता भएका महिलाले, उनीहरूले बनाएका सामानले । कुरा ७० सालको हो । संस्थाले प्रतिदिन प्रगति गर्दै जाँदा अफर आयो जापान जाने । जहाँ आफ्नै भाइ छन् । त्यहाँ पुगेपछि चिनेजानेका साथीहरूले पटक–पटक भने, हामी १२ लाख खर्चेर आयौं । कमाइ पनि ठीकै छ । तपाईं सित्तैमा आउन पाउनुभएको छ । यहाँ अपांगता भएकालाई राम्रो अवसर छ । यतै बस्नुस् । उनले स्विकारिनन् त्यस्ता अवसर । किनकि उनका काँधमा जिम्मेवारीको ठूलो पहाड थियो आफूजस्तै अशक्तहरूको मुहारमा खुशी भर्नु । जापान बसेर होइन स्वदेशमै फर्किएर उनी त्यो खुशी भेट्न सक्थिन् । त्यहाँ तालिमका समयमा पाएको १ लाख रुपैयाँ खर्च बचाएर आफ्नै जन्मभूमि फर्किन् । 

हिजो मास्टरीको एउटा नोकरीबाट निकालिएकी संगीताबाट अहिलेसम्म तीन हजारभन्दा बढी अपांगता भएका दिदीबहिनीले तालिम लिइसकेका छन् । मान्छेका लागि एउटा माछा मारेर दिनुभन्दा एउटा जाली दिएर माछा मार्न सिकाउनु उत्तम । हो आज उनको सम्पर्कमा आएका सबैले सीप सिकेका छन् । ती सबैले रोजगारी पाएका छन् । आफैं केही गरेर खान सक्ने भएका छन् । हात खुट्टा नचले पनि उनीहरूमा आत्मविश्वास भरिएको छ । अहिले उनको आश्रममा सेल्टर लिएर बस्ने अपांग दिदीबहिनीको संख्या ७० हाराहारी छ । केही दिनभर काम गर्छन्, साँझ फर्कन्छन् । सरकारले पटक–पटक गरी एप्सा नेपाललाई सम्मानस्वरूप दिएको १५ लाख, स्काइ लाइफ फाउण्डेसनलगायत संस्थाको सहयोगले बालाजु बाइपासमा झण्डै ३५ लाख खर्चेर जग्गा किनेको छ संस्थाले । अहिले त्यहाँ शारिरिक रूपमा अशक्त र घर परिवारबाट त्यागिएकाहरूका लागि बस्ने भवन बनिसकेको छ । सुविधासम्पन्न सेल्टरमा अशक्तहरू बस्छन्, त्यहीँ काम गर्छन् । जीविकोपार्जन चलिरहेको छ । जीवनका ऊर्जाशील १५ वर्ष यसैगरी आफूजस्तै अपांगकै सेवामा बिताइरहेकी छन् निःस्वार्थ । बाँकी जीवन यस्तै असहायहरूकै सेवामा बिताउने प्रण गर्छिन् संगीता ।

टिप्पणीहरू