मृत्युलाई अतिरञ्जित नगरौं न मिडिया
प्रविधिको विकाससँगै मिडियाका भूमिका र प्रस्तुतिले समाजलाई कति आपराधिक र विसंगत बनाइरहेको छ ? चर्चा यो कोणबाट पनि चल्नु जरुरी छ । कारण हो, आत्महत्याको बढ्दो प्रवृत्ति र त्यसमा मिडियाको प्रस्तुतिकरण ।
विश्वमा प्रतिवर्ष प्रति एक लाख मानिसमा १० दशमलव ७ जनाले आत्महत्या गर्ने प्रबृत्ति देखिन्छ । नेपाल आत्महत्या हुनेमध्ये दशौँ सूचीमा पर्छ । संसारका दुई सय राष्ट्रमध्ये सन् २०१६–१७ को वार्षिक हिसाब गर्दा नेपाल यो स्थितिमा पुगेको हो । अर्थात्, नेपालमा आत्महत्याको प्रतिशत प्रति एक लाखमा १९ दशमलव ६ जनाका दरले हुँदै आएकोमा पछिल्लो समय त्यसमा बृद्धि भएको छ । हुँदाहुँदा ११ वर्षका केटाकेटी पनि झुण्डिएर मर्न थालेका छन् । विश्वको सबभन्दा बढी आत्महत्या हुने देश हो, ग्रीनल्याण्ड । त्यहाँ एक लाखमा ७० जनाले आत्महत्या गर्छन् । यो दर अमेरिकामा १४ जना, लिथुआनियामा ३० जनाको छ । नेपाल बढ्दो आत्महत्याका कारण दशौँ स्थानबाट आठौँमा पुगिसकेको छ । र, यही कारण हो, मिडियाले आफ्नो भूमिकाबारे सचेत हुनुपरेको ।
अपराध संवाददाताले अनुसन्धानरत विषयमा कति समाचार लेख्ने, के नलेख्ने भन्ने कुराका निश्चित मानकहरु स्थापित छन् । कुनै मुद्दाको प्रतिवादी नै भए पनि लिंग, समुदायका संवेदनशीलताको आधारमा सार्वजनिक गरिन नहुने विषय पनि छन् । तर, अहिले कस्तो प्रबृत्ति विकास भयो भने, मृत अवस्थाको फोटोसहित काल्पनिक कथा नै रचेर सविस्तार समाचार सम्प्रेषण गरिदिने । कसैले आत्महत्या गर्छ, परिवारको तीन पुस्ता खुलाएर छापिने । मर्ने त मरिहाल्यो, बाँचेकाहरुलाई दुःख दिने हिसावले रिपोर्टिङ गरिदिने । त्यसमाथि ‘यति मीटरको डोरी, यस्तो डोरी, यो औषधि, यो हतियार, यो पंखा…’ भन्दै आत्महत्या गर्न प्रेरित गर्ने समाचारले कसलाई फाइदा पु¥याउँछ ?
यस्तो विष प्रयोग भयो भनेर प्रचार गरिन्छ । सुर्तिजन्य पदार्थको विज्ञापनमा ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनिएजस्तो आत्महत्याको समाचार लेख्दा मर्ने विधिको वर्णन गर्नुको सट्टा आत्महत्या अवैधानिक र अनुचित काम हो जस्ता सन्देश दिनुपर्ने हो । तर, कतिपय मान्छेलाई मरौँ–मरौँ लाग्ने गरी समाचार प्रस्तुत गर्दा समाजमा यस्तो विसंगतिले बढावा पाएको छ । डा. रवि शाक्य भन्छन्, के आत्महत्या गौरव या रोमाञ्चक विषय हो, ग्ल्यामरस या ग्लोरिफाइपूर्वक रिपोर्टिङ गर्नलाई ? रोग र उपचारको हकमा के–कति कुरा बिरामी र परिवारलाई जानकारी दिने भन्ने आचारसंहिता भएजस्तै पत्रकारको निम्ति कुनै मापदण्ड हुनु पर्दैन ?
टिप्पणीहरू