पति ठूलो कि राष्ट्रपति ?
शुद्धोदन गाउँपालिका कार्यालयमा ‘मोस्ट वाण्टेड’ को तस्बिर झुण्ड्याइएको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका उनी हुन् प्रितम पाण्डे ।
फोटो गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो कार्यकक्षमा राखेकी छन् । प्रितम सुधाका श्रीमान् हुन् । विठुवाका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्ष बढी कैद सजायँ गरेको छ । अन्य ४ हत्या र डाँका–चोरी अपराधका फरारी हुन् । प्रदेश सरकारले जनप्रतिनिधिको कार्यकक्षमा राष्ट्रपति तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष निसारअहमद खाँले भने कार्यकक्षमा कसैको तस्बिर राखेका छैनन् ।
उपाध्यक्ष पाण्डेले श्रीमान्कै तस्बिर राख्दा कार्यालयमा जानेहरू अचम्म पर्छन् । पाण्डे ०४८ सालदेखि फरार छन् । उपाध्यक्षले प्रितमलाई गाउँपालिकाको सल्लाहकारसमेत बनाएकी छन् । प्रितमको डरले गाउँपालिका अध्यक्ष केही बोल्दैनन् । ‘सबैको मागबमोजिम सल्लाहकार बनाइएको हो, मेरो एकल निर्णय होइन’, उनले भने । तस्बिर हटाउन आग्रह गरे पनि सुनुवाइ नभएको पनि बताए ।
उपाध्यक्षले भने गाउँपालिकाको सल्लाहकार भएकोले तस्बिर राखेको र कुनै हालतमा नहटाउने बताइन् । उनले श्रीमान्कै कारण चुनाव जितेकी हुन् । फरार रहे पनि रातारात श्रीमान् प्रचारमा जान्थे । र, सबैको खुट्टा ढोगेर भोट माग्थे । गाउँपालिकामा मधेशी ब्राह्मणको बाहुल्यता छ । त्यसैको प्रभावमा परेर उनले जितेकी हुन् । जनुसुकै पार्टीको भए पनि सुधालाई ब्राह्मणले भोट दिएका थिए । उनी कांग्रेसबाट चुनाव जिते पनि प्रितमचाहिँ प्रतिकार समिति स्थापना गरी माओवादीको सफाया गर्दै हिँडेका थिए । अहिले लुकीचोरी सामान्य अवस्था भए नेपाल, नभए भारतमा बस्दै आएका छन् ।
टिप्पणीहरू