कतै खातैखात, कतै लातैलात

स्पष्टीकरण सोधिए पनि अन्ततः ‘पावरवाला’ को हकमा निर्णय अर्कै भइदिने ! आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल काठमाडौं बसी–बसी सगरमाथा आरोहण दलका सम्पर्क अधिकृत तोकिए । उनीसहितका कर्मचारीलाई स्पष्टीकरण पनि सोधियो । तर, चार लाख नगद बुझिछाडे ! प्रमका प्रिय पात्र यिनलाई कारबाहीका लागि कसैले छुनसम्म सकेनन् । यस्तै कर्मचारी समायोजनका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सातांै तहको अधिकृतको रूपमा उपाध्यक्ष भोला पोखरेललाई खटाइयो । तर, उनी सेटिङ मिलाएर संघमै फर्किए । उनी पनि नक्कली सम्पर्क अधिकृत तोकिएका थिए । तर, मन्त्रीनिकट हुनुका कारण उनलाई स्पष्टीकरणसम्म सोधिएन । 

पूर्व एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा सिन्धुपाल्चोकमा समायोजन भएका थिए । उनी कडा रोग लागेको कागज बनाएर संघमा बस्न सफल छन् । भदौ ४ को मन्त्रिपरिषद् बैठकले ७६ वरिष्ठ सहसचिवलाई सचिव बनाएर तल खटाउने निर्णय ग¥र्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको तीन दिनभित्र सम्बन्धित निकायमा हाजिर हुन निर्देशन दिए पनि केही डन सहसचिवहरू केन्द्र छाड्न अटेर गरिरहेका छन् । 

७६ सहसचिवहरूको सरुवा हुँदा विभागको महानिर्देशकहरूसमेत तल खटाइए । जसमध्ये कृषि सेवा समूहका ७, इन्जिनियरिङ सेवाबाट ९, वनसेवाका १० र प्रशासन सेवा समूहका ५० गरी ७६ जना सहसचिवहरूको एकै पटक सरुवा भयो । 

यसरी सरुवा हुनेमा केही महानिर्देशकसमेत परेका छन् । जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भन्सार विभाग हाँक्दै गरेका रामेश्वर दंगाल प्रदेश ४ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइए । यस्तै उद्योग विभाग विवादास्पद महानिर्देशक विनोदप्रकाश सिंह प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगे ।

यस्तै वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राई, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीलगायत महानिर्देशकहरू प्रदेशतिर खटिनेमा परे । भन्सार विभागको महानिर्देशक भएका रामेश्वर दंगाल गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह यस्तै वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राई प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालिरहेका छन् । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा खटाइएको भए पनि उनी केन्द्र छाड्न अटेर गरिरहेका छन् । उनी  केन्द्रमै ढलिमलि गरिरहेका छन् ।

यस्तै लोकसेवा आयोगबाट प्रदेश नम्बर २ मा खटाएका किशोरजंग कार्की पनि संघ नछाड्नका लागि आधिकारिक टे«ड युनियनका नेतादेखि शक्तिकेन्द्र धाइरहेका छन् । आरजु देउवाका प्रिय पात्र मानिने  गोपाल सिग्देल, मौसम पूर्वानुमान महाशाखाका सर्जु वैद्यहरू बुटवलमा सरुवा गराइएको भए पनि रातारात नाम कटाउन सफल रहेको चर्चा कर्मचारी वृत्तमा सुन्न पाइन्छ । यसैबीच, कासमु नपुगेर सचिव बढुवा हुनबाट रोकिएका ऋृषिराम शर्मालाई आइतबारको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको छ ।

टिप्पणीहरू