हार्ने दिन त आयो बरिलै…

पार्टी र पद्धति गोलमा गए पनि आफू वा आफ्नो मानिसले जित्नै पर्ने नेताका घाती कार्यशैलीका कारण नेकपाले हार व्यहोर्ने र विपक्षी पार्टीले विजय प्राप्त गर्ने क्रम बढेको छ । 

हालै सम्पन्न दुई व्यावसायिक संगठनका निर्वाचनमा सत्तारुढ पार्टीका उम्मेदवारले व्यहोरेका पराजयका कारण अरू नभएर सत्ताधारी नेतापिच्छेका उम्मेदवार र गुटबन्दी प्रमुख कारणका रूपमा पाइए । दमक उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा दुई तिहाइ जनमतमा सरकारमा रहेको पार्टीले शर्मनाक हार व्यहोरेको छ । ती दुवै संगठनमा कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता एकजुट भएर लागेका भए दुवैतिर दुई तिहाइ मतका साथ विजयी हुने प्रशस्त सम्भावनालाई लात्ती हानेर प्रधानमन्त्रीका समर्थकदेखि अर्को गुटका मालिकहरू कार्यकर्तालाई विभाजित बनाएर आफैं नेता बनिरहन लागेका पाइयो । दमक उद्योग वाणिज्य संघको विवाद गत निर्वाचनदेखिकै हो ।

संघको गत निर्वाचनमा एमालेको दमक नगर पार्टी कमिटीले ठेकेदार गणेश बस्नेतलाई उम्मेदवार घोषित ग¥यो । ठेकेदार बस्नेतविरुद्ध पार्टीकै तर व्यवसायीबीच लोकप्रिय राजेन्द्र ढकाल विद्रोही अध्यक्षको उम्मेदवार बने र चुनाव जिते । यसपटक पनि राजेन्द्रलाई नै अध्यक्षको उम्मेदवार बनाएको भए उनी विजयी हुन सक्थे । तर, उनले पनि रुचि देखाएनन् । सायद कम्युनिष्टतर्फका आधिकारिक उम्मेदवारलाई हराउन गत निर्वाचनमा कांग्रेस समर्थकले सहयोग गरेको गुन तिर्न पनि राजेन्द्र यसपटक उम्मेदवार बनेनन् र उतैकालाई सघाए । 

परिणामस्वरूप सत्ताधारी कम्युनिष्ट पार्टीकै कार्यकर्ता राजेन्द्र ढकालले यसपटक पनि पार्टीका तर्फबाट तोकिएका अध्यक्षका उम्मेदवार विमल खतिवडालाई सहयोग गरेनन् । हिजो विद्रोह गर्दासमेत विजयी हुने पार्टीका सदस्यहरू नै यसपटक विपक्षी पार्टीका उम्मेदवारलाई सघाउन लागेपछि ५ सयजति मतान्तरमा आफ्नै पार्टीका अध्यक्षले हार व्यहोरे । राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रो प्रभाव रहेको प्रधानमन्त्रीको चुनावी क्षेत्र दमकमा कांग्रेस, राप्रपालगायतले संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका थिए । वाणिज्य संघमा कम्युनिष्ट समर्थक मात्र मिलेका भए संयुक्त गठबन्धन पाखा लाग्ने पक्का थियो । तर, विमलले ९ सय १६ र लोकतान्त्रिक गठबन्धनका नेकानिकट गोकुल श्रेष्ठले १४ सय ११ मत प्राप्त गरे । 

दमक नगरपालिकामा प्रधानमन्त्रीनिकट रोमनाथ ओली मेयर छन् । दमकको मेयरको निर्वाचनमा उनले ३ हजार मतको अन्तरमा राप्रपाका उम्मेदवारलाई हराएर विजय प्राप्त गरेका हुन् । त्यहाँ नेकाको स्थान तेस्रो छ । झापाको ५ नम्बर क्षेत्र राप्रपाको निकै राम्रो पकड भएको स्थान हो । यसैकारण गत आम निर्वाचनमा कम्युनिष्टले झापाको ३ मा राप्रापाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने र ५ मा ओलीको समर्थनमा राप्रपाले उम्मेदवारी नदिने सहमति भएको थियो । यसकै कारण राप्रपाका अध्यक्ष कमल थापाले चुनाव हार्दा पनि राप्रपाका एक मात्र उम्मेदवार राजेन्द्र विजयी भए । विजोक कस्तो भने विर्तामोड, कन्काई नगरका उद्योग वाणिज्य संघमा कहिल्यै कम्युनिष्टले विजय प्राप्त गर्न सकेका छैनन् ।

त्यहाँका व्यवसायी अधिकांश कम्युनिष्टविरोधी छन् । दमक एक ठाउँमा कम्युनिष्टहरूको बहुमत छ तर गुटबन्दीका कारण त्यो पनि गुमेको छ । 
यता, ट्रेकिङ एण्ड ट्राभल एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) को चुनावमा नेकपाका उम्मेदवार हराउन पूर्वएमालेको एउटा गुट जोडसँग लाग्यो । फलस्वरूप, टानबाट नेकपाको एउटा बीउ पनि सुरक्षित हुन सकेन । त्यहाँ नेकपा पक्षधर अञ्जनकुमार थापाको प्यानललाई फेक रेस्क्युवाला कांग्रेससम्बद्ध खुमराज सुवेदीको प्यानलले हराइदिएको छ । जबकि टानका कुल मतदातामध्ये नेकपा पक्षधरको संख्या दुई तिहाइ थियो । सूर्यबहादुर थापाले नेकपाको कार्यविभाजनमा पर्यटन विभाग नपाएबापत मदन आचार्य, सिएन पाण्डे, चन्द्र रिजाल, मुक्ति पाण्डे, पूर्ण कुँवरहरू हात धोएर पार्टीका उम्मेदवार हराउन सक्रिय भएको उजुरी पार्टीका विभिन्न निकायमा पुगिसकेको छ । पूर्वएमालेको त्यही गुटसँग लोली मिलाउँदै पूर्वमाओवादी केन्द्रका सुदर्शन न्यौपानेहरू पनि नेकपा सिध्याउन सक्रिय भए । सुदर्शन पर्वतारोहण संघका कोषाध्यक्ष पनि हुन् ।

उनीहरूले कांग्रेसलाई भोट माग्नेदेखि फेक रेस्क्युवालाले बाँडेको पैसा आफू पक्षधर मतदाताकहाँ पु¥याउनेसम्मको काम गरेको भनी पार्टीमा उजुरी परेको छ । मैदानमा भगीरथ सापकोटा, नवराज लम्साल, राजेन्द्र सापकोटाहरू आफ्ना उम्मेदवारका पक्षमा लागिरहने तर सूर्यका सेनाहरू तिनलाई हराउनका गोप्य ठाउँ बनाउँदै सल्लाहमा जुटिरहने काम हुन्थ्यो । यसरी पार्टी सिध्याउने पृष्ठभूमि सूर्य पर्यटनको इञ्चार्ज हुँदैदेखि बनेको हो । उनको हठका कारण संगठन विभाजित भयो । पार्टी एकतापछि पनि विभाजनको रेखा मेटिएन । बरु, उनीहरूले भनेको उम्मेदवारलाई टिकट नदिइँदा पार्टी नै सिध्याउने काम भएको छ । यसरी अनेकन परिपञ्च रचेर पार्टी सिध्याइयो, अनि दोषचाहिँ केही साताअघि पर्यटन मन्त्रालय सम्हालेका योगेश भट्टराईलाई दिइँदै छ ।

जबकि टानको चुनावमा आधिकारिक पार्टी संगठनका कार्यक्रममा उपस्थित हुनेबाहेक योगेशको कुनै भूमिका थिएन । अघिल्लो पटक ८३ मतले पार्टीनिकट उम्मेदवारले विजय प्राप्त गरेकामा यसपालि ८३ मतले पराजय व्यहोर्नुपरेको छ । पूर्व एमालेहरू र माओवादी व्यवसायीसमेत मिलेर गएको भए त्यहाँ पनि दुई तिहाइ मतले कम्युनिष्टहरू विजयी हुने प्रशस्त आधार थिए । तर, कार्यकर्तालाई विभाजित गरी पार्टीलाई नै कमजोर बनाएर नेता बनिरहनुपर्ने पार्टी नेताका शैलीका कारण यहाँ पनि सत्ताधारीहरूले नै अरूलाई जिताएका छन् । यस्ता प्रवृत्तिलाई समयमै निराकरण नगर्ने हो भने स्थानीय निकाय र अन्य संगठन तथा कमिटीमा पनि यसको संक्रमण नहोला भन्न सकिन्न । यी दुई दृष्टान्तले व्यावसायिक संगठनहरू पार्टी कमाण्ड र अनुशासनमा नरहेको प्रमाण दिन्छन् । 

टिप्पणीहरू