​बाधा फुकाउन ढोकैमा ड्याङड्याङ

परिभाषित जिम्मेवारीसहित विभिन्न सरकारी अड्डा त छन्, तर तिनले गर्नुपर्ने काममा भन्दा अन्यत्रै बढी ध्यान दिएर सर्वसाधारणदेखि विदेशीसम्म हैरान हुन थालेपछि सरकार आफँै तात्तिएर कतिपय काम द्रूतताका साथ अगाडि बढाउनुपर्ने भएको छ । र, यसको थालनी सुरक्षाफौजकै मूलढोका र पर्खाल भत्काएर गरिँदैछ । 

छिमेकीले अनुदान सहयोगअन्तर्गत दुई वर्षमा बनाइसक्नुपर्ने कोटेश्वर–कलंकी सडक विस्तारको काम त हाम्रो तर्फबाट पर्याप्त  र समयमै सहयोग नहुँदा चार वर्ष लाग्यो । अहिले चक्रपथ विस्तारकै दोस्रो खण्डअन्तर्गत कलंकी–चाबहिल (गोपिकृष्ण हल) को काम थाल्नुअघि चिनियाँ कम्पनीले नेपाल सरकारले गर्नुपर्ने काम नसिध्याएसम्म हात नहाल्ने भनेको छ । उसले साइट क्लियर भएको एक महिनापछि काम गर्ने बताइसकेको छ । र, चिनियाँ राष्ट्रपतिको आगमनको पूर्वसन्ध्यामा सिंहदरबार नै तात्तिएर अहिले कामलाई अगाडि बढाइँदैछ । ११ दशमलव ६ किलोमिटरको यो काम आज असोज १ गतेबाट अगाडि बढ्नुपर्ने हो । तर, ढिलाई हुने पक्का छ । यो सडक विस्तारका लागि हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयको मूलप्रवेशद्वार नै भत्काउनुपर्ने भएको छ ।

त्यस्तै, सीतापाइला चोकअगाडि, स्वयम्भू र कलंकीबीच रहेको नेपाली सेनाको युद्धकवच गण, अर्थात् बाहिटी व्यारेकको पर्खालमा समेत डोजर लगाइँदै छ । सरकारी जमिनमै हात हालेपछि अन्यत्र डोजर लगाउन सजिलो हुने भयो । अर्को महिनादेखि काम शुरु हुने गरी सडक छेउका २१ सयवटा रुख काट्न टेण्डर निस्किएको छ । ऐन र कार्यविधिअनुसार ठाडो रुख काट्न वन मन्त्रालय हुँदै विभागको स्वीकृति लिनुपर्छ । तर, रिङरोडको दोस्रो खण्ड विस्तार बाधा अड्काउ फुकाएर शुरु भएको हो । त्यहाँ रहेका बिजुलीका पोल हटाउन विद्युत प्राधिकरणले १० करोड लगी हालसम्म साढे दुई सय पोल हटाइसक्यो ।  ६६ केभीका ९ वटा टावर त्यस खण्डमा पर्छन् । तिनलाई समेत हटाउनुपर्ने छ । चक्रपथ विस्तार गर्न अलिक बढी समस्या महाराजगञ्जस्थित नारायणगोपाल चोकमा देखिएको छ ।

त्यहाँ व्यक्तिका जमिन र घर पर्ने भएका छन् । नारायणगोपाल चोकको मूलसडकमा दायाँबायाँ १५–१५ मिटरका दरले मात्र छोडिएको छ । अन्यत्र दायाँबायाँ ३१–३१ मिटरको मापदण्ड तोकिएको छ । तीन सय मिटर फराकिलो पार्न ६५ वटा घर बाधक बनेका छन् । सबैघर भत्काउने, अर्को डिजाइन गर्ने कि मुआब्जा दिने भन्ने टुंगो छैन । 

सडक विस्तारका लागि गोंगबु बसपार्कको आकाशे पुल र स्वयम्भूको चैत्यले पनि अवरोध पु¥याएको छ । आकाशे पुल त जतिबेला भन्यो, भत्काए हुन्छ । तर, धार्मिक संवेदनशीलतासँग जोडिने चैत्यलाई के गर्ने ? दूरसञ्चारका पोल र खानेपानीका पाइपहरु मिलाउनै बाँकी छ । सबै तारतम्य मिलाउँदा यो सडक विस्तारमा सन् २०२० लाग्ला जस्तो बुझिन्छ ।

यसबीच सुन्धारास्थित गोश्वारा हुलाक सेवाको भवनले पुनःनिर्माणाधीन धरहराको सौन्दर्यलाई छेक्यो भनेर त्यसलाई डिल्लीबजार, चारखालसँगै सारिएको छ । सुन्धारामै रहेको राणाकालीन टक्सार विभागलाई पनि सारेर बबरमहलस्थित पुरानो शाही औषधी लिमिटेड र अहिले जिल्ला सरकारी वकिलको कार्यालय भएको ठाउँ पछाडि लगिएको छ । यसरी देश बनाउने हो भने कतिपय बाधक कानुन फाष्टट्य्राकबाट फेरेर र जब्बर सरकारी निकायहरुका संरचना तलमाथि गरेर भए पनि रिस्क नमोली भएकै छैन । 

टिप्पणीहरू