जसलाई त्यो सन्धिले जान्दै जान्दैन

जनसरोकार जोडिएका ठूला परियोजनामा प्रधानमन्त्रीले चासो बढाउँदै छलफल, तयारीमा पनि आफैँ जुट्न थाल्नुभएको छ । 

वर्षौंदेखि भारतले बनाउने भनी अहिलेसम्म त्यसै थन्किएको परियोजना हो, पञ्चेश्वर बाँध । यही विषयमा प्रधानमन्त्री ओलीले झलनाथ खनाल र प्रचण्डसहितका दुई पूर्वप्रमलाई साथै राखेर कर्मचारी र विशेषज्ञसँग ब्रिफिङ लिनुभएको छ । ०६६ मंसिर ९ मा दुबै देशका जलस्रोत सचिवको बैठक राखेर पञ्चेश्वर विकास प्राधिकरण गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक काम गर्ने सहमति भएको थियो । जुन अझै कार्यान्वयनमा आएको छैन । त्यसबेला माधव नेपाल र त्यसपछि झलनाथ प्रधानमन्त्री हुनुहुन्थ्यो । पञ्चेश्वरबारे अहिले भारतसँग कसरी वार्ता भइरहेको छ ? त्यसमा केही समस्या अझै जीवित छन् कि ? भारतको रणनीति र हाम्रो रणनीति के छ ? जस्ता प्रश्न गर्दै प्रधानमन्त्रीले सोमबार ब्रिफिङ लिनुभएको हो । उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणकार्य अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्नुभयो ।

नेपालले आफ्नो क्षमता बढाउनुपर्छ, राष्ट्रिय हितका कुरालाई सर्वोपरी बनाउनुपर्छ भन्दै कर्मचारीलाई त्यहीअनुसार परिचालित हुन पनि भन्नुभयो । एकातिर आफ्नो पक्षका कुरामा दृढताका साथ प्रस्तुत हुने र अर्कातिर लचिलो पनि हुने तरिका अपनाउँदै समस्या समाधान गर्ने र कार्यान्वयनको तहमा पु¥याउनुपर्ने धारणा त्यस अवसरमा राखिएको थियो । यसबारे प्रधानमन्त्रीले भारतीय प्रम मोदीसँगको भेटमा पनि कुरा गर्नुभएको रहेछ । तर, भारतीय पक्षबाट भने पानीको उपभोग्य अधिकारको कुरालाई लिएर तल्लो शारदा बाँधमा किचलो रहेको छ । जुन कुरालाई महाकाली सन्धिले चिन्दैन । पहिला टनकपुर सम्झौता गर्दा नेपालले पाउनुपर्ने पानीबापतको सुविधा भारतले दिएको छैन । पानीसँगै बिजुली पनि पाइएको छैन । अहिलेसम्म भारतको चासो पानीमा, नेपालको चासो बिजुलीमा रहँदै आएको छ ।

स्मरणीय छ, सन् १९५६ मै भारतीय पक्षले पहिचान गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल सन् १९७१ को आयोजना प्रतिवेदनमा हजार मेगावाट क्षमताको देखिएको थियो । तर, १९९१ मा पञ्चेश्वर बाँध ३ सय १५ मिटरको बनाइँदा कूल उत्पादन ६ हजार ४ सय ८० मेगावाट हुने देखियो । १९९५ मा यसको नेपालतर्फबाट विस्तृत डिपिआर बनेको हो । सीमा नदी भएका कारण आयोजना सम्पन्न गर्न द्विपक्षीय सहमति आवश्यक पर्छ । नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजनाबारे ०५२ माघ २९ गते सन्धि भएको थियो । पछि यो आयोजना द्विराष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको हो । 

टिप्पणीहरू