​सेनाले पठाए पनि जुटेन सहमति

एक–दुई जनाको झेली शैक्षिक प्रमाणपत्रको झमेलाका कारण सेनामा अरुको सरुवा प्रभावित भएको छ । 

शैक्षिक प्रमाणपत्रको छानवीन नटुंगिँदै अशोक सिग्देलहरुको बढुवा प्रस्ताव रक्षा मन्त्रालय पठाइएपछि विभिन्न पृतनामा काज खटिएका अरु जर्नेलहरुको दरबन्दी मिलानसमेत रोकिएर बसेको हो । पूर्वी पृतनापति अनन्त कार्कीसहित पश्चिम पठाइएका सरोजप्रताप राणा र सुवर्ण शाहहरुको दरबन्दी र विदेशमा तैनाथ कर्णेलहरुको बढुवा यसैको शिकार बनेको छ । प्रधानमन्त्रीको सिंगापुर बसाईका कारण जंगी अड्डाको सिफारिश पेण्डिङमा परेको भनिए तापनि रक्षा मन्त्रालय नक्कली शैक्षिक प्रमाणपत्रबारे कन्भिन्स नहुनसक्दा प्रस्ताव अघि बढ्न नसकेको स्रोतको दाबी छ । 

त्यस्तै, भिजिट नेपाल– २०२० का लागि सेना तात्तिएको छ । त्यसअन्तर्गत उसले विभिन्न आठ वटा इभेन्ट सञ्चालन गर्ने तयारी थालिसकेको बताइन्छ । त्यसअन्तर्गत विदेशी सैनिकसहित आउँदो फेब्रुअरी महिनामा सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने छ । सेनाले वर्षैपिच्छे छिमेकका सेनालाई बोलाएर जोमसोममा माउण्टेन वारफेयर तालिम दिने गरेको छ । अहिलेसम्म विभिन्न २४ देशका शिक्षार्थीले त्यस्तो तालिम लिइसकेका छन् । अहिले तिनै देशका सैनिकसहित सर्वोच्च शिखर आरोहण गर्न लागिएको हो ।

यसबाहेक साइक्लिङ, बोटिङ, वाटर क्यानोइङ, माउण्ट रिपेलिङ, जंगलभित्र क्याम्प र क्याम्पिङसहितका गतिविधि सञ्चालन गरिने भएको छ । र, भ्रमण वर्षकै क्रममा नेपाल म्याराथुन– २०२० पनि  आयोजना गरिने छ । जंगल क्याम्प सञ्चालनका लागि जंगी अड्डाले सबैजसो निकुञ्जमा तैनाथ युनिटलाई सर्कुलर गरिसकेको छ । विशेषतः बर्दिया, रारा, खप्तडजस्ता ठूला राष्ट्रिय निकुञ्जलाई लक्ष्यित गरी त्यस्ता कार्यक्रम चलाइने भएको हो ।

टिप्पणीहरू