डक्टर बन्न अनेक दाउ

नेपालकै सबभन्दा राम्रो भनी ख्याति कमाएको काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधिप्राप्त विद्यार्थीको थेसिसमै कैफियत भेटिएपछि ‘मन परेको केटो जेठाजु परेछ’ भनेजस्तै भएको छ । डाक्टरको उपाधि लिन दुई विषयमा स्नातकोत्तर वा एमफिल गरेको हुनपर्ने प्रावधान छ । सोहीबमोजिम विशालकुमार भण्डारीले पनि भर्नाअघि दुईवटा स्नातकोत्तर र दुईवटै थेसिस सकेको विवरण पेश गरे । विद्यावारिधि प्राप्त गर्ने अन्तिम चरणमा पुग्दा पो उनले झुक्याएर पूर्वाञ्चल र त्रिभुवन विश्वविद्यालयमा एउटै थेसिस बुझाएको पाइयो ।

पियुअन्तर्गतको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन्स र त्रिविमातहत रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातकोत्तर गर्ने क्रममा विशालले एउटै थेसिस बुझाएका हुन् । उनले आरआरबाट समाजशास्त्रमा पहिलो स्नातकोत्तर गर्दा ‘कभरेज अफ डेभलपमेण्ट इस्युज इन नेप्लिज मिडिया’ शीर्षकमा थेसिस बुझाएका थिए । दोस्रो थेसिसका रूपमा पियुबाट सम्बन्धन पाएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन्सलाई हुबहु त्यही शीर्षकमा उक्त थेसिस लेखेको मञ्जु मिश्रको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको वेबसाइटबाट पुष्टि भएको छ । थेसिसबारे डब्लुडब्लुडब्लु सीजेएमसीडटइडियुडटएनपीको थेसिस बटनमा हेर्न सकिन्छ ।

विशालले विद्वताको नाममा कैफियत गरेको उजुरी केयु, पियु र विश्वविद्यालय अनुदान आयोगमा समेत परेपछि यी दुईले उनलाई बोलाई बयान पनि लिएको र केयुले दिन लागेको विद्यावारिधिको उपाधि निलम्बन भएको छ । कैफियत खुल्ने आशंकामा दुवै कलेजबाट सफ्ट प्रति र पुस्तकका रूपमा प्रकाशित थेसिस नै बेपत्ता बनाएको पाइएको छ । पियुले त शारदा भुसालको पत्रको जवाफ दिँदै थेसिस नै धुलाइसकेकाले उपलब्ध नभएको लिखित जवाफ दिएको छ । यता प्रायः काठमाडौंमै बस्ने विशालले भूकम्पमा दोलखाको घर भत्किएकाले विद्यावारिधिको सफ्ट र हार्ड दुवै प्रति त्यहीं परेको र नामोनिसान केही बाँकी नभएको जवाफ दिएका छन् । 

नेपालमा अहिले जसरी पनि नामका अगाडि डाक्टर लेख्ने र विषयवस्तुको विज्ञता र ज्ञान नभए पनि पहुँचका आधारमा ठूला सरकारी नियुक्ति लिने प्रवृत्ति बढेको छ । विशाल पनि डाक्टरको उपाधि लिई यसैपटकको दीक्षान्त समारोहमा राष्ट्रपतिबाट उपाधि पहिरिएर राज्यको नीति निर्धारण गर्ने एउटा ठूलो संस्थाको प्रमुख बन्ने अन्तिम चरणमा थिए ।

टिप्पणीहरू