चीन, चेली र यौनधन्दाको चक्कर
एकातिर काठमाडौंमा चिनियाँ यौनकर्मी महिलाको बढोत्तरी, अर्कातिर नेपाली युवतीलाई विवाह गरेर लैजानेहरूको बाक्लो हिँड्डुल ! यसक्रममा तीन साताअघि नेपाली युवतीलाई चीन पठाउने गिरोह त प्रहरी नियन्त्रणमा आयो । तर, चिनियाँ युवतीलाई काठमाडौं ल्याएर यौन व्यवसायमा संलग्न गराउने गिरोह भने अहिलेसम्म पहुँचबाहिर छ ।
बरु, नेपाली चेली चीन पठाइने धन्दाको भित्री पाटोको खुलासा हुन थालेको छ । चिनियाँ पतिको निधनपछि सिन्धुपाल्चोक, थानपालकी रिना तामाङ (बिबिरानी) का लागि ग्वाङझाओ–काठमाडौं यात्रा पानी पधेरोझैँ हुन थाल्यो । उनको काम नै हो, नेपाली युवती चाहने चिनियाँ पुरुषको खोजी, काठमाडौं हुँदा चीन पठाइने युवतीको व्यवस्थापन । एउटा ब्वाइफ्रेण्ड बनाइन्, नुवाकोट, ककनीका रोज तामाङलाई । पत्नी जापानमा छिन् । यता, हेर्दा ठ्याक्कै चिनियाँझैँ देखिने बिबिरानीसँग उनको पत्नीवत् सम्बन्धमात्रै कायम भएन ।
बिबिरानीले चाहिएको बेला पैसा पनि दिन्थिन् । अनि, काम लगाउँथिन्, केही कानुनी कागजात बनाउने । ल क्याम्पसको पूर्वस्ववियु सभापतिसमेत रहेका अधिवक्ता बसन्त बस्नेतले हुने÷मिल्नेसम्मका कानुनी कागजात तयार पारिदिन्थे । यसबापत बसन्तले आफ्नो शुल्क लिन्थे, रोजले चाहिँ बिबिरानीबाट आर्थिक र शारीरिक दुवै सुविधा लिन्थे । तर, यसो गर्दागर्दै भदौ ११ गते रोज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिए । र, बल्ल थाहा पाए, यो त गर्न नहुने काम रहेछ । उनले बिबिरानीमात्र चिनेका थिए । तर, त्यहाँ त चीन पठाउन भनी राखिएका युवतीलाई सेल्टर दिने पार्वती गुरुङ, गाउँ–गाउँ गएर युवती खोज्ने अमृता गुरुङ र भरत तामाङ, युवतीहरूलाई चिनियाँ नागरिकसँग भेट गराइदिने उषाकुमारी घिमिरे पनि साथै थिए । अर्थात्, एउटालाई अर्कोसँग सम्पर्कमा नराखी काम फत्ते गराउने गिरोह थियो, त्यो । र, त्यसको मुख्य सञ्चालक पनि चिनियाँहरू नै ।
प्रहरीले चार चिनियाँलाई पक्राउ परेको छ । त्यसमध्ये क्वान झाङपिङले त्यसै दिन नेपाली युवतीसँग विवाह गरेका थिए र जिङ क्युरुईले चाहिँ भोलिपल्ट बिहे गर्ने तय भएको थियो । त्यसदिन कविता र ललिता नाम गरेका दुई युवतीलाई एयरपोर्ट पु¥याउन बिबिरानीहरू गएका थिए ।
यसअघि साउन २१ गते दोर्दी, लमजुङकी सविना गुरुङ (नाम परिवर्तन) भिजिट भिसामा उड्न लागेकी थिइन् । तर, उनलाई आवश्यक कागजात नपुगेको भन्दै अध्यागमनले स्टेरलाइज एरियाबाट फिर्ता पठायो । त्यसदिन अपुग कागजात तयार पारेपछि भदौ ७ गते एयरपोर्ट पुगिन् । तर, उनले चाइना जाने उद्देश्यबारे बताएको कुरामा शंका लागेपछि अध्यागमनले फेरि फर्काइदियो । त्यसअघि यही गिरोह असार अन्तिम साता युवतीहरूको एउटा समूहलाई चीन पठाउन सफल भएको थियो । सविनाको घटनापछि अध्यागमन झस्कियो र यसपछि मात्रै शुरु भयो, चीन जाने युवतीबारेको अनुसन्धान । जाने र लैजाने, दुबैतिरको कारण रहेछ, गरिवी । चीनमा निम्न आयस्तरका युवकले पत्नी पाउँदैनन् ।
त्यसमाथि पुरुषको जनसंख्या बढी, महिला कम । यस्तो भएपछि उनीहरू विवाह र घरेलु सहयोगी दुबैका लागि उपयोगी हुने कारण युवती खोज्न नेपाल आउने क्रम चलेको रहेछ । यसअघि निम्न आयस्तरका चिनियाँहरू पाकिस्तान, म्यानमार, फिलिपिन्समा युवती खोज्न जान्थे । त्यही क्रम अहिले नेपालतिर चलेको छ ।
अधिवक्ता बसन्त बस्नेतको तर्क फरक छ । विदेशीसँग नेपाली युवतीले वैधानिक विवाह गरेका छन् र पतिसँगै उनको देश जान चाहेका छन् भने त्यसलाई बेचबिखनसँग जोडेर हेर्ने प्रबृत्ति नै गलत हो । त्यसरी नै विवाह गरेर दिनैपिच्छे भारत जाने वा भारतबाट नेपाल आउने चेलीमाथि कुनै रोकतोक नहुनु, चीन जानेलाई मात्र नियन्त्रणमा लिनु मनासिव नभएको उनको दाबी छ ।
टिप्पणीहरू