सट्याकसट्याक नयाँ सोच
राज्यका प्रत्येक संयन्त्रको परिचालनपूर्व वा नीतिहरू अबलम्बन गर्नुअघि कुनै न कुनै तहमा त्यसको रणनीति, परिणाम र त्यसपछिका भूमिकाबारे अध्ययन, विश्लेषण गरिएको हुन्छ । भारतले काश्मिरमा धारा ३७० खारेज गरी केन्द्रको शासन लगाउनुअघि लखनउमा स्थल सेनाको पहलसहित एउटा कार्यक्रम भएको थियो । त्यसको अध्ययन, विश्लेषणपछि दिइएको सुझावअनुसार केन्द्र सरकारले आफ्नो काम अघि बढायो ।
सीमा सुरक्षाको नाममा काश्मिरमाथि केन्द्रले हात हालेकै हो । यस्तै, नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) ले पनि सीमा सुरक्षा र त्यसको संवेदनशीलताको अध्ययन, विश्लेषण गरेको थियो । त्यसआधारमा उसले बुझाएको रिपोर्टमा पनि दीर्घकालीन सीमा नीति बनाउनुपर्ने सुझाव छ । आर्थिक, सामाजिक अर्थात् रोटीबेटीको सम्बन्धमा मात्र आधारित नरही अब सुरक्षालाई नै ध्यानमा राखेर अघि बढ्नुपर्ने सोचअनुसार भारतमा व्यापक गृहकार्य भइरहेको छ । त्यो रिपोर्ट नेपाल सरकारले छिट्टै प्राप्त गर्ने छ । त्यसरी अध्ययन गरिएको नीतिमा केही क्षेत्रमा काँडेतार लगाएर भए पनि सीमा व्यवस्थापन गर्ने कुरा छ । कतिपय खोला, खोंच भएका स्थानबाट सजिलै सीमापार हुने कारण अपराध हुने र अपराधी उम्किने स्थिति छ । त्यसमाथि राजश्व छल्ने विभिन्न समूह यस्तो अवस्थाबाट लाभान्वित भइरहेका छन् ।
यसबीच मधेसका दुई ठूला दलबीचको एकता प्रक्रिया अड्किने गरी झगडा चर्किंदै जाँदा ‘अनुहार फोहोरै राखेर ऐना सफा गर्दैमा के हुन्छ ?’ भन्नेसम्मको भनाभनमा पुगेका छन् । यसो भनेर चर्काचर्की गर्ने दुई नेतामध्ये एकजना अमेरिकाबाट फर्किएलगत्तै अर्का उतैतिर लागेका छन् । दुई पार्टीबीच असोज ३ गते मनाइएको संविधान दिवसबारे पनि विवाद चर्किएको सतहमै आएको छ । राजपा र संघीय समाजवादी फोरमबीच एकताको प्रसंग हो यो ।
उपेन्द्र यादवले संविधान दिवसको न विरोध, न समर्थन गरौँ भनेर २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउत गद्दीमार्फत राजपालाई खबर पठाए । उनले संविधान दिवसबारे बीचमा बसेर संशोधनको कुरा त्यसपछि उठाऔँ भन्ने सन्देश पठाएका थिए । तर, राजपा नेतृत्वबाट त्यो कुरा स्वीकार भएन । उनीहरुबाट आफ्ना सबैजसो प्रभावक्षेत्रमा विरोध जनाउने भयो । सरकारमा रहने, कालो झण्डा पनि देखाउने काम गरियो । तर, आफ्ना मान्छे त्यता नजाउन् भनेर उपेन्द्र भने सतर्क थिए । संविधान दिवसमा कालो सभा मनाउने कामचाहिँ २ नं. प्रदेशमा बढी भयो । त्यसमध्ये बारा र सप्तरीको विरोध छिटपुट थियो । सबभन्दा बढी विरोध थियो, प्रदेशको अस्थायी राजधानी जनकपुरमा । त्यहाँका मेयर राजपाकै भएकाले उनीसहित भौतिक योजना मन्त्री जितेन्द्र सोनल र महन्थ ठाकुरहरु कालोपट्टी बेरेर विरोध जुलुसमा गए । उपेन्द्रचाहिँ संविधान दिवसअघि नै अमेरिकातिर लागे ।
टिप्पणीहरू