​कताबाट, कसले चलायो करौंती ?

राज्य सञ्चालनका हरेक कुरामा विधि, प्रक्रिया र परम्परा हुन्छन् । तर, हामीकहाँ ‘ब्याक डोर’ ले अन्तिममा कतिसम्म करामत देखाउँछ भन्ने कुरा यसचोटि संविधान दिवसका अवसरमा घोषित पदक र विभूषणहरुमा पाइन्छ ।

जो व्यक्ति जुन पेशा, व्यवसाय वा क्षेत्रसँग सम्बन्धित छ, ती क्षेत्रका लागि तोकिएका निश्चित अड्डाद्वारा अघि बढाइएका सिफारिसको आधारमा विभूषण दिइन्छ । तर, सिफारिस गरिएको मान्छे पर्दैन, छनौट समितिमा बस्नेहरु आफ्नै नाम हाल्छन् अनि मातहतका मान्छेहरु पछाडिको बाटो मिलाएर तक्मा खाइदिन पुग्छन् । यसपालि सुरक्षा निकायदेखि पत्रकारसम्ममा यस्तै भयो । नेपाल प्रहरीले आफ्ना महानिरीक्षकसहित सातजना डिआइजीको नाम पठाउँदा मापदण्ड देखाएर कतिपय काटिए । विप्लव नेकपाको सात जना पोलिट्व्युरो सदस्य समातेका डिआइजी पिताम्बर अधिकारी माथिबाट थपिए । अनि, गृहमन्त्रीले हेडक्वार्टरबाट सिफारिस भएको नाममा टिपेक्स लगाएर अर्का डिआइजीको नाम हालिदिए, कमलबहादुर जिटी । हरिभक्त प्रजापति बढुवा भएको एक वर्ष नपुगेको भनी हटाइए । उनी गत वर्ष असोजमा डिआइजी भएका हुन् । त्यही मापदण्ड लागेर भावी आइजिपीको दौडमा लाग्नुपर्ने शैलेश थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पालको नाम पनि काटियो ।

सशस्त्र प्रहरीका प्रवक्ता (डिआइजी) सुरज श्रेष्ठ पनि बढुवा भएको तीन वर्ष पुगेको छैन भनेर काटिनेमा परे । इन्स्पेक्टर सुवर्ण थापाले उपत्यकामा तीनवटा पेस्तोल समातेका थिए । उनैले हो, आत्मघाती आक्रमण चल्दा नरेफाँटस्थित विप्लवको अखडाबाट सात वटा प्रेसरकुकर बमसहित समातेको । लीलाबहादुर थापाले रौतहटमा बस्दा अत्यधिक राजश्व उठाए । तर, सिफारिसमा परेर पनि तक्मा पाएनन् । बरु, सिफारिसमै नपरेका एसएसपी किशोर प्रधान र बढुवाको मापदण्डविपरीत गणेश ठाडा मगरको नाम थपिएर आयो । यो काममा गृहले बलमिच्याइँ गरेको भन्ने गरिन्छ ।

पत्रकारहरुको हकमा पनि त्यस्तै भयो । सञ्चार मन्त्रालयले सिफारिस गर्नै नभ्याई गोपाल खनाल, गोविन्द चौलागाईं, टंक पन्त, दिनेश पाण्डे, बसन्तप्रताप सिंह, गणेशमान गुरुङहरुको नाम आयो । मन्त्रालयबाट बायोडाटा पठाइएका चिरञ्जीवी मास्के (दोलखा), संगीता खड्का, केशव अधिकारी (धादिङ), रत्नप्रसाद मैनाली (काभ्रे), ठाकुरसिंह थारु (बाँके) विष्णुहरि ढकाल, प्रमोदकुमार सिंह दाहाल (बारा) परेनन् । बरु, मिडिया व्यवसाय पनि गर्ने वैदेशिक रोजगार व्यवसायी महेन्द्र शेरचन ‘पत्रकार’ को रुपमा विभूषित भएका छन् ।
 

टिप्पणीहरू