कम्युनिष्टहरु यसमा कुहिराको काग
सत्तारुढ नेकपाभित्र ध्यान नदिइएको अर्को भद्रगोलको प्रसंग छ ।
नेकपा २००६ सालमा स्थापना भयो, कलकत्तामा । कम्युनिष्ट पार्टीले सत्ता चलाएका मुलुकमा त्यहाँका नेताहरुको पार्थिव शरीर सुरक्षित राखिएका छन् । यसरी चीन, उत्तर कोरिया, भियतनाम, रसियामा माओ, किम इल सुङ, हो चि मिन्ह, लेनिन ‘जीवितै’ छन् । नेपालमा कम्युनिष्टको मूलधार सत्तारुढ छ, सुविधाजनक बहुमतसहित । तर, समाजवादी आन्दोलन सफल भएका विश्वका कैयन मुलुकसँगै स्थापित हाम्रो कम्युनिष्ट पार्टीको इतिहास जनाउने, यसका संस्थापक वा यो आन्दोलनमा लागेर आफूलाई हाँसी–हाँसी बलिबेदीमा चढाएका योद्धाको योगदान झल्काउने कुनै काम भएको छैन । पछिल्लो पुस्तामा कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनप्रति त्यति झुकाव देखिँदैन । चीनमा हेरौँ, त्यहाँको कम्युनिष्ट पार्टीमा हाम्रो जनसंख्याभन्दा तेब्बर, अर्थात् साढे आठ करोड सदस्य छन् । तुलना गर्दा, एक अर्ब चालिस करोड जनसंख्या भएको मुलुकमा पार्टी सदस्य दश करोड पनि नहुनु दंग पर्नुपर्ने स्थिति होइन । त्यसो त चीनमा कम्युनिष्ट पार्टीको सदस्य बन्न गाह्रो पनि छ । नेपालमा जस्तो आज बिहान पार्टी मन प¥यो, दिउँसो सदस्य भयो, बेलुका केन्द्रीय सदस्य, भोलिपल्ट सांसद र पर्सिपल्ट मन्त्री बन्नेजस्तो खेलाँची त्यहाँ हुँदैन । परीक्षाका कठोर चरण पार गर्नुपर्छ । सैन्य भर्तिझैँ उसका वैयक्तिक, चारीत्रिक, शारिरिक र मानसिक परीक्षणसम्म हुन्छ ।
यता, हाम्रोमा लथालिङ्ग छ । न दस्तावेज संग्रहित छन्, न इतिहास नै । यो प्रयोजनका लागि ललितपुरको च्यासलमा स्थापित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टी स्कुल विभाग राखिएको छ । तर, अभिलेखहरु व्यवस्थित छैनन् । कतिसम्म भने, पूर्वएमालेले २०४८ सालदेखि संसदीय चुनावमा भाग लिँदै आयो । त्यहाँदेखि ०७४ सम्मको चुनावमा जनताबीच के–के बाचा–कबोल ग¥यो भन्ने जान्नका लागि चुनावी घोषणापत्र खोज्न जाँदा पाइँदैन । व्यक्तिहरुले घरमा ती सामग्री राखेका हुनसक्छन् । तर, कतिपय धमिराले खाए होलान् ।
बरु, कांग्रेसले आफ्ना संस्थापक नेता वीपीको नाममा सुन्दरीजलमा संग्रहालय बनाई उनको आदेशमा भएको विमान अपहरणको इतिहास झल्काउने नेपाल वायुसेवा निगमको (दुर्घटनापछि थन्किएको) जहाज राखेको छ । उनका कपडा, जुत्तासहित उपलब्ध सामग्री छ । तत्कालिन एमाले महासचिव मदन भण्डारी दिवंगत हुँदा सवार पजेरो मोरङको उर्लाबारी, इटहरास्थित उहाँको पुख्र्यौली घरमा स्थापित संग्रहालयमा राखिएको छ । तर, यो त एउटा निश्चित नेताको कुरा भयो । सिंगो नेकपा के हो ? यसको इतिहास, यसका विचारक, संगठक, संघर्षका इतिहास र राजनीतिक मोडहरु झल्काउने ऐतिहासिक संग्रहालय बन्नु पर्दैन ? पुष्पलालको कीर्तिपुर, चुनदेवी र रामेछापको भंगेरीमा, मदनको उर्लाबारीमा, मनमोहनको मोरङ हात्तीमुढामा, तुल्सीलालको ललितपुर, च्यासलमा, प्रेमसिंह धामीको दार्चुलामा, रवीन्द्र अधिकारीको पोखरामा – जसरी उत्साहपूर्वक ती नेताका नामको प्रतिष्ठानले संग्रहालय वा शालिक बनाएका छन्, त्यही उत्साह र रफ्तारसहित केन्द्रीयस्तरको पार्टी संग्रहालय बनाउने जाँगर कहिले चल्ने होला ? भोलिको पुस्ताले के हेरेर नेपालको इतिहास थाहा पाउने होला ?
– राजकुमार रायबाट
टिप्पणीहरू