सिमानामा बल्ल सुर

नेपाली भूमिलाई आफ्नो साझा व्यापारिक गन्तव्य बनाउन दुई छिमेकीहरूले सम्झौता गर्ने, नेपाल भने बेखबर हुने । नेपाली भूमिमा छिमेकीका फौज बस्ने, हाम्रो फौजको अत्तोपत्तो नहुने । यो स्थितिलाई अन्त्य गर्ने पहल बल्ल शुरु भएको छ ।

सशस्त्र प्रहरीको दार्चुला सदरमुकाममा एउटा गुल्म छ । देशका दक्षिणी खुला नाकामा तैनाथ हाम्रो सीमा सुरक्षा बल (बोर्डर अब्जर्भेशन पोष्ट–बिओपी) सबै उत्तरी नाकातिर भने छैन । लिम्पियाधुरा प्रकरण चर्केपछि अब त्यता पनि क्याम्प खडा गर्ने तयारी शुरु भएको हो । त्यसका लागि कालापानी नजिकैको छाङ्ग्रुलाई रोजिएको छ । भौगोलिक र प्रशासनिक झन्झटका कारण त्यहाँ सर्वसाधारणलाई पुग्न र बस्न समस्या छ । छाङ्ग्रुभन्दा मुन्तिर एउटा सानो चौकी त छ, तर प्रहरीचाहिँ बढीजसो जिल्ला सदरमुकामतिरै बस्छन् । छाङ्ग्रु कालापानीबाट १७ किलोमिटर वर पर्छ । त्यो भारतको नियन्त्रणमा नरहेको नेपालको अन्तिम गाउँ हो । व्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्छ छाङ्ग्रु ।

त्यहाँ पुग्न दार्चुला सदरमुकामबाट भारतीय बाटो हुँदै आधा गाडीमा र आधा पैदल यात्रा गर्नुपर्छ । मज्जाले हिँड्यो भने एक दिन, नत्र दुई दिनमा पुगिन्छ । भारतीय भूमि हुँदै सीतापुल पुगेपछि काठेपुल तरेर छाङ्ग्रु पुग्न सकिन्छ । त्यो लिम्पियाधुराको सिमाना पनि हो । त्यस्तो विकट भूगोलमा सशस्त्रले अहिलेको जाडोमा आफ्नो पोष्ट राख्न सम्भव नहुने कारण फागुनपछि खटाउने गरी ठाउँ खोजिँदै गरेको स्रोतले जनाएको छ । छाङ्ग्रुमै राख्न नसके पनि केही तल भए पनि पोष्ट भने खडा गरिने भएको छ । यससँगै सशस्त्रले १०७ वटा बिओपी मात्रै रहेकोमा दक्षिणी सीमा नाकामा यो वर्ष २० वटा बिओपी बढाउने भएको छ । गत वर्ष २० वटा नयाँ पोष्ट थप भएको थियो । सशस्त्रको एउटा बिओपीमा ३५ देखि ४५ जनासम्मको कमाण्ड फर्मेशन हुनेगर्छ ।

टिप्पणीहरू