कसै कसैको खप्पर कति कडा
पार्टीमा त्याग, निरन्तरता र विषय विज्ञताको आधारमा एउटाले पाउनुपर्ने जिम्मेवारी अचम्मैसँग अर्काको काँधमा ‘देखादेखी’ जानेगरी फेरि ‘कारोवार’ चलेको छ नेकपाको सचिवालय बैठकबाट ।
नेतासँगको निकटता र व्यवसायिक संलग्नताका कारण एउटाको कार्यभार अर्कैले फुत्काइदिएपछि एउटै मान्छेले नेताको नजिक हुँदा लाभको पद कति पाउने र सोझो हुँदाको घाटा अरुले कतिञ्जेल व्यहोर्नुपर्ने भन्ने विवाद चर्किएको हो । प्रसंग, सोमबार पोलिट्व्युरोबाहेक सांगठानिक एकीकरणका बाँकी कामको अन्तिम टुंगो लगाउने बैठक थियो । दोस्रो संविधानसभामा सार्वजनिक लेखा समितिको सभापति हुन् कपिलवस्तुका सोझा, पुराना नेता डोरप्रसाद उपाध्याय । उनले आफू सभापति हुँदा जलस्रोत क्षेत्रका बेरुजुहरु निकालेर सरोकारवालाहरुलाई आच्छु–आच्छु पारेका थिए । पूर्वमाओवादी केन्द्रको केन्द्रीय लेखा आयोगमा पनि थिए । तर, अहिले एकीकृत पार्टीको लेखा आयोग बनाउँदा छुटाइयोमात्रै होइन, उनको सट्टामा देखिने गरी पैसावाललाई भिœयाइयो ।
उनको ठाउँमा हाइड्रो व्यापारी र वाइडबडी काण्डमा मुछिएकालाई जिम्मेवारी दिइयो । चलखेल त जहाँ पनि हुने रहेछ † यसरी लेखा आयोगमा आएका छन्, मोरङका टेकनाथ आचार्य । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अध्यक्ष रहेको उक्त आयोगमा टेकनाथ सचिव भएका छन् । पेशाले चार्टर्ड एकाउण्टेण्ट हुन् । अपर तामाकोशीभन्दा माथिको जलविद्युत् परियोजनामा लगानी गरेका छन् । जनार्दन शर्मा (प्रभाकर) उर्जामन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्य बनाइए ।
अहिले पनि दूरसञ्चार प्राधिकरणको बोर्डमा छन् । यसरी नै नेता रिझाएर नागरिक लगानी कोषमा पनि बसे । नेपाल वायुसेवाले वाइडबडी ल्याउँदा रवीन्द्र अधिकारीलाई मुछ्न खोजिएको थियो, त्यसबेला पनि उनै निगममा बोर्ड सदस्य थिए । यसप्रकार अहिले पूर्वमाओवादीमा घुमिफिरी वर्षमान पुन (अनन्त) का मान्छेले अवसर पाएकाले असन्तुष्टि बढेको छ । यसलाई देखिने गरी आर्थिक कारोबारमा संलग्न व्यक्तिहरुको चिची पनि, पापा पनि वाला पटके उत्थानको नौलो नमुना मानिन्छ ।
टिप्पणीहरू