​आउन त आयो तर पैसा हरायो

‘मैले कुरा बुझि-बुझि भत्ताको विषय उठाइदिएको हो, त्यत्रो उद्योगी रे, हाम्रो हाजिरीको भ्यालु हुन्छ वा हुँदैन भन्छन्’, सिंहदरबारमा पड्कँँदै थिए पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे । छेउबाट रामकुमारी झाँक्रीले झटारो हानिन् ‘तपार्इंहरूले रोजेर ल्याएको सांसद, यस्तै व्यापारी, ठेकेदारको मात्रै सांसद बन्ने योग्यता पुग्दो रहेछ ।’ 

अर्बपत्ति सांसदले भत्तामा लोभ गरेपछि गत साता सिंहदरबारको चिसो मौसम ह्वात्तै तात्यो । 

नागरिक लगानी कोषसम्बन्धी ऐन बारे छलफल गर्न राज्यव्यवस्था समितिले अर्थमन्त्री युवराज खतिवडालाई डाकेको थियो । तर मन्त्रीको प्रतिनिधिका रूपमा उपस्थित थिए भर्खरै राजश्व सचिव नियुक्त भएका शिशिर ढुंगाना । गणपूरक संख्या नपुगेपछि जात्रा मच्चियो । संघीय संसद्का दर्जन समितिमध्ये सबैभन्दा शक्तिशाली समिति हो त्यो । जहाँ किशोरसिंह राठौर, तुल्सी थापा, घनश्याम भुसाल, चूडामणि खड्का, जयकुमार राई, जुलीकुमारी महतो, निरादेवी जैरु, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, मोतीलाल दुगड, रामकुमारी झाँक्री, विष्णु पौडेल, सशांक कोइराला, सत्या पहाडी, सुरेन्द्र पाण्डे, ज्ञानेन्द्र कार्कीसहितका २५ सदस्य छन् ।

बैठकमा सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, प्रमिला राई, जुलीकुमारी महतो (बैठक सकिएपछि आएर हाजिर), तुल्सा थापासहित उनै अर्बपति मोतीलाल दुगड गरी मुस्किलले ९ जना मात्र उपस्थित रहे । बैठक चल्न कोरम (१३ जना ) पुग्नुपर्छ, नपुगेकैले बैठक स्थगन भयो । त्यहीं हो, दुगडले प्रमिला राईसँग खुसुक्क जिज्ञासा राखेको ‘आज हामीले गरेको हाजिरीको भ्यालु हुन्छ वा हुँदैन ?’ प्रमिलाले त्यो कुरा राखिन् । सुरेन्द्र पाण्डेले हँसीमजाकमा जवाफ फर्काए ‘भत्ताको कुरा गर्नुभएको ? त्यो त आउला नि !’ दुगडले जवाफ फर्काए, ‘तपार्इं भत्तै बुझिदिनुस् तर कोरम नपुगी बैठक स्थगन हुँदा हाम्रो हाजिरीको के मतलव हुन्छ ?’

दुगड हरेकजसो बैठकमा उपस्थित हुन्छन् तर धेरै पटक गणपूरक संख्या नपुगेर बैठक स्थगन हुने गरेको प्रति दुखेसो पोख्छन् । उनी आफूलाई बैठकको कति भत्ता आउँछ भन्ने पनि थाहा नभएको सुनाउँछन् । संसद् सचिवालका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सांसदहरूले समितिको बैठकमा भाग लिँदा भत्ता १ हजार र यातायात सुविधा १ हजार गरी २ हजार पाउने गर्छन् । यद्यपि, कोरम नपुगेको बैठकको भत्ता पाइँदैन । ०६४ सालमा सद्भावना (आनन्दीदेवी) पार्टीको कोटाबाट सांसद बनेका दुगडले ०७० सालमा नवनेपाल पार्टी गठन गरेका थिए । निर्वाचनमा पत्तासाफ भएपछि एमालेमा प्रवेश गरी समानुपातिक सांसद बनेका हुन् । 

टिप्पणीहरू