बिचरालाई समातेर बहादुरी

कात्तिक १५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतले मदिराको दुव्र्यसनका कारण शारीरिक रूपले अस्वस्थ, दुब्लो र उपचारमा रहेका घरपरिवार बिग्रिएर तलबको तीन भागमध्ये एक हिस्सा मात्र लिई जीवन गुजारा गर्ने दुःखी कर्मचारीलाई समातेर पौरख देखाएका छन् । श्रीमती र एक छोरी भएका सर्वोच्चका नायब सुब्बा सुधीर खड्का परिवारसँग छैनन् ।

मासिक तलब जम्मा २८ हजारभन्दा केही बढी पाउने भए पनि सञ्चय कोष, नागरिक लगानी कोष तथा बिमालगायत शीर्षकमा कट्टी भएर बढीमा २४ हजारसम्म हात पार्छन् । घरपरिवार बिग्रिएका कारण छुट्टै बस्ने श्रीमती र कलेज पढ्ने छोरीका लागि समेत गरी मासिक आउने २४ हजार तीन भाग लाग्ने गरेको छ । मानाचामल भर्नुपर्ने श्रीमतीका लागि ८ हजार र पढ्नका निम्ति छोरीलाई ८ हजार गरी १६ हजार कार्यालयबाट सोझै उनीहरूको नाममा र ८ हजार आफ्नो खातामा जम्मा हुन्छ । दिनहुँ महँगिँदै गएको केन्द्रीय राजधानीमा जम्मा ८ हजारले कसरी गुजारा होला ? फेरि सुधीर हरेक दिन १० बजे कार्यालय आउँदा अघिल्लो साँझ घुट्क्याइएको पदार्थको वास्ना सहकर्मीले थाहा पाउने गरी छरपस्ट हुने गरेको थियो । 

पौष्टिक कुराको अभाव र खानाको समेत नियमित जोहो नहुँदा दुब्लाएर मुरलीझैं त भएकै थिए त्यसमाथि उपचारको पनि सख्त खाँचो थियो । तिनै दुब्ला, दुव्र्यसनी र दुःखी कर्मचारीसामु केही दिनदेखि धर्मजंग शाहीले शुभलाभको प्रस्ताव राखिरहेका थिए । धर्म सुधीरको पुरानो चिनजानका हुन् । उनका दाजु देवजंग शाही कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीको ठेक्कापट्टाका सहकर्मी हुन् । मन्त्रीको नाममा रहेको कम्पनीले सरकारी दुई करोडभन्दा बढी हिनामिना गरेको उजुरीपश्चात् देवजंग पक्राउ परे । सँगै मन्त्री पनि बर्खास्तीमा परे । देवजंगलाई थुनामै राखी मुद्दा अघि बढाउन उच्च अदालत पाटनले आदेश दियो । यसविरुद्धसर्वोच्चमा निवेदन लिई पुगे । यस क्रममै पुराना चिनजातका सुधीरलाई तारेखमै रहेर मुद्दा लड्न पाउने गरी आदेश दिलाउन सकिएमा केही लाख लगानी गर्न सकिने बताए । 

सुधीरसँग त्यस्तो आदेश दिलाउन सक्ने हैसियत नभए पनि कोसिस गर्छु भनेका रहेछन् । यसैलाई फोनमा समेत बोल्न लगाएर उनीविरुद्ध धर्म अख्तियार पुगे । अख्तियारले अदालतका कर्मचारीले घुस मागेको प्रमाण भन्दै धर्मको उजुरी र फोन वार्तालाई आधार बनाई सुधीरमाथि अनुसन्धान गर्न सर्वोच्चसँग अनुमति माग्यो । सर्वोच्चले सहजै अनुमति दिएपछि उनलाई कात्तिक १५ गते समातिएको छ । एनसेललाई कर छुट दिँदा पहुँचवाला ठूला मानिसलाई लाभ पुग्यो वा पुगेन खोजीको विषय हुन सक्ला तर सुधीरको पक्राउसँगै उनकी पढिरहेकी छोरीको अध्ययन संकटमा पर्ने र भविष्य असहज हुनेचाहिँ पक्का छ । राज्य र जनताले संवैधानिक निकायबाट सुशासन र सदाचारी समाज निर्माणमा हुने यस्ता प्रयासको प्रशंसा गर्नुपर्छ ।

टिप्पणीहरू