साम्राज्य सताउने शैतानको सरदार
- राजेन्द्र स्थापित
बुराम बुहराम जेमेदारको जन्म भारतको जबलपुरमा भयो । बाल्यकालमा लजालु स्वभावका थिए । १० वर्षकै उमेरमा मध्यप्रदेशभरि आतंक फैलाइरहेका ठग र डाँका सइद अमिर अलि उनको मित्र बने । त्यसो त सइद बुहरामभन्दा २५ वर्षले जेठो थिए । सइदको संगतमा बुहराम पनि ठग बने । उनीसित मिलेर मान्छे मार्न र गाउँमा आतंक मच्चाउन थाले । उमेरले सानो भए पनि गाउँले उनीसित डराउँथे । सइदले बुहरामजस्ता अन्य केटाकेटी पनि जम्मा पारेका थिए, आफ्नो ग्याङमा । उनले बुहरामलाई केटाकेटीको डफ्फाको नाइके बनाइदिए । उक्त डफ्फामा एउटी केटी थिइन् डोली । लामो समय बुहराम जहाँ जान्थे डोलीलाई पनि साथमा लान्थे । प्रेम पनि गर्थे तर युवावस्थामा प्रवेश गर्दागर्दै दुवै अलग्गिए । २५ वर्षको उमेरमा बुहरामले आफ्नो छुट्टै ‘ठग समूह’ बनाए । डोलीले अर्को समूह ।
बुहरामले उत्तरी भारतको अवध राज्यलाई आफ्नो गतिविधिको केन्द्र बनाए । हुँदाहुँदा कराँची, लाहोर, मन्दसोर, मारवाड, काढियावाढ र मुर्सिदावादसम्म गतिविधि फैलाए । पछि ग्वालियरसम्म उनको आतंकको केन्द्र बन्यो । हरेक दिनजसो व्यापारीको टोली नै गायब हुन थाल्यो । आफ्ना मालिक खोज्न हिँडेका ती व्यापारीका कर्मचारी पनि सडकबाटै हराउन थाले । लखनउका राम्री तवायफ (नर्तकी), वेश्या, डोलीमा बसेर लोग्नेको घर जाँदै गरेका भर्खर–भर्खर बिहे गरेका केटीहरू, बंगालबाट इलाहावाद र बनारसको तीर्थयात्रामा हिँडेका यात्री, बिदा मनाएर ड्युटीमा फर्कंदै गरेका इष्ट इण्डिया कम्पनीका सैनिक जवान हराउने क्रम बढ्यो । प्रहरी थानामा दिनानुदिन बेपत्ता हुनेहरुको उजुरी बढ्न थाल्यो । सेना र प्रहरी स्वयंले पनि आफ्ना जवानहरुलाई एक्लै दुक्लै यात्रामा नहिँड्न आदेश जारी गर्नुप¥यो । सरकारी कर्मचारी तथा आमनागरिकलाई धेरै नगद बोकेर नहिँड्न भनियो । प्रहरी प्रशासन असहाय बन्यो । लापत्ता हुनेहरुको लास खोज्नसमेत उनीहरु असफल बन्दै गए । बुहरामको आतंक यहाँसम्म फैलियो कि उनको आगमनको सूचना पाएपछि गाउँ खाली हुन थाल्यो । गाउँलेहरु अन्यत्र भाग्न थाले । बुहराम ‘बेरहम’ (निर्दयी, क्रूर) को पर्याय बने ।
त्यस बेलासम्म अवध ब्रिटिश भारतको नियन्त्रणमा गएको थिएन । मुगल साम्राज्यको अन्तर्गत थियो । वाजिद अलि साह त्यहाँका नवाब थिए । बेलायतले बंगालमाथि नियन्त्रण जमाएपछि अवधमा आँखा गाड्यो । ब्रिटिश भारतको अंग बनेपछि अबधको राजधानी फैजावाद बन्यो । यद्यपि, ब्रिटिशहरुको कार्यालय लखनउ थियो । अबध ठगको केन्द्र बनेपछि बेलायत सरकारले लगातार पाँचवटा टोली भारत पठायो तर टोलीका सबै सदस्य बुहरामको ग्याङको शिकार बने । ब्रिटिश सरकार दिनानुदिन कायल बन्दै गयो । त्यो बेला विलियम हेनरी स्लिमैन ब्रिटिश भारतमा कार्यरत थिए । उनले सन् १८०९ मा बंगाल सेनाबाट सरकारी जागिर थाले र सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज युद्धमा भाग लिएका थिए । भारतमा शासन गरिबसेको इष्ट इण्डिया कम्पनीले गढवाल, पटियाला र सिक्किमको सहयोग लिई नेपालसँग युद्ध गर्न आएको थियो । यद्यपि सन् १८१६ को सुगौली सन्धिपछि युद्ध रोकियो ।
स्लिमैन सन् १८२५ मा क्याप्टेनको हैसियतले हिन्दी र उर्दू राम्रोसँग बोल्न जानेकै कारण जबलपुरको प्रमुख बने । यतिञ्जेलसम्म इष्ट इण्डिया कम्पनीले लापत्ता भएका सरकारी कर्मचारी, सैन्य र प्रहरी जवान तथा सर्वसाधारणको जाँचपड्ताल गर्न ‘ठगी र डकैत विभाग’ गठन गरिसकेको थियो । पछि स्लिमैनलाई उक्त विभागको प्रमुख बनाइयो । उनको नेतृत्वमा ठगहरु धमाधम समातिन थाले । पक्राउ पर्ने ठगहरुको संख्या १ हजार ४ सय पुग्यो । सन् १८३५ मा खुँखार ठग सइद अमीर अलिलाई पक्रन उनी सफल भए । सइदको जीवनीमा आधारित एउटा उपन्याससमेत निस्क्यो, ‘एक ठगको आत्मवृत्तान्त ।’ अंग्रेजी लेखक फिलिप एम टेलरको सो पुस्तक सन् १८३९ मा प्रकाशित भएको थियो । सइदलाई समातेपछि इनामस्वरुप स्लिमैन जनरल सुपरिन्टेन्डेन्ट बने ।
स्लिमैनले सइदमार्फत ठग र ठगीधन्दाबारे धेरै जानकारी प्राप्त गरे । लापत्ता हुनुको पछाडि कसको हात रहेछ भन्ने थाहा पाए । यो सबै घटना बुहरामको ग्याङले गरेको रहेछ । र, ग्याङमा दुई सय सदस्य रहेछन् । उनका अनुसार बुहराम र उनका साथीहरु अत्यन्त क्रूर थिए । व्यापारी, धनी मान्छे, वेश्याको शिकार गर्न हाइवे र जंगलमा घुमी हिँड्थे । ग्याङका सदस्य व्यापारीको भेषमा हुन्थे । व्यापारी बनेका ठगको पछाडि अरु सदस्य हुन्थे । राति व्यापारीको जत्था जंगलको बाटो हिँड्दै गर्दा ठगहरु सोही टोलीमा मिसिन्थे । प्रायः धर्मशाला र कुवा भएको स्थानतिर बढी सक्रिय रहन्थे ।
व्यापारीको जत्था जब गहिरो निद्रामा सुत्थ्यो, टाढाबाट गिद्ध रोएको आवाज आउँथ्यो । यो आवाज ठग ग्याङका सम्पूर्ण सदस्यका लागि सन्देश हुन्थ्यो । लगत्तै बुहरामसहित ठगहरुको समूह त्यहाँ पुगेर सर्वप्रथम निदाइराखेका व्यापारीहरुको सूक्ष्म निरीक्षण गथ्र्यो । त्यसपछि सरदार बुहरामले झोलाबाट पहेंलो रंगको रुमाल निकाल्थे । खल्तीबाट एउटा सिक्का झिक्थे । रुमालमा राखेर गाँठो पार्थे । त्यसैको प्रयोगबाट बुहरामले व्यापारीलाई घाँटी थिचेर मार्थे । सबैको हत्या गरिसकेपछि नाचगान गर्थे । बुहराम कालीको भक्त, त्यसैले लुटपाट र हत्यापछि कालीको पूजा गर्थे । बुहराम पूजामा लीन भइरहेकै बेला सहयोगीहरुले मारिएका व्यक्तिहरुको घुँडाको हड्डी भाँचिदिन्थे । त्यसपछि लासलाई पोको पारेर खाल्डोमा पुर्थे । गाड्ने स्थान अभाव भएमा पानी सुकिसकेको कुवा र नदीमा फ्याँक्थे । त्यसैले लापत्ता हुनेहरुको लाश फेला पार्न प्रहरी असफल बन्थ्यो ।
बुहराम र सहयोगीहरुले लासलाई व्यवस्थित नपारुञ्जेलसम्म गिरोहका अन्य सदस्यहरु त्यस क्षेत्रलाई घेरेर बसेका हुन्थे । काम नसकुञ्जेल हातमा सेतो रुमाल हल्लाई बस्थे अर्थात् ‘सबै ठीक छ’ भन्ने सन्देश दिइरहन्थे । खतराको संकेत मिल्नेबित्तिकै रुमाल हल्लाउन बन्द गर्थे । सेतो रुमाल हल्लिन रोकिनेबित्तिकै लास ठेगान लगाउन तल्लीन ठगहरु सतर्क हुन्थे । रुमाल हल्लिन थालेपछि बल्ल काम थाल्थे । सबै काम सम्पन्न गरेपछि भोज खान्थे । नाच्थे । कब्बाली गाउँथे । जहाँ उनीहरुले चिहान बनाउँथे, सोही चिहानमा बसेर अवश्य सखर खान्थे, ख्वाउँथे । उनीहरुका अनुसार चिहानमाथि बसेर जसले सख्खर खान्थ्यो, ऊ पक्का ठग ठहरिन्थ्यो ।
स्लिमैनले बुहरामबारे अत्यधिक जानकारी लिइसकेपछि सम्पूर्ण उत्तर भारतमा प्रहरी र सेनाको सञ्जाल फैलाए । ठगी र डकैत विभागको कार्यालय जबलपुरमा थियो र स्लिमैनलाई यो पनि थाहा भयो कि ठग गिरोहको सक्रियता पनि बढी जबलपुर र ग्वालियरमै छ । तत्कालीन भारतमा एक स्थानबाट अर्को स्थान जान यो स्थान टेक्नै पथ्र्यो । साथै यो इलाकाका प्रायः सडक जंगलको बीचमा थिए । जसको कारण बुहरामलाई जाल बिछ्याउन र भाग्न सजिलो थियो । त्यसैले स्लिमैनले ठग पक्रनकै लागि दिल्ली–ग्वालियर–जबलपुर हाइवे दायाँ–बायाँको जंगल फडानी गर्न लगाए र गुप्तचरहरु तैनाथ गरे । यिनको मद्दतबाट ठगहरुले बोल्ने भाषाको जानकारी लिए । ठगहरुले आफ्नो ठग–भाषालाई ‘रामोसी’ नाम दिएका थिए । यो एउटा सांकेतिक भाषा हो, जसलाई शिकारलाई खत्तम गर्दा प्रयोग गरिन्थ्यो ।
स्लिमैनले जानकारी प्राप्त गरेको रामोसी भाषा यस्तो थियो– पक्का ठगलाई ‘बोरा’ अथवा ‘औला’ । सरदारलाई ‘जमदार’ । अशर्फीलाई ‘गान’ या ‘खार’ । आफूहरु भेला हुने स्थान ‘बाग’ अथवा ‘फूर’ । शिकारको आसपास डुलिरहने ‘सोथा’ । सोथालाई मद्दत गर्ने ‘दक्ष’ । पुलिसलाई ‘डानकी’ । शिकारलाई फाँसी दिने व्यक्ति ‘फासीगर’ । लास गाड्ने ठाउँ ‘तपोनी’ ।
ठग सइदको बयान र बुहरामको ग्याङबारे सबै सूचना संकलनपश्चात् पनि बुहरामलाई पक्रन स्लिमैनलाई १० वर्ष लाग्यो । पक्राउपछि बुहरामले त्यही आफूले बोक्ने गरेको पहेंलो रुमालको सहायताले कूल ९ सय ३१ जनाको हत्या गरिसकेको बयान दिए । आफू एक्लैले १ सय ५० लाई मारेको बताए । उनको पक्राउपछि सहयोगीहरु समातिए । बुहरामलगायत ग्याङका कुख्यात सदस्यहरु फाँसीमा चढे । बाँकीलाई सुधार गृहमा राखियो । सन् १८४० मा फाँसी पाउँदा बुहराम ७५ वर्षका थिए । उनलाई पछि ‘ठगहरुको राजा’ भन्न थालियो । उनलाई फाँसी दिइएको गाउँ आज स्लिमनावादको नाउँले जानिन्छ । त्यहाँस्थित प्रहरी चौकी भवन पहिला स्लिमैन कार्यरत चौकी हो । त्यहाँ उनको एउटा सालिक पनि छ । स्लिमैनले जीवनमा ठगहरुसम्बन्धी तीनवटा पुस्तक लेखेका छन् । लखनउमा हुँदै उनको तीनपटक हत्याप्रयास भयो । अबधलाई ब्रिटिश भारतमा गाभ्ने ब्रिटिश इण्डिया सरकारको उनले विरोध गरेका थिए । उनको निधन सन् १८५६ मा सिलोन (श्रीलंका) मा भयो । जबलपुरमा कार्यरत रहँदै उनले अमेलिया जोसेफिनसित बिहे गरेका थिए । पछि उनीहरुका सात सन्तान भए ।
टिप्पणीहरू