पुतली बगैंचामै पेलपाल

परियोजना ४४ करोडको, तर त्यसलाई हात पार्न अहिल्यैदेखि जायज/नाजायज काम÷कुरा हुन थालिसके । सिंहदरबारस्थित पुतलीबगैँचामा निर्माण हुने संसद भवनका लागि टुण्डी कन्स्ट्रक्सनले ठेक्का पारेको छ । तर, उसको प्रतिस्पर्धी आशिष कन्स्ट्रक्सनले आपत्ति जनाएको छ, आफ्नो डकुमेन्ट ह्याक गरेर टुण्डीले ठेक्का हत्यायो । 

इ–टेण्डरका माध्यमबाट आह्वान गरिएको बिडिङ प्रक्रियामा सहभागी आशिषले टुण्डीको भन्दा कम लागत पेश गरेको थियो । तर, उसले पेश गरेको लागतको कागजात कम्प्युटर सिष्टम ह्याक गरेर लुकाइएको र आफूले भन्दा थोरै अंक बढीको लागत पेश गर्ने फर्मले ठेक्का पाएको भनी राजनीतिक दलका नेताहरूसँग आपत्ति जनाइरहेको छ । आशिष प्रचण्डनिकट ऋषि गौलीहरूको फर्म हो । ठेक्का पाउने टुण्डीको सेटिङ प्रधानमन्त्री कार्यालयका मान्छेहरूसँग भएको बताइन्छ । ठेकेदारबीच यस्तो विवाद आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई प्रधानमन्त्री कार्यालयबाट सोधिएको छ । तर, जवाफ आएको छैन । यस्तो कुरा प्रधानमन्त्रीको कानमा नपुगोस् भनेर सचिवालयका सहयोगी सतर्क भइरहेकै बेला आशिष कन्स्ट्रक्सन अन्यायमा परेको कुरा प्रचण्डले प्रमलाई सुनाइसक्नुभएको बताइन्छ । 

ठेक्का दिँदैमा तलमाथि भयो, भएन भन्ने कुरा त खुल्दै जाला । तर, संसद भवनको महŒवाकांक्षी परियोजना हात पारेको कम्पनी कालोसूचीमा पर्न लागेको कुरामा सचेतता अपनाइएको छैन । मैलुङ–स्याफ्रुबेसी अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको ठेक्कामा एक वर्ष म्याद थपिँदा पनि काम नसकेका कारण टुण्डीलाई स्पष्टिकरण सोधिएको र त्यही विषयलाई लिएर कालोसूचीमा राख्ने तयारी भइरहेको छ । मैलुङ–स्याफ्रुबेंसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि त्यसका बाँकी काम लामो समयदेखि रोकिएको छ ।

गल्छीदेखि त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेंसीतर्फको एक सय पाँच किलोमीटर राजमार्गभन्दा गल्छी, त्रिशूली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र घुम्तीमोड कम भएका कारण सवारीसाधन आवागमन सहज हुन्छ । तर, थपिएको म्यादमा पनि काम नसकिएपछि ठेक्का पाएको कम्पनीलाई कारवाही गर्ने तयारी चलिरहेको छ । यसबाहेक विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको अर्को उजुरी छ, टुण्डीमाथि । करीब  ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त आयोजनाबारे प्रश्न उठेपछि छानवीन चलिरहेको हो । 
 

टिप्पणीहरू