दरबारमार्गमा डरलाग्दो दादागिरी

वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिकअगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो । केही समय परिवार शोकमा रह्यो । शोकपछि नियमित काममा फर्केकी पत्नी मधु दीक्षितले खाता खालि देखेपछि पसलधनीलाई खोजिन् । पसलधनी थिए अघिल्लो अर्थात् संविधानसभाकालको संसद्का क्याण्टिन सञ्चालक बागलुङका सञ्जय अधिकारी । त्यो बेला तत्कालीन माओवादीका दीनानाथ शर्मादेखि जनमोर्चाका परी थापाहरू समेतलाई सहमत गराएर क्यान्टिनको ठेक्का पार्नेदेखि मूल्य बढाउनेसम्मको खेल भएको थियो । बैठकको खाना, खाजाका बिलसमेत संख्यादेखि दर बढाएर ठूलो घोटाला हुने गरेको हो । 

अधिकारीलाई दीक्षितले भेटेपछि अनेक बहानामा टार्दै र सम्पर्कविहीन हुँदै जान थाले । जेठमै करार अवधि सकिएको, भाडा नतिरेको उल्टै आफैं घरधनी बनेर भारतीय नागरिकलाई मासिक २ लाख भाडा लिनेगरी तल्लो तलामा रेमण्ड चश्मा पसल चलाउन दिएको, माथिल्लो तलामा अनलाइन र पत्रिकाको कार्यालय तथा साइडमा अर्को पसल राखेर भाडा उठाई आफैं खाने गरेको, डान्सबारबाट समेत पैसा उठाएको भन्दै दीक्षितले उजुर गरिन् । दरबारमार्ग प्रहरीले बोलाएको छ, आउला भनी टार्दै गयो । त्यसपछि पुगिन् वडा कार्यालय । वडाले झन् टेरेन । महानगरपालिकामै पुग्दासम्म न भाडा उठ्यो न घर खाली नै भयो ।

आफ्नै घरमा यस्तो माथापच्ची गर्नुपरेपछि गृहसचिव प्रेमकुमार राईकोमा पुगेर कथाव्यथा सुनाइन् । आफ्नै घरमा यसरी व्यापारीको राज चलेको, वडा, महानगरपालिका र दरबारमार्ग प्रहरीले नटेरेको कुरा सुनेपछि राईले आलम शैलीका व्यक्ति अनेक आवरणमा जहाँतहीँ भएको भन्दै प्रहरीको सातो लिए । उपत्यका डिआइजी शैलेश थापा क्षेत्रीलाई फोन गरेर तत्काल त्यो पसलमा ताला लाइदिनू र चाबी मधु दीक्षितलाई दिनू भन्ने आदेश दिए । यो लामो घटनाक्रमपछि आइतबार प्रहरीले ताला लाइदियो र चाबी दीक्षितलाई दियो । तर, अधिकारीले अस्ति सोमबार साँझ दलबलसाथ पुगेर ताला फुटाए । र, घरधनी छिर्न नपाउन् भनी अर्काे ताला ठोकिदिए । कुरा गृहमन्त्रीसम्म पुगे पनि सचिवले नै प्रहरीलाई कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएको अवस्था हो यो ।

टिप्पणीहरू