पहिला दौरा, अनि बल्ल मन्त्री पद

बाहिरबाट हेर्दा ‘३६’ को ध्रुवझैँ, एउटासँग अर्को फर्किनै नसकिनेजस्तो । तर, ‘मसँग दौरासुरुवाल नै छैन’ भन्दा ‘हैन, मेरै लगाउने गरी बिहान शपथ खान आउनु’ भनिदिनुभयो प्रधानमन्त्रीले । 

यसरी गत बिहीबार पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले दौरा–सुरुवाल लगाउन दिएर पनि आफ्नो सनातनी आलोचक घनश्याम भूषाललाई कृषिमन्त्री बनाउनुभयो । त्यसो त दौरा–सुरुवालले मात्रै मन्त्री बन्न रोकिँदैन भन्ने कुरा त्यही दिनको शपथमा कुर्ता–पाइजामा लगाएका हृदयेश त्रिपाठीहरुबाट पनि पुष्टि हुन्छ । घनश्यामलाई बुधबार बिहानै प्रधानमन्त्रीले मन्त्रिमण्डलमा सामेल हुन फोनमार्फत भन्नुभएको थियो । त्यसबेला घनश्याम रुपन्देहीको मणिग्रामतिर थिए । ‘मन्त्री नै हुन्नँ भन्ने त होइन, पहिला तपाईंसँग कुरा गर्छु’ भनेर स्वीकारोक्ति दिएका उनलाई सचिवालयबाट फोन गयो । प्रमले नै भन्नुभयो, ‘भोलि बिहान तुना भएको कालो छालाको जुत्ता, कालो कोट, सेतो दौरासुरुवालमा मलाई भेट्न आउनु !’ 

‘दौरासुरुवाल त छ, सेतो हैन खैरो † त्यो पनि ०७४ मा चुनाव जितेर सांसदको शपथका लागि हालिएको ।’ घनश्यामले यही कुरा सुनाए । अनि, प्रमले ‘त्यसोभए यहाँ आउनु, मेरो एकजोर दौरा–सुरुवाल छ, यही लगाएर जानु’ भन्नुभयो । प्रधानमन्त्री स्वयंले खोजी–खोजी ‘खान आऊ’ भन्ने, आफ्नै लुगा ‘लैजाऊ’ भन्ने तहको स्नेह देखाएपछि घनश्याम बिहानैदेखि तीनछक परिरहेका थिए । त्यसो त केही दिन पहिले तीन घण्टा गफ हुँदा ‘रोजेर मन्त्रालय लैजाऊ’ भन्ने अफर पनि गरिएको हो । बुधबार बेलुकी बुद्ध एयरको भैरहवा–काठमाडौं उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाहुँदै बधाईका फोन आउन थालिसकेका थिए । अर्थात्, उनी कृषि मन्त्री पक्का भइसकेका थिए । यसपछि कि प्रधानमन्त्रीले ‘मेरै लैजानु’ भनेको दौरा–सुरुवाल लगाउनु कि जस्तो छ, त्यस्तैमा शपथ खानुबाहेक विकल्प रहेन । तै, केही उपाय चलिहाल्छ कि भनेर शुरुमा बागबजारस्थित श्रेष्ठ टेलरिङको एक तलामाथि उक्लिए । आधाउधी पसल बन्द भइसकेको थियो । त्यसपछि बाङ्गेमुढा पुगेर रेडिमेड दौरा–सुरुवाल छान्न थाले, तुनावाला कालो जुत्ता पनि न्युरोडमा किन्न भ्याए ।    

यसपछि कोठा पुगेर बल्ल निकटस्थलाई फोन हाने, ‘केपी सरले अचम्मैसँग मन्त्री होऊ भन्या’छन्, क्यार्नी हो…?’ तीन–चारजनासँग कुुरा गर्दा सबैले ‘जानुस्’ नै भने । यसपछि पूर्वएमालेका ‘स्टडी सेन्टर’ (घनश्यामहरुको अध्ययन केन्द्र) सँग सम्बन्धित कार्यकर्ता विश्लेषण गर्न थाले, यसरी सरकार र पार्टी नेतृत्वका पनि मुख्य आलोचकको रुपमा सार्वजनिक भएका उनलाई ‘जसरी पनि’ को शैलीमा मन्त्री बनाउनुको कारणबारे । उनीहरुको बुझाई छ, ‘सचिवालय बैठकले केपी पाँच वर्षकै लागि प्रधानमन्त्री हुने गरी प्रचण्डलाई कार्यकारी अध्यक्ष चलाउन भनेको छ । सरकार पाँच वर्षलाई चलाउने भनिसकेको र मुख्य आलोचक घनश्यामलाई सरकारमा लिएपछि एउटा ब्लक त मज्जैले चूप हुने भयो ।’ 

बरु बालुवाटार बिच्चबिच्चमा

प्रधानमन्त्रीले ‘यसो म पनि बीच्चबीच्चमा आउँथें नि…’ भन्नुभयो, तर सबैजना ट्वाल्ल परेपछि कुरा अन्तै मोडियो । 

गत बुधबार बिहान नयाँ मन्त्रीहरुको नामउपर छलफल गर्ने भनिएको नेकपा सचिवालय बैठकले त्यो विषयमा त केही चर्चा गरेन नै । बरु, केपी ओली पाँचै वर्षका लागि प्रधानमन्त्री र पार्टीको कार्यकारी अध्यक्षमा प्रचण्ड रहने निर्णय ग¥यो । त्यहीँ हो, प्रधानमन्त्रीले ‘बीच्चबीच्चमा..’ भन्दै हँसाउनुभएको !

प्रचण्डले कार्यकारी अधिकार पाएपछि ‘अबका बैठक पार्टी अफिसमै गर्ने, उतै बसेर ड्याङका ड्याङ निर्णय गर्दै जाने’ भन्दाभन्दै केपीले थप्नुभयो, ‘यतै (बालुवाटारमा) गरौँ न । त्यसो गरेदेखि म पनि यसो बीच्चबीच्चमा आउँथें नि †’ तर, प्रधानमन्त्रीको यो प्रस्तावमा छलफल नै भएन, बरु सबै गलल हाँसेपछि कुरै सकियो । बरु वामदेवले भन्नुभयो, ‘उहाँलाई पनि बस्न मन लागेको बेला बरु यतै गरौंला ।’

नेकपाका दुई केन्द्रीय कार्यालयमध्ये पेरिसडाँडामा युवा र विद्यार्थीको गतिविधिका कारण चहलपहल त देखिन्छ । तर, धुम्बाराही सुनसान छ । जनसंगठनहरुका लागि पेरिसडाँडा र पार्टीका अन्य राजनीतिक तथा प्रशासनिक काम धुम्बाराहीबाट चलाउने गरी सहमति भएकोमा धुम्बाराही खालीखाली छ । कतिसम्म भने त्यहाँ काम गर्ने कर्मचारीहरु पनि हाजिर गरेर बिहानै अरु–अरु काममा हिँड्ने भइसके । त्यही कारण अब पार्टीका सबै बैठक त्यहाँ बस्ने प्रचण्डको प्रस्ताव थियो ।  

टिप्पणीहरू