​डिफेन्स कोलोनीमा को–को देखिए

भारतले हाम्रो भूमि लिपुलेक र कालापानीलाई आफ्नो नक्शामा समेटेपछि नेपालमा प्रधानमन्त्रीकै तहबाट त्यसप्रति आपत्ति जनाइएको स्थिति जगजाहेर छ । तर, दिल्लीको रमिता अर्कै छ । कोही मन्त्री ९–९ पटक डिफेन्स कोलोनीमा पुग्छन्, नेपाली दूतावासले पुगिसकेपछि मात्रै चाल पाउँछ !

नक्शा विवादलाई नेपाल र भारतबीच कूटनीतिक तवरले हल गर्नुपर्छ भन्ने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीहरुको अभिव्यक्ति आइसकेको तर कूटनीतिक नोट पठाउनेबाहेक प्रम तहमै संवाद थाल्ने गरी खासै त्यस्तो पहल शुरु नभएको स्थिति हो । तर, सरकारी काम लिएर हैन, काठमाडौंबाट केही मन्त्री आफूखुशी, पालैपालो दिल्ली पुग्ने । यता, प्रधानमन्त्रीलाई यहाँ–उहाँ केही नभन्ने, दूतावासले उता पुगेको पत्तो पाई परराष्ट्रको च्यानलबाट रिपोर्टिङ भएपछि झस्किनुपर्ने । शायद, यस्तै कारणले पनि हुनुपर्छ, त्यसरी दिल्ली पुग्नेमध्ये दुई मन्त्री हालैको बर्खास्तीमा परेका छन् । ती मन्त्री खबर नगर्नेमात्र हैन, दूतावासमै रहेको सुविधासम्पन्न कोठाहरुमा पनि नबसी ‘डिफेन्स कोलोनी’ पुग्ने । त्यो भनेको भारतको त्यस्तो सरकारी ठाउँ हो, जहाँ एजेन्सीहरुद्वारा विभिन्न देशका मान्छे बोलाउने, राख्ने र आफ्ना विषयमा आधारित भेटघाट चलाउने गरिन्छ । यसरी त्यहाँ सबभन्दा बढी (९ पटक) पुग्ने पात्र हुन्, उपेन्द्र यादव । 

उपेन्द्रले त गत हप्ता भारतीय जनता पार्टीका महामन्त्री राममाधवसँग भेटेको फोटो नै सार्वजनिक गरे । तर, उनी अहिलेको भारतीय राजनीतिमा उति प्रभाव भएका व्यक्ति होइनन् । अहिले सांसद पनि छैनन् । ‘इण्डिया फाउण्डेशन’ नामक एनजिओ हेर्ने मुख्य व्यक्ति हुन् । त्यसलाई भाजपाको थिङ्क ट्यांकजस्तो मानिन्छ । त्यसले भारतसँग सम्बन्धित विभिन्न विषयमा विश्वव्यापी छलफल चलाउने गरेको छ । यसअघि उपेन्द्रजस्तै भारतले बोलाएर कांग्रेस महामन्त्री सशांक कोइराला पनि ‘डिफेन्स कोलोनी’ मा देखिएका थिए ।

टिप्पणीहरू