​बाझ्दाबाझ्दै अमूल्य किड्नी बेकार

थाहा छ, यतिबेला सिंगै नेपालमा किड्नी फेर्ने काम ठप्प छ ! कानुन पालनामा अत्यन्तै कडाइ गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीकै नाममा केही चिकित्सकले गलफत्ती गर्दागर्दै एकजना बिरामीले गत हप्ता प्राण त्यागेका छन् ।

प्रधानमन्त्रीले आफ्नो मृगौलाको उपचार गराइरहनुभएको टोखास्थित ग्राण्डी अस्पताल र स्वास्थ्य मन्त्रालयबीच गत बिहीबार ‘दोहोरी’ चल्यो । स्ट्रोकको कारण ब्रेनडेथ भएका ती बिरामीको काम लाग्ने अंग झिक्ने र आफ्नो अस्पतालमा रहेका अर्का बिरामीमा प्रत्यारोपण गर्ने हतारोमा दुई निकायबीच ‘दोहोरी’ चलेको हो । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ -०७५ मंसिरसम्मको संशोधन) अनुसार कानुनबमोजिम अनुमतिपत्र नलिई कसैले पनि अंग प्रत्यारोपणसम्बन्धी कृयाकलाप गर्न पाइँदैन । यदि कसैले कसैको अंग झिकेमा वा त्यसरी झिकिएको अंग कसैलाई प्रत्यारोपण गरेमा त्यस्तो कार्यमा प्रत्यक्ष संलग्न भए पा“च वर्ष कैद र पा“च लाख रुपैया“सम्म जरिवाना हुने व्यवस्था छ । तर, केही फिजिसियनले आफूखुशी बिरामीको मृगौला झिक्न लागेको थाहा पाएर स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत पुष्कर नेपालले ऐनको दफा–दफा पल्टाउँदै तुरुन्तै प्रहरीमा जाहेरी लेखी कारवाही अघि बढ्ने भनेपछि उनीहरु बल्ल पछाडि हटे । तर, त्यतिञ्जेलमा विरामीको मृत्यु भइसकेको थियो ।

मानव शरिरका कतिपय अंग मस्तिष्क डेड भएर श्वास–प्रश्वास चलिरहँदा र कतिपय अंग मृत्यु भएको निश्चित समयभित्र झिकिसक्नुपर्छ ।  मस्तिष्क मृत्यु भएको व्यक्तिलाई भेन्टिलेटरमा राखेर आवश्यक अंग निकाल्न सकिने र निकाल्ने काम सकिएपछि भेन्टिलेटर अफ गर्नुपर्ने कानुनी व्यवस्था छ ।  अंग प्रत्यारोपण गर्ने शल्य चिकित्सक मस्तिष्क मृत्युको घोषणा गर्ने कार्यमा र मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अंग प्रत्यारोपणको काममा संलग्न हुन नपाउने प्रावधान छ । तर, त्यसदिन ग्राण्डीको माग थियो, ‘हामी हाम्रो बिरामीको अंग झिकेर पालो कुरिरहेका चारमध्ये म्याचिङ हुने अरु कुनै बिरामीलाई प्रत्यारोपण गर्न सक्छौँ, गर्नुपर्छ ।’ तर, ऐनअनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालिने अंग स्वतः नेपाल सरकारको स्वामित्वमा हुन्छ । र, परिच्छेद ४ को १७ (क) मा ती अंगहरु प्राथमिकताको सूची बनाएर वितरण गर्नुपर्ने व्यवस्था छ । अहिले पनि मृगौला प्रत्यारोपणका लागि चार सय बिरामी नामै टिपाएर खबर आउने पर्खाइमा छन् । बिरामीको अवस्थाका आधारमा बढी स्कोर ल्याउनेलाई अंग वितरण गर्नुपर्ने कानुनी प्रावधान छ ।

अर्कातिर, यदि प्रधानमन्त्रीले चाहनुभयो भने उहाँको दोस्रो पटक हुने मृगौला प्रत्यारोपणको काम नेपालमै सम्भव भएको चिकित्सकहरु बताउँछन् । अहिले पनि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा वर्षको दुई सय मृगौला प्रत्यारोपण हुँदै आएको छ । बितेको ६ वर्षबीच भक्तपुरमा सात सय बिरामीले मृगौला प्रत्यारोपण गरिसकेका छन् । 

टिप्पणीहरू