​अनि पाइलैपिच्छे अड्केको अड्यै

पहिला सोचियो– फेरि कोही शक्तिको आडमा स्वेच्छाचारी भैदिए र जनताले दुःख नपाउन् † अहिले भने त्यसकै अभावमा कतिपय फुकाउनु पर्ने बाटाहरू बन्द छन् । बाटो खोल्ने साँचो नै नभएपछि कुरै सक्कियो !

प्रसंग हो, संविधानको बहुचर्चित धारा– १२७, जसमा ‘बाधा अड्काउ–फुकाउको’ प्रावधान थियो । यो व्यवस्था ०४७ को संविधानदेखि ०६३ को अन्तरिम संविधानसम्म थियो । तर, ०७४ मा संविधान जारी गर्दा जानी–जानी यस्तो व्यवस्था हटाइयो । कारण हो, शासकहरूको सत्तास्वादका कारण जनताले दुःख पाउनु नपरोस् भन्ने ध्येय । राजा ज्ञानेन्द्रले ०५८ असोज १९ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ को आरोपसहित अपदस्थ गर्न यही बाटो रोजे । उनैले ०६१ माघ १९ मा प्रत्यक्षतः शासनसत्ता हातमा लिनका लागि यही धारामा टेके । अहिले देशलाई सभामुख चाहिएको छ । धन्न सदनको एउटा अधिवेशन सकिएर अर्को सेशन शुरु भइसकेको छैन । नभए, सभामुखको अभावमा सदन चलाउने कतिपय कानुनी व्यवस्था यस्तै धारामा टेकेर संशोधन भइसक्थ्यो । सभामुख पद रिक्त छ, उपसभामुखले राजीनामा नदिएको स्थिति छ ।

संविधानले एउटै राजनीतिक दलबाट सभामुख र उपसभामुख नहुने व्यवस्था गरेको छ । विपक्षी वा बाहिरबाट सभामुख छानौं, सरकारले दिनदिनै समस्या झेल्नुपर्ने । सत्तारुढ दलबाटै सभामुख बनाऔँ, उपसभामुख बहाल । अनि, समानुपातिक सांसद रहेकी उपसभामुखको पद समाप्त भएको सूचना दिऔँ, एकजना पूर्णकालीन राजनीतिक कार्यकर्ता, आदिवासी, जनजाति समुदायकी शिक्षित महिलामाथि घोर अन्याय हुने । यस्तो स्थितिमा सरकारले ‘बाधा अड्काऊ फुकाऊ’ को धारा प्रयोग गरेर वैकल्पिक मार्ग रोज्न सक्थ्यो । त्यो बाटो पनि बन्द छ । नेपालमा त्यो धाराले निरंकुशता ल्यायो । तर, प्रायः लोकतान्त्रिक देशका संविधानमा ‘बाधा अड्काउ–फुकाऊ’ को व्यवस्था हुन्छ । संविधानमा मात्रै होइन, धार्मिक कर्मकाण्डमा पनि त्यस्तो प्रावधान राखिन्छ । जस्तो कि, कोही मान्छे अपवित्र छ, तर अनुष्ठानमा सहभागी हुनुपर्ने भयो भने एउटा मन्त्रोच्चारण गरिन्छ, ‘ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोअपी वा, यः स्मरेत पुण्डरीकाक्षं स बाहान्तरः शुचिः †’ अर्थात्, पुण्डरीकाक्ष भगवानलाई स्मरण गरेपछि मान्छे बाहिरी र भित्री रूपमा पनि पवित्र हुन्छ । नेपालको संविधानले चाहिँ त्यस्तो पवित्रता आर्जन गर्ने बाटो नै बन्द गरिदिएको छ । 

टिप्पणीहरू