महान् मान्छे अनि साह्रै कमलो मन

  •  राजेन्द्र स्थापित

कार्ल माक्र्स दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी, क्रान्तिकारी थिए । उनले प्रतिपादन गरेको राजनीतिक सिद्धान्तकै आधारमा साम्यवादी विचारधाराको जन्म भयो । उनले विश्वमा पहिलोपटक सन् १८४८ मा ‘कम्युनिष्ट घोषणापत्र’ निकालेका थिए ।

प्रसिया (वर्तमान जर्मनी) को लोअर प्रान्तअन्तर्गत ट्रियरमा जन्मेका माक्र्सको परिवार अत्यन्त निर्धन थियो तर उनको बिहे अभिजातवर्गकी जेनी भोन वेस्टफालेनसित भयो । जेनीका बाबु सफल व्यापारी थिए । जेनी अत्यन्त सुन्दर, संवेदनशील, दयालु, कोमल हृदय  भएकी, ममतामयी र परिवारप्रति समर्पित थिइन् । जेनी जब माक्र्सको जीवनमा प्रवेश गरिन्, त्यतिबेलै माक्र्सले लेखनलाई आफ्नो जीवनको सहारा बनाइसकेका थिए । उनी स्वयं फोक्सोका रोगी थिए । औषधोपचार र परिवार पाल्न कठिन थियो । त्यसमाथि माक्र्स र जेनी ७ सन्तानको आमाबाबु बने । गरिबी र कुपोषणको कारण चार जनाको असमयमै मृत्यु भयो । 

माक्र्सको प्रमुख आर्थिक श्रोत भनेकै प्रिय मित्र फ्रेडरिक एंगेल्सबाट पाइने सहयोग थियो । माक्र्सले जीवनभर पैसा र सम्पत्तिप्रति कुनै मोह देखाएनन् । त्यसैले जीवनभर उनी र उनको परिवारले हातमुख जोड्ने समस्या भोगे । सन् १८४३ मा जेनीले कहिल्यै समस्या र कष्ट झेल्नुपरेको थिएन तर बिहेपछि दरिद्र जीवन भोग्न विवश भइन् । तर कहिल्यै निराश भइनन् । प्रसन्न भई लोग्ने र छोराछोरीको सेवामा लागिरहिन् । बरु माक्र्स आफ्नो गरिबी देखेर निराश र दुःखी हुन्थे, आफूलाई दोष दिएर बस्थे । त्यस्तो बेलामा पनि जेनी लोग्नेलाई अत्यन्त कष्टकर जीवन गुजारिरहेका मजदुरहरुको उदाहरण दिन्थिन् र भन्थिन्, ‘ती मजदुरहरुको तुलनामा लेखकको जीवन आरामदायी र सुखी छ ।’

जेनी भावुक थिइन् । माक्र्सलाई प्रेम–कविता लेख्थिन् । पत्नीद्वारा लिखित पत्र पढेर माक्र्स सुखको अनुभूति गर्थे । जर्मनीबाट निर्वासित भएपछि माक्र्स लण्डन गई बसेका थिए । त्यहाँ बस्दाको जीवनीबारे जेनीले यसरी लेखेकी छन्, ‘मैले फ्रान्कफर्ट गएर चाँदीको भाँडाकुँडा धितो राखिदिएँ र कोलोनमा फर्निचर बेचिदिएँ । लण्डनको महँगो बसाइमा त्यो पैसा धेरै दिन टिकेन । सानो छोरा सानैदेखि बिरामी भइराख्थ्यो । एकदिन म स्वयं छाती र ढाड दुखाइले असह्य भएर बसिरहेकी थिएँ । त्यसैबेला घरमालिक भाडा माग्न आइपुगे । भाडा त दिइसकेकी थिएँ तर पाँच पौण्ड दिन बाँकी थियो । त्यो बेला उनलाई दिन हामीसित केही पनि थिएन । उनले आफ्नो साथमा दुई जना प्रहरीलाई पनि ल्याएका थिए । उनीहरुले हाम्रो कोठामा भएको बिछ्यौना, कपडा, पलङ, दुई साना बच्चाहरुलाई राखेर खेलाउने, सुताउने र स–साना दुई छोरीहरुको खेलौना उठाएर लगे । म चिसोले थरथर काँपेर बसेका छोराछोरीलाई च्यापी चिसो भुइँमै बसिरहें । त्यो रात जाडो सहँदै, भोकै काटें । भोलिपल्ट उनीहरु फेरि आए । हामीलाई घरबाट निकाला गरे । त्यो दिन पानी परिरहेको थियो । मौसम अत्यन्त चिसो थियो । त्यो दिनको वातारण हाम्रानिम्ति अलच्छिन सावित भयो । यसबीच फेरि औषधि, रासन, दूध व्यापारी आइपुगे । सबैको हातमा हामीले तिर्न बाँकी बिल थियो । मसँग अरु कुनै विकल्प रहेन । भएको भाँडाकुँडा र लुगाफाटा, बिछ्यौना बेचेर चुक्ता गरिदिएँ ।’

जेनी आफैंले गरिबीको जीवन धानेकी थिइन् । तैपनि कहिल्यै हरेश खाइनन् । परिवारलाई सर्वोत्तम ठान्दै जीवन निर्वाह गर्दै गइन् । लोग्ने माक्र्सलाई साथ दिँदै गइन् । माक्र्सको दरिद्र जीवन त्यो बेला कस्तो थियो होला भन्ने उदाहरण त छोरीको मृत्यु हुँदा कात्रो किन्न पैसा नभएपछि लगाइराखेको कोट बेचेको घटनाबाटै प्रष्ट हुन्छ । छोरा हेनरी र छोरी एभलिन एक वर्षको हुँदै, अर्को छोरा एडगर ८ वर्षको हुँदा र एउटा सन्तान नामाकरण गर्नुअघि नै गुमाएका थिए माक्र्स र जेनीले । तीनवटी छोरी जेनी, लाउरा र इलेनोर जो अलि लामो समय बाँचे, माक्र्स उनीहरुलाई धेरै माया गर्थे । जेठी जेनी पनि कम्युनिष्ट कार्यकर्ता थिइन्, जसको बिहे साम्यवादीहरुको पहिलो सत्ता (सन् १८७१ को) पेरिस कम्युनका दिग्गज नेता चाल्र्स लान्गेवरसँग भयो । जेनी क्यान्सर रोगी थिइन् । साइँली एभलिन पनि सामाजिक जनवादी कार्यकारिणी सदस्य थिइन् । उनले ४३ वर्षको उमेरमा आत्महत्या गरिन् । माइली छोरी लाउरा अलि बढी बाँचेकी थिइन् । उनले पत्रकार तथा क्रान्तिकारी कम्युनिष्ट पाउल लाफार्जसित बिहे गरिन् । बुवाको निधनपछि लाउरा र लाफार्ज लण्डन पुगेर माक्र्सवादको प्रचारमा लागे । माक्र्स र एंगेल्सको कृति फ्रान्सिसी भाषामा अनुवाद गरे तर दुवैको अन्त्य दुःखद् तरिकाले भयो । क्रान्तिमा समर्पित भएर सन् १९११ मा दुवैले आत्महत्या गरे । 

माक्र्सकी पत्नी जेनी उमेरले लोग्नेभन्दा चार वर्षले जेठी थिइन् । बिहेको समय २९ र माक्र्स २५ वर्षका थिए । सन् १८८१ मा ६७ वर्षको उमेरमा जेनीको निधन भएपछि माक्र्सलाई रुघाखोकीले सतायो । पछि ब्रोन्काइटिस भयो । १५ महिना अस्वस्थतामै बित्यो । सन् १८८३ को मार्च १४ मा लण्डनमा निधन भयो । उनको चिहानमा लेखियो– ‘वर्कर्स अफ वल्र्ड, युनाइट (अर्थात् विश्वका मजदुर एक हौं) ।’

अल्बर्ट स्वाइजर प्रसिद्ध दार्शनिकको रुपमा मात्र प्रख्यात छैनन्, ठूला विद्वान, धर्मदर्शन, जीवनज्ञाता, लेखक, परोपकारी, चिकित्सकको रुपमा पनि प्रसिद्ध छन् । जर्मनीमा जन्मेका उनले पछि फ्रान्सको नागरिकता लिए । सन् १९२८ मा गोयथे पुरस्कार र १९५२ मा नोबल शान्ति पुरस्कारसमेत जिते । संगीत विद्या, धर्मदर्शन र मानव कल्याणको क्षेत्रमा गरेको कर्म र योगदानस्वरुप आजपर्यन्त विश्वले उनलाई सम्झने गर्छ । 

०००

अल्बर्ट दयालु थिए । उनमा मानवीय भावना ओतप्रोत थियो । जीवनको अमूल्य समयमध्ये अफ्रिकाको अत्यन्त अभावग्रस्त इलाकामा बसोबास गर्ने गरिबहरुको सेवामा बिताए । उनले नोबल शान्ति पुरस्कार यी सदकर्मकै बदलामा पाएका हुन् । मनुष्यबाहेक हरेक जीवजन्तु र जीवनप्रति पनि उनमा ठूलो मोह र माया थियो । ससाना जीव र प्राणीमाथि भएको पीडालाई पनि टुलुटुलु हेरिरहन सक्दैनथे । कष्ट र दुःखबाट मुक्ति दिलाउन लागिपर्थे । 

एकपटक एकजना साथीसँग कतै जानु थियो । स्टेशन धेरै टाढा थियो, त्यसमाथि पहिला नै ढिलो भइसकेको । उनले आफ्नो सामान एउटा लाठीमा बाँधे अनि काँधमा बोक्दै रवाना भए । समय धेरै कम थियो, त्यसैले लामो–लामो पाइला चाल्दै हिँड्न थाले । अल्बर्ट अघिअघि, साथीचाहिँ पछिपछि । हिँडिरहेका अल्बर्ट अचानक उफ्रिए र सडकको छेउतर्फ पुगे । एक सुरले पछिपछि हिँडिराखेका साथी पनि अल्बर्टको कारण लड्खडाए, झण्डै लडे ।

साथी, ‘अल्बर्ट, के भयो ?’

अल्बर्ट, ‘हेरन यहाँ सानो जीव । झण्डै कुल्चिन लागेको । यसलाई सडकबाट उठाएर सुरक्षित स्थानमा राख्छु, पख ।’

साथी, ‘सडकमा बेसहारा छाडेको यो कुकुरको छाउरालाई सुरक्षित स्थानमा राख्ने नाउँमा हामीलाई ढिलो हुन्छ । रेल छुट्छ ।’

अलबर्टले साथीको कुरा नसुनेझैं गरे । लाठीको सहायताले छाउरालाई बीच सडकबाट हटाए । अनि बल्ल रेल स्टेसनतर्फ लम्किए । त्यहाँ पुग्दा रेलले सिटी फुकिसकेकोथियो । दुवै जना दौडेर बल्लबल्ल भित्र पसे । आफ्नो व्यवहार चित्त नबुझेको साथीको भाव पढेपछि उनले भने, ‘रेल चढ्नुभन्दा कुनै प्राणीको ज्यान बचाउनु ठूलो काम होइन र मित्र ?’

साथीचाहिँ मौन बसे । जीवप्रति अल्बर्टको अथाह प्रेमबारे पहिल्यै जानकार थिए । त्यसैले बाहिरबाट रिस र भित्री मनमा प्रसन्न थिए । अल्बर्टको निधन सन् १९६५ मा भइसकेको छ । उनी ९० वर्ष बाँचे । 

०००

फियेरेल्लो ला गार्डिया अमेरिकाको न्युयोर्क शहरका मेयर । सन् १९३४ मा पहिलोपटक निर्वाचित उनी लगातार तीन कार्यकाल मेयर बने सन् १९४५ सम्म । रिपब्लिकन पार्टीका थिए तर सहृदयी र सुप्रबन्धकको रुपमा प्रसिद्धी कमाएका उनले राष्ट्रपतिको निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवारसँग सहमति कायम गरी सघाए, जसको कारण सन् १९३२ देखि १९६० सम्म अमेरिकी राजनीतिमा डेमोक्रेटिक पार्टी बलियो सावित भयो । न्यूयोर्कका मेयरमध्ये लोकप्रिय थिए ला गार्डिया । न्यूयोर्कको एउटा विमानस्थल उनकै नाउँमा छ । 

ला गार्डिया प्रहरीको मुद्दामा चाख राख्थे । उनको ठम्याइ थियो, यसबाट शहरको यथार्थ स्थितिको जानकारी प्राप्त हुन्छ । त्यसैले प्रहरीसित जोडिएको मुद्दाको अध्यक्षता आफैं गर्थे । यस किसिमको मुद्दा एउटा पनि छाडेनन् भन्ने गरिन्छ । एकदिन इजलासमा एकजना चोरलाई पेश गरियो । उनको अपराध थियो, एउटा रोटी चोरेको ।

सरकारी वकिलले कारण सोध्दा उनले ‘मेरो परिवार भोको थियो, त्यसैले चोरेको’ भने । चोरको उत्तर सुनेर मेयर ला गार्डिया अचम्ममा परे । किनकि यसभन्दा अघि चोरीसम्बन्धी जति पनि मुद्दा आए, चोरले यति स्पष्ट रुपमा र सजिलै अपराध स्वीकारेको थिएन । मेयरले दुवै पक्षको कुरा सुनिसकेपछि १० डलर जरिवाना भराउन आदेश दिए । लगत्तै उनले खल्तीबाट १० डलरको नोट झिकेर चोरलाई दिँदै भने, ‘ल जरिवाना तिर ।’ मेयरले इजलासमा उपस्थित सबै जनाबाट पनि ५०÷५० सेन्ट जरिवाना तिराउने आदेश दिए । उनको भनाइ थियो, ‘सबै जनाले यस्तो समाजमा बस्ने अपराध गरेका छन्, जसमा एकजना असहाय एउटा रोटी चोर्न बाध्य छ ।’

विश्व इतिहासमा मेयर ला गार्डियाको यो फैसलालाई भिन्न प्रकारको र महत्वपूर्ण फैसला मान्ने गरिन्छ । भनिन्छ, यो फैसलाले अपराध प्रतिकूल परिस्थितिको उपज हो भन्ने मान्यता स्थापित गरेको छ । 

टिप्पणीहरू