​धर्मको आडमा यौनशोषणको धन्दा

‘भगवान’ भन्नेहरुबाट बलात्कृत हुनुपर्ने, तिनका विरुद्ध न्यायालय धाउनुपर्ने र न्याय पाइएन भनेर रोइकराई गर्नुपर्नेसम्मका घटना हेर्दा प्रश्न उठ्छ–, के हाम्रो समाज धर्मप्रति यतिधेरै अन्धो भइसकेकै हो ?

सुनसरीका कृष्णदास गिरी (स्वामी कृष्णदास महायोगी सिद्धबाबा) बाट एक भक्तिनी बलात्कृत भएको र शोषणमा परेको कुरा घामजत्तिकै छर्लंग छ । सँगै के पनि प्रष्ट छ भने, यो परिस्थितिको सिर्जना धर्मप्रतिको अतिविश्वास वा अन्धविश्वासले गराएको हो, सिद्धिप्राप्तिको लालचामा । त्यसका लागि ‘महाराज’ वा ‘भगवान’ को अंगालोमा बेरिनुपर्ने, त्यसो गर्दा बेग्लै आनन्द आउने भनी लेखिएका वाक्यांशले शोषणका निम्ति धर्मले महिलालाई नजिक्याएको वा शिकार बन्न पु¥याएको छर्लंग छ । सिद्धबाबाले पीडित महिलालाई चारचोटि टिका लगाइसकेको, पाँचौपटक लगाउन बाँकी रहेको र पतिले मोबाइलको सन्देश पढेपछि बल्ल सबै कुरा छरपष्ट हुन पुगेको बयानबाट खुलेको छ । 

सँगै अर्को प्रसंग छ, न्यायाधीश राधाकृष्ण उप्रेतीको । उनका दाइ बालकृष्ण उच्च अदालतमा न्यायाधीश छन् । सरकारी वकिल पृष्ठभूमिका राधाकृष्ण सहन्यायाधिवक्ता हुँदा जिल्ला न्यायाधीशका रुपमा प्रवेश गरे । जिल्ला न्यायाधीशमध्ये माथिल्लो सूचीमा हुँदाहुँदै पनि बढुवा हुन सकेनन् । अनुमान गरौँ, अवकासको मुखमा कसैलाई भन्सारतिर पठाइयो वा भोको बाघलाई खोरबाट निकालेर जनावरको हुलमा छोडियो भने उसले गर्छ के ? भन्सारमा गएको त्यस्तो हाकिम समाजसेवा वा घाम तापेर बस्छ कि बाँकी जीवन सुखमय बनाउनका लागि उठ्तीपुठ्तीमा लाग्छ ? भएको यही छ । कानुनविद्हरु भन्छन्, घटनाका सिलसिला केलाउने हो भने जबरजस्ती करणीको उद्योगमा यस्तो आदेश बिरलै हुन्छ । यस्तै अभियोग  थियो, पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध तर जबर्जस्ती करणीअन्तर्गत होइन कि प्रयाससम्म भएको भनेर । न्यायिक निरुपणमा समानता नदेखिएको कुरालाई पुष्टि गर्न यी दुई उदाहरण नै काफी छन् । अर्थात्, न्यायाधीशको तजविजका नाममा आउने विसंगतिका रुप यसबाट उजागर हुन्छ । 

टिप्पणीहरू