२ जना मोटरसाइकल चालकको ज्यान गयो

२ जना मोटरसाइकल चालकको ज्यान गयो

पूर्व–पश्चिम लोकमार्गको हेटौँडा–नारायणगढ खण्डमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । हेटौंडा–१९ कुवापानीका १७ वर्षीय सुदिप तितुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

हेटौँडा १९ बस्तिपुर बजारबाट पश्चिमतर्फ आउँदै गरेको ना.५ त ७३३८ नम्बरको खाली ट्रयाक्टरको ढालामा सोही दिशाबाट आउँदै गरेको तितुङ सवार बागमती प्रदेश ०३–००५ प १५०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनलाई हेटौँडा ११ स्थित चुरे हिल अस्पतालमा लगिएकोमा मृत घोषणा गरिएको थियो ।

घटनापछि ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी हेटौंडा–फाखेल–काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट इन्द्रसरोवर गाउँपालिकाको कलंकीतर्फ आउँदै गरेको बा. ५७ प ८५७० नम्बरको मोटरसाइकल सुकौरा भन्ने स्थानबाट ४ सय फिट तल खसेको हो । मोटरसाइकल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

टिप्पणीहरू