अर्थतन्त्रमा अब के पर्छ असर ?
हरेक १० वर्षको अन्तरालमा नेपालको राजनीतिले परिवर्तनको सामना गर्ने प्रचलन रहेजस्तै विश्व अर्थतन्त्रको चक्रसमेत प्रत्येक ८/१० वर्षमा घुम्ने गरेको पाइन्छ । उदाहरण हो, सन् २००८ को मोर्गेज मन्दी । अहिले छिमेकी चीनबाट शुरु भई मध्यपूर्व र दक्षिण कोरियासम्म फैलँदै गएको कोभिड– १९ (कोरोना भाइरस) को कारण नेपाललाई परेको ठूलो समस्या हो, अर्थतन्त्रमा अप्रत्यासित गिरावट ।
संसारभर क्रमशः कोरोना संक्रमण फैलिएपछि नेपालको पर्यटन, पूर्वाधार, आपूर्ति श्रृंखलासँगै कच्चा पदार्थ र मेशिनरीको आयातसम्ममा असर परेको छ । यो संक्रमणले विश्व अर्थतन्त्रमा सन् २००८ को जस्तै प्रतिकूलता ल्याउने पक्का छ । त्यो वर्ष अमेरिकाको हाउजिङ व्यवसाय धराशायी हुँदा त्यसका नाममा ऋण प्रवाह गर्ने ठूलादेखि अति सामान्यसम्मका बैंकहरु एकैचोटि टाट पल्टने अवस्थामा पुगेका थिए । त्यसले वैदेशिक लगानी गर्ने देशहरुलाई त असर प¥यो नै त्यसलाई पुर्ताल गर्न अमेरिकाले आठ–दश वर्ष कठोर मिहिनेत गर्नुपरेको थियो । अहिले फेरि अमेरिका मात्र हैन, सिंगो विश्वअर्थतन्त्र चौपट हुने दिशातिर उन्मुख छ । उतिबेला विश्वकै कूल जिडिपीको ६ मध्ये एक भाग अर्थात् १० ट्रिलियन डलर घाटा लागेको थियो ।
नेपालमा चालु आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर थियो– ८ दशमलव ५ प्रतिशतको । अब ६ प्रतिशतबाट माथि उक्लिन पनि गाह्रो हुने अर्थविद्हरुको अनुमान छ ।
यसबीच, केही ठूला परियोजना तयार हुन्छन् र जनतामा सेवा पु¥याइन्छ भन्ने हिसाब थियो । जस्तै, मेलम्ची, अपर तामाकोशी जलविद्युत् परियोजनाबाट ८६ मेगावाट क्षमतासम्मको एउटा भए पनि टर्बाइन चलाउन सकिने आशा थियो । यसबाहेक बुटवल–नारायणगढ सडक विस्तारको काममा ढिलाइ हुन गएको छ । वर्षायामले धानबालीमा असर गरे पनि हिउँदे बाली राम्रो हँुदै थियो । अब मध्यपूर्वबाट आउने रेमिट्यान्स अन्तर्राष्ट्रिय उडानमा प्रभाव पर्दा होटल व्यवसायीले ठूलो मार झेल्नुपर्ने छ ।
यसबीच, नेकपाले ०७० सालदेखि नै चुनावी घोषणापत्रमार्फत जनताबीच बाँडेको एउटा स्वप्न परियोजना (ड्रिम प्रोजेक्ट), पूर्वपश्चिम रेल्वे निर्माणको कामले मूर्तता पाउन लागेको छ ।
सरकारले उक्त परियोजनाका लागि आउने आर्थिक वर्षदेखि ६० अर्ब रकम विनियोजन गर्दै छ भने तीन वर्षमा काँकडभिट्टादेखि इनरुवासम्मको काम सक्न ५७ अर्बको बहुवर्षीय ठेक्काका निम्ति इजाजत दिइसकिएको छ ।
भारतबाट आउने कुर्था–जनकपुर रेललाई विस्तार गर्न बर्दिबासबाट अगाडि बढ्दै पथलैयासम्मको डिपिआर तयार भएको छ । सिराहा, धनुषा छिचोलेर जग्गा अधिग्रहण गर्ने काम चलिरहेको छ । यसरी सञ्चालनमा आउन लागेको यो आधुनिक ब्रोडगेज रेलवे हो । त्यो रेलमार्गमा जापान र चीनको जस्तो बुलेट ट्रेन पनि चलाउन सकिन्छ । रेलमार्ग विस्तारका लागि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने वन क्षेत्रलाई के गर्ने भन्ने अन्यौलता विद्यमान छ । हेटौंडा शहर राजमार्गलाई ओगटेर बनेको छ । रेलमार्गलाई अहिलेकै राजमार्ग हुँदै लैजाने हो भने मूलबजार विस्थापित हुनेछ ।
नेपालको अर्थतन्त्र, राजनीति र दैनिक प्रशासनिक कामलाई दुई घटनाले प्रत्यक्षतः असर गर्ने भएको छ । एउटा हो, विश्वव्यापी संक्रमण विस्तार हुँदै गरेको कोभिड– १९, र अर्को– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणका निम्ति अस्पताल भर्ना ।
कोरोनाका कारण वैशाख २५ को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आसपासमा सम्पन्न हुने भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको कार्यप्रगति रोकिएको छ । त्यहाँ कार्यरत चिनियाँ प्राविधिकहरु नयाँ वर्ष मनाउने छुट्टीमा स्वदेश गएका थिए । तर, त्यहीबीच फैलिएको कोरोनाले उतै अड्किएका छन् । त्यति मात्र हैन, पोखरा क्षेत्रीय विमानस्थलदेखि दैलेख र सुर्खेतमा ड्रिलिङ गरेर पेट्रोल खानी पत्ता लगाउने काम पनि प्रत्यक्षतः प्रभावित भएका छन् । पेट्रोलियम उत्खनन् टोलीले नमुना संकलन गरेर त्यसको स्याम्पल बेइजिङ पठाई डाटा विश्लेषण गर्नुपर्ने थियो । त्यसैको आधारमा कुन बिन्दुबाट पेट्रोलियम निकाल्न सकिन्छ भन्ने कुराको अध्ययन गरिने योजना छ । त्यस्तै, टोखा–छहरे सुरुङमार्ग निर्माणकार्यलाई पनि कोरोनाले असर गरेको छ । पोखराको लेकसाइड, जहाँ पर्यटकको घुइँचो लाग्थ्यो, अहिले त्यो ठाउँ बेहुली अन्माएको घरजस्तो सुनसान छ, रित्तो छ । होटल सञ्चालकले झिँगा धपाएर बस्नुपरेको छ ।
टिप्पणीहरू