एमालेबाट उपाध्यक्ष जितेकी बूढामगर माओवादीमा प्रवेश

एमालेबाट उपाध्यक्ष जितेकी बूढामगर माओवादीमा प्रवेश

कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पुजादेवी बुढामगर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित बुढामगर आज माओवादी केन्द्रमा समाहित भएकी हुन् ।

माओवादी केन्द्रले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बूढामगर सहित एमाले र कांग्रेसका दर्जनौँ नेता-कार्यकर्तालाई प्रवेश गराउनुभएको हाे । पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिदेखि जिल्ला तहका नेताहरु रहेका छन् ।

एमालेबाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष बुढामगर,एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने,२०४८ र २०५४ मा लालझाडी गाउँपालिकामा दुईपटक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका बझाङको केदारसिंह गाउँपालिकाका नेता लालबहादुर शाही,अमरगढी ८ का नवराज ओझा माओवादीमा प्रवेश गरे ।

त्यस्तै, नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट २०७४ सालमा अध्यक्षका उम्मेदवार वीरबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टीका नेता इन्द्र बहादुर चोधरलगायत समेत माओवादीमा प्रवेश गरेका छन् ।

गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदमबहादुर बलायर, एमाले डोटी जिल्ला कमिटी सदस्य चन्द्रदेव पाठक,बाजुरा त्रिवेणी नगरपाकिलाका नेता हिम्मतबहादुर शाही,नेकपा एमाले कैलालीका पूर्व जिल्ला सल्लाहकार मनिराम सुनार, घोडाघोडी नगरपालिकाका एमाले नेता दशरथ न्यौपानेलगायत तीन दर्जनभन्दा बढीले माओवादी रोजेको सो पार्टीले जनाएको छ ।

टिप्पणीहरू