महाकालीमा भारतले तटबन्ध बनाउँदा विप्लव क्रुध्द

महाकालीमा भारतले तटबन्ध बनाउँदा विप्लव क्रुध्द

दार्चुलाको सदरमुकाम खलंगा पारी नेपाल-भारत सीमानामा रहेको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बलले ज्यादती गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले बिरोध जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा खलंगा पारी वाङ्गाबगड र वीरेन्द्र वन इलाकामा एसएसबीले तटबन्धनको बहानामा १० मीटरसम्म नेपाली भूभाग मिचेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेकपाले मोदी सरकारले एसएसबीमार्फत् गरेको सीमा अतिक्रमणको विरोध र भत्सर्ना गर्दै दुई देशको सीमाना समस्याको निरुपण गर्ने अन्तर्राष्ट्रिय कानुनी मान्यताविरुध्द नेपाली भूमि अतिक्रमण भएको ठहर गरेको छ । उसले भनेको छ, ‘तटबन्धबाट महाकाली नदीको जोखिम एवं प्रवाह नेपाली भूभागतर्फ मोड्ने बदनियतपूर्ण कार्य तत्काल रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ ।’

उक्त अतिक्रमण तत्काल रोक्न कूटनीतिक र राजनीतिक पहलनिम्ति शेरबहादुर देउवा सरकारसँग नेकपाले जोडदार मागसमेत गरेको छ ।

टिप्पणीहरू