कोरोनासित लड्ने कि उद्योगी–व्यापारीेसित ?
एकातिर कोरोना भाइरसबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता ! अर्काेतिर दैनिक उपभोग्यवस्तुमा यही बेला अनियमितताको पिरलो ! यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई मात्र तीव्र पारेको छैन, व्यवसायीहरूलाई कार्यालयमै डाकेर नम्र चेतावनीसमेत दिएको छ । खाना पकाउने एलपी ग्याँसमा कृत्रिम अभाव सिर्जना गर्न खोजिएको सूचना पाएपछि प्रजिअ नारायणप्रसाद भट्टराईले ग्याँस बिक्रेताहरूलाई बोलाएर ‘म कालोबजारी गर्दिनँ, कालोबजारी हुन नदिन यसो गर्नेछु, यसो गर्नेछैन’ भन्ने व्यहोराको साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न लगाए ।
सोमबार बिहान पत्रकार भेटघाट सकिएलगत्तै चितवन प्रशासनले ग्याँस बिक्रेताहरूको समूहसँग मिटिङ गरेको थियो । ‘शुरुमै शंका गर्नुहुँदैन, नम्र भाषामा भन्छु’, प्रजिअ भट्टराईले थपे, ‘तपाईंहरूकहाँ चेकजाँच गर्न ग्राहककै रूपमा मान्छे खटाएका छौं । देशमा संकटको बेला बदमासी गरेको भेटिए कानुनमा भएको माथिल्लो हदको कारबाही हुनेछ । अदालतमा गएर मै बहस गर्छु । भन्छु, श्रीमान्, उहाँलाई कानुनमा भएको माथिल्लो हदको सजायँ दिनु, देशमा संकट परेको बेला, स्वैच्छिक सेवा गर्नुपर्ने बेला लोभलालच, मोह राखेर यस्तो अपराध ग¥या कारणले कानुनमा अधिकतम नौ वर्ष कैद भन्या’छ भने नौ वर्ष नै कैद हुनुपर्छ भनेर बहस गर्छु । सायद तपाईंले अहिलेसम्म प्रमुख जिल्ला अधिकारीले कसैको विरुद्ध बहस ग¥या देख्नु भा’छैन होला ।’ बैठकको उद्देश्य प्रस्ट्याउँदै प्रजिअले भने, ‘आज भन्दा एक महिना अगाडि जसरी ग्याँस बेच्नुभाथ्यो, त्यसरी नै गर्नुहोस् । कोरोनासँग लड्नुपर्ने बेला ग्याँस बिक्रेतासँग लड्न नपरोस् ।’
मिटिङमा सहभागी ग्याँसका डिष्ट्रिब्युटर्स र डिलरहरूले यतिबेला उद्योगबाटै ग्याँस सप्लाई कम भइरहेको बताए । बाबा, साइबाबा, जानकी, नारायणी आदि भन्दा राजधानी ग्याँसको सप्लाई कम छ । पुरानो सिलिण्डर रिफिल नगरी नयाँ नबेच्न उद्योगीलाई प्रशासनबाट कडाइ गरिनुपर्ने बिक्रेताहरूको माग छ । कतिपय उपभोक्ताले नै बढी ग्याँस खरिद गरेर सञ्चित गर्न खोजेको कारण पनि माग र आपूर्तिबीच सन्तुलन कायम राख्न गाह्रो भइरहेको उनीहरूको भनाइ थियो । ग्याँस उद्योगले ग्याँस दिन कटौती गरेमा वा आनाकानी गरेमा तत्काल जिल्ला प्रशासन कार्यालयमा सूचना दिने एवम् उपभोक्तालाई साबिकमा निजले उपभोग गर्ने गरेको परिमाणमा ग्याँस सिलिण्डर उपलब्ध गराउने, कसैले पुरानो सिलिण्डर नदिई नयाँ सिलिण्डर खरिद गरी अस्वाभाविक रूपमा सञ्चित गर्न खोजेमा त्यसको पनि जानकारी प्रशासन कार्यालयलाई दिने प्रतिबद्धता बिक्रेताले जनाएका छन् ।
ग्याँसका साथै मास्क, सेनिटाइजर र दाल, चामल, तेल, नुन, आँटाजस्ता दैनिक उपभोग्य सामानमा कालोबजारी हुन नदिन प्रशासनबाट थोक तथा किराना पसलमा दिनहुँजसो अनुगमन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उपभोक्ताले बढी खरिद गरेर राख्नेबाहेक अधिक मूल्यमा बेचिएका, पसलमा जम्माखोरी जस्ता हर्कत बजारमा अहिले नदेखिएको उनले बताए । ‘यद्यपि, सरसफाई, बोर्ड राख्नुपर्ने, मूल्यसूची राख्नुपर्ने जस्ता सुधार्नुपर्ने पक्षचाहिँ छन्’, उनले भने ।
संक्रमण फैलिए कसरी स्याहार्ने ?
चितवनमा कोरोना रोग भित्रिन नदिन र भित्रिइहालेमा त्यसको संक्रमण रोक्न विदेशी नागरिक प्रवेश गर्न सक्ने सम्भावना रहेका भरतपुर विमानस्थल र पर्सा जिल्लाको ठोरी हुँदै माडी जोड्ने नाकामा चेकजाँचको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । अस्पतालहरूमा प्रवेश विन्दुमै हेल्प डेस्कको व्यवस्था गरी शंकास्पद बिरामीहरूलाई उचित परामर्श प्रदान गरिएको छ । शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको ल्याबमा परीक्षणका लागि पठाउने गरिएको र त्यस्ता बिरामीहरूलाई छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको, जिल्लामा रहेका मुख्य–मुख्य अस्पतालमा आइसोलेसन वार्ड तोकिएको र निजी क्षेत्रका सबै अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था गर्न लगाइएको प्रशासन बताउँछ । तर, भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजबाहेक अन्य अस्पतालमा के–कति बेड संख्यामा आइसोलेसन वार्ड राखिएको भनी सोमबार दिउँसो स्वास्थ्य कार्यालय चितवनमा भएको स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूसँगको मिटिङमा वरिष्ठ जनस्वास्थ्य अधिकृतले सोध्दा चित्तबुझ्दो जवाफ आएन । आइसोलेसन वार्ड पुरानो मेडिकल कलेजमा ५ बेडको र भरतपुर अस्पतालमा सुरुमा ५ बेडको बनाइएकोलाई विस्तार गरी १९ बेडको रहेको बताइएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार १०/१५ दिनअघि दुईजना शंकास्पद बिरामीको ओरोफ्यारिन्जियल स्वाब परीक्षणका लागि पठाइएको रिपोर्टमा कोरोना नेगेटिभ आएको थियो, उनीहरू दुवैजना सेल्फ क्वारेन्टाइनमा रहेका थिए । गत बिहीबार एकजनाको नमूना परीक्षणका लागि पठाइएकोमा त्यसको पनि रिपोर्ट कोभिड १९ नेगेटिभ आयो, उनलाई अस्पतालको छुट्टै क्याबिनमा राखेर उपचार गरिएको थियो भने आइतबार थप एकजनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार साँझ रिपोर्ट कोरोना नेगेटिभ नै आएको लीलाधरले बताए । अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएका पछिल्लो पात्र भारतबाट तीर्थयात्रा गरी फर्केको उनले जनाए ।
कसैलाई कोरोना संक्रमण भइहालेमा उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्टकै अभाव छ । भरतपुर अस्पतालमामात्र, त्यो पनि दुई सेटभन्दा नरहेको बताइन्छ । त्यसका लागि स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले संघीय सरकारसँग माग गर्दैछन् । खासगरी यहाँका निजी अस्पताल सञ्चालक एवम् डाक्टरहरू यसरी हरेक अस्पतालमा छुट्टाछुट्टै आइसोलेसन वार्डको व्यवस्था गरेर उपचार गर्नुभन्दा शंकास्पद सबै बिरामीलाई चितवन उद्योग संघ परिसरमा रहेको प्रदर्शनी हलमा उपचारको व्यवस्था मिलाउँदा उत्तम हुने धारणा राख्दै छन् । यसबारे टेक्निकल टिम गठन भएको बताउँदै कता कसरी राखेर शंकास्पद बिरामीको उपचार गर्ने भन्ने विषयमा आगामी शुक्रबार निक्र्याेल हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपकप्रसाद तिवारीले बताए । यसैबीच, चितवन उद्योग संघले उद्योग व्यवसायमा कोभिड १९ ले पारेको आर्थिक क्षति न्यूनीकरण गर्ने उपायसम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबारै आयोजना गरेको थियो ।
– अजय गोर्खाली
टिप्पणीहरू