माक्र्सवादी राजमा छैन मास्क

माक्र्सवादी राजमा छैन मास्क

‘माक्र्सवादको कुरा गर्नेहरूको सरकार भएर के गर्नु बजारमा मास्कको कालोबजारी रोक्न सक्या होइन’, सोलुखुम्बु, तिङला घर भई हाल (दशकयता) बागबजारमा बसेर पेटपालनका लागि सरसफाइ कर्मको सहारा लिएकी दयाकुमारी कार्कीले भनिन्, ‘सरकारमा गए सबैथोक गरिदिन्छु भन्ने नेकपाका नेताहरूले के पो गरे हाम्रालागि र औंला भाँच्नु !’ बागबजारको एक प्रेसमा मजदुरी गर्ने स्याङ्जा, मिर्मी घर भएका खिमबहादुर थापाले गुनासो पोखे । ‘नेकपा सुस्त’ शीर्षकमा एक दैनिकको समाचार पढ्दै रामचन्द्र खनाल (गुल्मी घर) ले भने, ‘फुटेको माटाको गाग्रो सिमेण्टले बाहिरबाट टाल्याजस्तो संगठन एकता भनेर के गर्नु, गाउँ कमिटीसम्म मनको एकता भएन ।’

दुई अध्यक्ष अनि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतमा रहेका सयौं नेताले देश र नागरिकको हितमा काम गरेका छौं भन्छन् तर पार्टी र सरकारको तालमेल पटक्कै मेल नखाएको आमकार्यकर्ताको दुखेसो पाइन्छ । रामबहादुर कनौजे (पाल्पा) का शब्दमा– ‘टाठाबाठा र चैतेहरूको (इमान्दार कार्यकर्ताको शब्दमा) बिगबिगी पहिले पञ्च र कांग्रेस पार्टीमा हुन्थ्यो, अचेल सत्ताधारी नेकपामा त्यो रोग सरेको छ । कर्मचारीमा कमिशन प्रवृत्ति छ भने कतिपय जनप्रतिनिधिसमेत कमिशनको जालोमा बेरिएको आरोप छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर के गर्नु मालपोतमा सर्वसाधारणको काम महिनौं हुन्न अहिले पनि । नापी कार्यालयको सेवामा पनि बिचौलिया हाबी छन्, सर्वसाधारणले जहाँ पनि सास्ती व्यहोर्नुपर्छ भन्छन् टोपबहादुर गाहा (पाल्पा) । कोरोना भाइरसबाट बच्न बेसार, बोझो र लसुन खानु भनी विज्ञप्तिमै उर्दी जारी गर्ने स्थानीय सरकारले भ्रष्टहरूबारे सूचना दिनुस् कारबाही गर्छु भन्न सकेको देखिँदैन भन्छन् रमेश शर्मा (धनगढी) ।

माथिका आवाज समकालीन नेपाली समाजका सर्वसाधारण पात्रहरूको हो । सरकार बनेको शुरुमै मनपरी बजारभाउ र यातायातको मनपरी तोड्ने भो भनेर फुर्किएका नागरिकलाई नेकपा सरकारको पछिल्ला गतिविधिले निरास तुल्याएको छ । सामान्य साग मुठालाई किसानले ५ रुपैयाँमा बिक्री गर्छ, त्यसलाई बिचौलिया हुँदै उपभोक्ताको हातमा पुग्दा १५ देखि २० रुपैयाँ तिर्नुपर्छ । उत्पादक किसानले ५ रुपैयाँमा चित्त बुझाउनुपर्ने अनि उपभोक्ताले बिनसित्ती थप १५ रूपैयाँ दण्ड तिर्नुपर्ने किन ? उखुको मूल्य अनि धानको मूल्य निर्धारण कागजमा एकथरी छ, किसानका हातमा पर्ने बिचौलियाको दयाले दिएको मूल्य किन ? ख्वै यसको निराकरण ? कोरोना भाइरसको हल्लासँगै बजारबाट मास्क गायब गराइएको छ । सामान्य मास्क जुन कोरोनाको हल्लाअघि ३० रुपैयाँमा किनबेच हुन्थ्यो अहिले १ सय ५० सम्म तिर्नुपरेको छ । यो मोफसलको गफ होइन राजधानी काठमाडौंको कुरा हो भन्छन् प्रेमसागर कर्माचार्य । दैनिक उपभोग्य वस्तुमा समेत सर्वहाराको सरकारले राहत दिन सक्दैन भने नेकपाको सरकारले दलाल र भ्रष्टहरूलाई कारबाही गर्ला भनेर कसरी भर पर्नु भन्दै उल्टै प्रश्न गर्छन् नमोबुद्ध, काभ्रेका जयराम काफ्ले ।

जब आचारसंहिता, नैतिकतालाई माक्र्सवादीले नै नजरअन्दाज गर्न थाल्छन् अनि कसरी थितिको राज कायम होला ? ओली वा प्रचण्डको एक्लो प्रयासले पुष्पलाल, मनमोहन, मदनभण्डारीको सपना साकार हुन्न त्यसका लागि नेकपाका नेता र कार्यकर्तामा निष्ठाभाव चाहिन्छ अनि कर्मशीलता । कुराले मात्र समाजवाद आउने भए कांग्रेस किन प्रतिपक्षमा पुग्नुपथ्र्यो र ? यसोभन्दा धेरै नेकपाका नेता र कार्यकर्ता अनि तहगत मन्त्री, सांसदलाई रिस उठ्ला, उठोस् । मेरो ध्येय नागरिक भरोसा नटुटोस्, नेकपा र दुई तिहाइको सरकार जनवादी बनोस् भन्ने मात्र हो । आगे ओली अनि प्रचण्ड भरोसा !

टिप्पणीहरू