दशगजामा सादा पोशाकधारी देखिन थाले दिनदिनै

दशगजामा सादा पोशाकधारी देखिन थाले दिनदिनै

पुस पहिलो साता सिरहाको ठाँडीस्थित नेपाल–भारत सीमाक्षेत्रमा पर्ने दशगजा मिचेर भारतले स्वागतद्वार निर्माण थालेपछि विवाद उत्पन्न भएको छ । स्थानीयहरू दिनहुँजसो नाराजुलुससहित आन्दोलनमै उत्रिएपछि दुवै देशका सुरक्षा अधिकारीबीच प्रवेशद्वार निर्माण स्थगन गरेर दशगजा नापजाँच गर्ने सहमतिसमेत जुटेको छ ।

संयुक्त सीमा सर्वेक्षण टोलीले करिब एक साता लगाएर नापजाँच गर्दा ५ मिटर दशगजा मिचेको प्रमाणित भएपछि स्वागतद्वार निर्माण स्थगन गर्न भारत बाध्य भए पनि त्यही क्षेत्रमा स्थापित भन्सार चेकपोष्ट हटाउन भने अझै अटेर गर्दैछ ।

प्रदेश २ अन्तर्गत जिल्लाका धेरै स्थानमा भारतले दशगजा मिचेको छ । नेपाल–भारत संयुक्त हेल्प डेस्क सञ्चालनको नाममा पनि सुरक्षाकर्मीले दशगजा मिचिरहेका छन् । भारतका सुरक्षाकर्मीले मात्रै होइन, नागरिकले पनि जानाजान सीमाक्षेत्र मिचेर धेरै ठाउँमा बस्ती बसाएको दृश्यले नेपालीको मुटु पोल्छ । भारतीयले दशगजा मिचेर खेती गरेको, स्थायी टहरा बनाएर साना खालका उद्योग, कलकारखाना सञ्चालन गरेको, इँँटा भट्टा खोलेको, ब्यापारिक प्रयोजनका लागि अस्थायी प्रकृतिको ट्रष्ट र कठघरा बनाएर व्यापार गरेको अनि कतिपय ठाउँमा हाटबजार नैै सञ्चालन गरेको पाइन्छ ।

भारतले जताततै सीमा मिच्न थालेपछि प्रदेश २ का जागरुक युवाले दुवै देशको सरकारलाई घचघच्याउन मिशन बोर्डर नामक अभियान थालेका छन् । अनुगमन क्रममा सप्तरी, सिरहा र धनुषा क्षेत्रको धेरै ठाउँमा दशगजा मिचिएको सप्रमाण प्रदेश–२ सरकारका मुख्यमन्त्री लालबावु यादवलाई ध्यानाकर्षण गराएको छ । सीमा विवादको विषयमा केन्द्र सरकारले पहल गर्ने भन्दै मुख्यमन्त्री पन्छिएको संयोजक यादवको भनाइ छ । मुख्यमन्त्रीले चासो नलिएपछि यो समूहले प्रमुख राजनीतिक दलका नेता र प्रदेश तथा प्रतिनिधिसभाका सांसदको ध्यानाकर्षण गराएका थिए । तर, कुनै पनि नेता दशगजा मिचिएकोप्रति संवेदनशील बनेनन् । सांसदहरूले प्रदेश र प्रतिनिधिसभामा आवाज उठाएनन् ।

दशगजामा उत्पादित कृषि, सञ्चालित हाटबजार र बस्तीबारे दुवै देशका सीमाक्षेत्रबासीबीच विवाद र झैझगडा हँुदै आएका छन् । यस विषयमा हुँदै आएका झैझगडा र विवाद सुल्झाउन दुवैपक्षका नागरिकबीच हुने छलफलमा नेपालपक्षका नागरिकले राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय सरकार कसैको पनि सहयोग पाउँदैनन्, भारतीय नागरिकको पक्षमा भने उताका सबै निकायको साथ र सहयोग हुन्छ, छलफलमा उपस्थिति पनि बाक्लै हुने गरेको छ । झैझगडा र विवादमा सहयोग नपाउँदा नेपालीले भारतीय पक्षलाई धेरैपटक हर्जाना र जरिवानाका नाममा मोटो रकम बुझाउँदै आएका घटना धेरै छन् ।

दशगजाबाटै हुन थाल्यो अपहरण

किनमेल र औषधोपचार गर्न भारतका हाटबजार र शहर नजिक पर्ने र सस्तो हुने भएकाले नेपालीहरु उतै जाने गर्छन् । गाईभैँसी चराउन र घाँसपात काट्न पनि दशगजा जानुपर्ने विवशता छ । आजभोलि दशगजामा गोठालो र घाँस काट्न गएकाहरूलाई भारतीय अपराधीले अपहरण गरेर फिरौती असुल्ने गरेका छन् । केही दिनअघि सिरहाको दक्षिणी क्षेत्रमा पर्ने बरियारपट्टी गाउँपालिका–१ कचनारीका निर्सीदेवी यादव, सतनदेवी यादव र उम्दादेवी यादव दशगजाबाट अपहरण परेका थिए । उनीहरू जनही भारु १ लाख ५० हजारका दरले फिरौती बुझाएर अपहरणमुक्त भए । भारतीय पक्षले उनीहरूलाई अपहरण गरी मधुवनीको पिपराहीस्थित एक घरमा बन्धक बनाएका थिए । उनीहरूलाई पिपराहीका जिवछा यादव र लालबावु साहको नेतृत्वमा आएको समूहले अपहरण गरेको बताइन्छ । दशगजाबाट ५० मिटर उत्तर नेपालतर्फ कचनारी पर्छ भने करिब १ सय मिटर दूरी दक्षिण दिशामा भारतको पिपराही पर्छ । महिलाहरू दिउँसो १२ बजे अपहरणमा परेको प्रहरी चौकी कचनारीका असइ भूषण सिंहले जानकारी गराए । उनीहरूलाई फिरौती लिएर राति ८ बजे बन्धनमुक्त गरिएको थियो । महिलालाई अपहरणमुक्त गराउन वरियारपट्टि–१, पिपराहीका वडासदस्य सन्तोष रामसहित स्थानीय रामचन्द्र यादव, नागेश्वर यादव, शिवकुमार यादवलगायतले पहल गरेका थिए ।

शंकास्पद आउजाउ

दशगजा मिचेकोप्रति नेपालीहरूको असन्तुष्टि बढिरहेका बेला नयाँ राजदूत आएसँगै दशगजा छेउका नेपालीबस्तीमा सुरक्षाकर्मीजस्ता देखिने सादा पोशाकका भारतीयको आउजाउ बढेको छ । सीमा अनुगमन गर्न आएको बताउने उनीहरूले नेपालका स्थानीय जनप्रतिनिधिसँग बाक्लो उठबस गर्ने गरेका छन् । चिया पसल, होटल, सार्वजनिक स्थलमा भेला भएका नेपालीको गफ ध्यान दिएर सुन्ने उनीहरूले नेपालका स्थानीय जनप्रतिनिधिसँग चीनले गाउँपालिका र नगरपालिकामार्फत विकास निर्माणको योजना दिए÷नदिएको, आर्थिक सहयोग गरे÷नगरेकोबारे गहिरिएर सोधीखोजी गर्ने गरेका छन् भने कतिपय जनप्रतिनिधिलाई आधिकारिक रूपमा माग गरे भारत सरकारले एम्बुलेन्स किन्न र पुस्तकालय खोल्न सहयोग गर्ने बताए । दशगजा आसपासका नेपाली हाटबजारमा चिनियाँ उत्पादनको बिक्रिवितरणबारे पनि सोधखोज गरेको सिरहाको दक्षिणी बेल्टमा पर्ने एक गाउँपालिकाका अध्यक्षले जानकारी दिए ।

– सन्तोष बराइली

टिप्पणीहरू