फेसबुकले घर–घरमा निम्त्याएको फसाद
फेसबुकले बिगारेका महिला शहरिया र शिक्षितमात्रै छैनन्, गाउँ बस्ने, अशिक्षितहरू पनि यसको फन्दामा परेर न्याय माग्दै काठमाडौं पुग्नुपर्ने दिन आउँदैछ ।
गत साता नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा बाग्लुङका खड्बहादुर मगर पुगे, पत्नी र सासूसहित । खड्गबहादुर बाग्लुङको दुर्गम सडकमा बोलेरो चलाउने ड्राइभर हुन् । पत्नीसहित परिवार बाग्लुङ बजारमा डेरा गरेर बस्छन् । दुर्गमको काम, त्यसैले सधैं घर पुग्न भ्याउँदैनन् । बरु, कहिलेकाँही गएको बेला कमाएको पैसा पत्नी कमला (नाम परिवर्तन) लाई दिन्थे र काममा फर्किन्थे ।
कमला फेसबुक चलाउने । यसै क्रममा एउटा फ्रेण्ड रिक्वेस्ट आयो, जनक केसीको । एक्सेप्ट गरिन् । अनि म्यासेञ्जरमा कुरा हुन थाल्यो । जनकले सोधे, ‘तपाईंको परिचय पाउन सक्छु ?’ कमलाले जवाफ फर्काइन्, ‘यस । आइएम कमला ।’ कमलाले सोधिन्, ‘तपाईं को हो ?’ जवाफ आयो, ‘डाक्टर काम गर्छु, लण्डनमा ।’ फेरि कमलालाई जनकले परिचय सोधे, भनिन्, ‘बूढो लाहुरे हो । अहिले काठमाडौं बस्छ ।’ यसरी ‘लाहुरेकी पत्नी’ र ‘लण्डनको डाक्टर’ बीच ६ महिनासम्म फेसबुकमा प्यार चल्यो । जनकले विभिन्न प्रलोभन दिँदै कमलासँग पैसा माग्न थाले । शुरुमा आनाकानी गरिन् । लाहुरेकी बूढी भन्ने प्रमाणित गर्नु छ, त्यसैले पैसाको लोभ गर्नुभएको छैन । पछि–पछि १० हजार, २० हजार गरेर पैसा पठाउन थालिन् । पतिले दिएका पैसा थिए ती ।
करिब डेढ वर्षपछि खड्गबहादुरले पत्नीसँग आफूले केही महिनाअघि राख्न दिएको साढे दुई लाख रुपैयाँ मागे । पैसा जनकलाई दिइसकेको छ । जनकले लण्डनबाट भर्खरै काठमाडौं आएको छु भन्दै एउटा मोबाइल नम्बर पनि दिएको छ । तर, चाहिएको बेला सम्पर्क हुन्न । अब कमला धर्मसंकटमा परिन् । छरछिमेकसँग सापट माग्न थालिन् । ड्राइभरकी पत्नीलाई एकमुष्ट साढे दुई लाख रुपैयाँ कसले पत्याओस् ? उनले पैसा पाइनन् । बरु, खड्गबहादुरलाई कसैले सुनायो, ‘तेरी बूढी साढे लाख सापटी माग्दै हिँडेकी छ †’ अनि, खड्गबहादुरले पत्नीलाई पैसा सापटी मागेकोबारे सोधे । उनले नढाँटी सबै कुरा सुनाइन् । सुन्नेबित्तिकै खड्गबहादुरले एक चड्कन हाने । सासूसँग सल्लाह गरे । केटो काठमाडौंमा छ भने उतै गएर पुलिस केस गरौँ भन्ने सल्लाह भयो । एक हप्ताअघि खड्गबहादुर पत्नी र सासूसहित बसपार्क प्रहरीमा पुगे ।
प्रहरीले कमलाकै फेसबुक म्यासेञ्जरबाट जनकलाई सम्पर्क गर्न लगायो । ‘म पनि काठमाडौं आएको छु । गोंगबुको होटलमा बसेको छु । आज हामी सँगै बस्ने है’ भनेर म्यासेज गयो । तर, भन्नेबित्तिकै जनकको रिप्लाई आएन । त्यसपछि कमलाको सिमबाट जनकले दिएको नम्बरमा फोन गयो । दुई घण्टासम्म विभिन्न बहाना बनाउँदै जनक आएनन् । प्रहरीले कमलालाई फोन गर्न लगाइरह्यो । र, साँझपख जनक बसपार्क प्रहरी बिट नजिकैको एउटा होटलमा पुगे ।
दुई वर्षदेखि फेसबुकको सम्पर्क, पैसाको लेनदेन पनि भएको, तर केटा र केटीको भेट नभएको । त्यही भेटमा दुबैले चाल पाए, कमला सुमो ड्राइभर खड्गबहादुरकी पत्नी, जनकचाहिँ नाम ढाँटेर फेसबुक चलाउने, बाग्लुङ ब्यारेकमा कार्यरत सेनाको जवान † जनकले कमलाबाट लिएको साढे दुई लाख रुपैयाँमा एक लाख थपेर पल्सरको टुट्वान्टी बाइक किनेका रहेछन् । साथी, भाइ र आफन्तसँग सरसापट गरेर भोलिपल्ट विहानै पैसा फिर्ता गरिदिए । खड्गबहादुरले पत्नीलाई सासूको जिम्मा लगाए । भने, ‘तपाईंकी छोरी तपार्ईं नै लैजानुस्, मलाई चाहिएन…†’ यत्ति भनेर खड्गबहादुर साढे दुई लाख लिई बाटो लागे ।
सुन सुन्दरी
गत साताको घटना हो, बसपार्क प्रहरीकै । कोहलपुरबाट एउटा केटा र केटी नाइट बस चढे । रातभरि ड्राइभर सीटको पछाडि कुस्ताकुस्ती गर्दै काठमाडौं आए । चल्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो ।
बिहानै युवती नयाँ बसपार्क ओर्लेर घाँटीको लकेट हरायो भन्न पुगिन्, प्रहरीकहाँ । केटा त्यसअघि नै कलंकी झरे । केटीले खाना खाने ठाउँमा केटाको मोबाइल मागेर आफन्तलाई फोन गरेको भनिन् । प्रहरीले उपाय दियो, ती आफन्तलाई अहिले फोन गरेर राति फोन आएको नम्बर माग्न । नम्बर पाएपछि प्रहरीले केटालाई बोलायो । त्यसअघि प्रहरीले नाइट बसका ड्राइभरलाई बोलाएर सोध्यो । ड्राइभरले पोल खोले, ‘यो थरुनी केटी हो । यिनीहरुले रातभरि गाडीमा तमासा देखाए, मैले पनि अगाडिको ऐनाबाट हेर्दै आएको हुँ ।’ प्रहरीले सोध्यो, ‘सार्वजनिक गाडीमा किन त्यसरी चल्न दिएको त ?’ ड्राइभरले भने, ‘भर्खर बिहे गरेका बूढाबूढीजस्ता देखिन्थे, होला भन्ने लाग्यो ।’ अनि, केटीलाई प्रहरीले सोध्यो, ‘किन चल्न दिएको ?’ उनले जवाफ दिइन्, ‘सुतेपछि मलाई केही थाहै हुँदैन †’ तर, कुरा अपत्यारिलो थियो । ड्राइभरले भने, ‘हैन सर, यी बहिनी आफैँ केटासँग लहसिएकी हुन् । केटालाई तानी तानी पल्काउने यिनी नै हुन् †’ यसबीच केटा प्रहरी कार्यालय पुगे । केटीको लकेट लगेको स्वीकारेनन् । प्रहरीले केटीसँग लकेट हराएको विश्वसनीय आधार, प्रमाण माग्यो । दिन सकिनन् । केटालाई प्रहरीले रातभर थुन्यो । तर, सबै कुरा स्वीकारे, लकेट लगेको स्वीकारेनन् । भोलिपल्ट बिहान केटीलाई बोलाएर सोध्यो, अभद्र व्यवहारमा मुद्दा चलाउने भए लाग्छ, लकेटको मुद्दा लाग्दैन । केटीले, ‘भो–भो पैसा नआउने भए मुद्दा नचलाम् !’
त्यसपछि बसपार्कका ड्राइभर र कण्डक्टरले प्रहरीलाई सुनाए, ‘यी बहिनीले त धेरैसँग यसरी पैसा लिइसकिन् । अब आज नाइट चढेर फेरि कोहलपुर जान्छिन्, एउटा न एउटा पाइहाल्छिन् † यिनलाई भोलि बिहान कोहलपुरको इप्रकामा अवश्य भेटिन्छ ।’
टिप्पणीहरू