लकडाउनप्रति कामरेडको लापरबाही
कोभिड– १९ को संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न सरकारले लकडाउनको आदेश जारी गर्यो । त्यसको पालनामा आममानिस इमानदार नभएको सर्वत्र चर्चा छ । तर, निर्देशन दिने तहकै नेता पनि यसमा गम्भीर देखिएनन् ।
‘लकडाउन’ अर्थात् जो जहाँ छ, त्यहीँ सुरक्षित रहने विश्वासका साथ अगाडि सारिने यो मान्यता उल्लंघन गर्न नेकपाकै नेता, पूर्वगृहमन्त्री जनार्दन शर्मा अग्रसर भए ।
गुपचुपमा हैन, फेसबुकमा लाइभ गर्दै उनले त्यस्तो गरे । कोरोनाको त्रासपछि सिन्धुलीमा काम गर्ने रुकुमवासी मजदुरलाई गन्तव्यसम्म पुर्याउन जनार्दनले आफ्नो शक्ति प्रदर्शन गरेका हुन् । ती मजदुर घर फर्कने क्रममा बुटवल पुग्दा कतै कर्फ्यु त कतै लकडाउनको घोषणा भयो । र, उनीहरूलाई लिएर गएको गाडी बुटवलबाट अगाडि नबढ्ने भयो । यसपछि जनार्दनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर ती व्यक्तिलाई रुकुमसम्म पुर्याउने व्यवस्थाका लागि आदेश गरे ।
भूकम्प वा कुनै प्राकृतिक विपत्ति भए, आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाका लागि एउटा जनप्रतिनिधिले यति गर्नु मनासिव हुन्थ्यो । तर, भूगोल, धर्म, वर्ग र क्षेत्र नभनी फैलने कोभिड- १९ भाइरसप्रति जो जहाँ छ, त्यहीँ सुरक्षित हुनुपर्छ भन्नुको सट्टा शक्ति प्रयोग गर्नुले लकडाउन आदेशकर्ता तहकै नेता यसप्रति गम्भीर नभएको देखिन्छ ।
उता, सुदूरपश्चिमी भारतीय नाका गड्डाचौकी हुँदै स्वदेश फर्किएका नागरिकको सहजताका नाममा भएका आदेश त्यस्तै लापरबाहीपूर्ण थियो ।
फर्किएका नागरिकलाई त्यसरी फर्कन हतोत्साही गर्दै जहाँ हो, त्यहीँ सुरक्षित हुन भन्नुको सट्टा जिल्ला-जिल्ला उल्लेख गर्दै फर्किएका नागरिक ओसार्ने काम भयो ।
टिप्पणीहरू