आर्यघाटको दु:ख : शव बढेको छैन, तर सास्ती भनिसाध्य छैन
कोभिड- १९ (कोरोना भाइरस) को विश्वव्यापी संक्रमणका कारण देश लकडाउनमा छ । उता, पशुपति आर्यघाटमा भने लकडाउनको दुःख बेग्लै छ ।
मलामीका कष्ट
आर्यघाटमा शव दहनको दर लकडाउन यता बढेको छैन । बरु, सर्वत्र कोरोना भाइरस संक्रमणको खतराका कारण मलामी जाने व्यक्तिमा समस्या छ । एक त कडा सुरक्षा व्यवस्थाका कारण मलामीका रूपमा मृतकका आफन्त पुग्न कष्ट छ भने त्योभन्दा ठूलो खतरा छ, संक्रमणको ।
क्रियापुत्रीका कष्ट
जसै शव दहन हुन्छन् । त्यसपछिको अर्को जटिलता हो, क्रियापुत्रीको । क्रियापुत्रीका लागि ठाउँ त पशुपतिदेखि अनेकन छन् । तर, मृत्यु संस्कार सम्पन्न गर्न आवश्यक पर्ने पुरोहित, क्रियापुत्रीको रेखदेख, सहयोग र आफन्त भेटेर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेका लागि अहिले सबभन्दा समस्या भएको छ । बन्दोबस्तीदेखि दान दिने, पित्तृ पूजा सञ्चालन गर्ने सामान त्यहीँस्थित सहकारीमा पाइन्छ । तर, सामनले मात्र काम हुँदैन, त्यसको रेखदेख र विधि सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ ।
कतिपय क्रियापुत्रीलाई त १३ दिनको पूण्यतिथिपछि घर फर्कन पनि गाह्रो छ । किनभने, सबैका घर वा डेरा काठमाडौंमा छैनन् ।
कर्मचारीका कष्ट
उता, मृतकलाई जलेर खरानी हुन पनि उस्तै कष्ट छ । शव दहनको दर घटबढ नभए पनि त्यहाँ कार्यरत जनशक्ति व्यवस्थापनमा जटिलता आएको हो ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गतका कर्मचारीलाई जरुरी परेमा हाजिर हुने गरी घरघरमै बस्न भनिएको छ । तर, शव दहन प्रक्रियामा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन जटिल भएको छ ।
दैनिक सरदर ३०-३५ का दरले शव दहन हुने क्रम जारी छ । त्यसका लागि दहनकर्ताहरुको समितिले मृतकका आफन्तको चाहनाबमोजिम (ब्राह्मण वा गैरब्राह्मण) दहनकर्ता पनि उपलब्ध गराउँछ । तर, यो महामारीमा दहनकर्तालाई पनि ज्यानको माया त हुने नै भयो । दहनकर्ताबाहेक घाटमा विशेष सेवा दिनका लागि कोषले प्रशासनतर्फका ६ कर्मचारीलाई दाउराबाट दहन गरिनेतिर र ८ जनालाई विद्युतीय दहनतर्फ खटाएको छ ।
यी कर्मचारीलाई पुरानै तलवमानमा ३५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था छ । तर, अहिले भत्ताको हैन, ज्यानको कुरा छ । कोषले पुरानो ३५ प्रतिशतमा थप विषेश भत्ता दिने निर्णय गरेको छ । तर, कार्यान्वयनमा आएको छैन । भत्ताबाहेक उनीहरु स्वास्थ्य सुरक्षाका कुनै नीति छैन । यसरी अरुका मृत शरीरलाई मुक्ति दिने मानिसका आफ्नै जिवित शरीर सुरक्षित छैनन् ।
तर, दाउराको भने दु:ख छैन । नेपाल टिम्बर कर्पोरेसनले दैनिक खपत हुने दाउरा दिइरहेको छ । एउटा शवको पूर्ण दहनका लागि चारदेखि पाँच सय किलो दाउरा चाहिन्छ । यसको अभाव भने छैन ।
टिप्पणीहरू