प्रेममा को परस्त्री, को परपुरुष ?

प्रेममा को परस्त्री, को परपुरुष ?

यो दुनियाँमा स्वार्थी को नहोला ? यहाँसम्म कि प्रेममा पनि मानिसको स्वार्थ जोडिएको हुन्छ । प्रेम त अन्तरआत्मादेखि आफैं उत्पन्न हुने भावना हो भनिन्छ तर विडम्बना यसमा पनि स्वार्थ मिसिन्छ भने यो संसारमा निस्वार्थ भाव के होला ? प्रेम निस्वार्थ हुन नसकेकैले व्यर्थ छन् सांसारिक सम्बन्धहरु ?

कसैसित प्रेम गर्नु अघि उसको व्यक्तित्व हेर्छाैं हामी । वैवाहिक सम्बन्ध त झन् हैसियत हेरेरै जोड्ने गरिन्छ । हैसियत हेरेर गाँसिने यस्ता सम्बन्धमा वास्तविक प्रेम गौण बन्न पुग्छ । प्रेमको बदला केही आशा राखिन्छ भने त्यो साँचो प्रेम हुनै सक्दैन । किनकि प्राप्ति मात्रै होइन, त्याग पनि आवश्यक हुन्छ मायामा । तर हामी कसैलाई माया गर्छाैं भने उसलाई आफ्नो बनाउने सपना सजाएका हुन्छौं । यदि उसको चाहना अरुतिरै छ भने आफ्नो प्रेम असफल भएको ठान्छौं । प्रेम पनि कहिल्यै सफल–असफल हुन्छ र ? उसको खुशी नै आफ्नो खुशी हुनुपर्ने होइन र ?

कसैलाई प्रेम गरेपछि बदलामा केही चाहना नहोस् न, त्यो पो प्रेम ? तर हामी त आफूले प्रेम गरेको व्यक्तिले आफूसित पनि प्रेम गरोस्, अझ जिन्दगी पनि आफूसँगै बिताओस् भन्ने सोच्छौं । उसले प्रेम गरे पनि नगरे पनि, ऊ आफ्नो भए पनि नभए पनि बरु एकोहोरो नै सही उसैलाई एकनास प्रेम गरिरहनु पो प्रेम त ¤ साँचो प्रेम त न कहिले घट्छ न कहिले बढ्छ । हावा जस्तो कुनै बेला हुरीबतास बनेर आउने, कुनै बेला पात पनि नहल्लिने भयो भने त्यो के माया ? मन प¥यो माया ग¥यो, मन पर्न छोडेपछि माया पनि टुट्यो, यस्तो छ हाम्रो स्वभाव ? प्रेम त अजरअमर हुनुपर्ने होइन र ? मानिस हो गल्ती भइहाल्छ तर प्रेमी वा प्रेमिकामा एउटाले गल्ती ग¥यो भने अर्काेले माया गर्नै छोडिदिने गर्छाैं हामी । सच्चा प्रेम त गल्तीलाई सुधार्न सघाउनुमा हुन्छ, चाहे गल्ती सानो होस् वा ठूलो ? एकपटक गरोस् वा बारम्बार । माया गर्ने मान्छेले बेइमान नै गर्दैन, धोका दिनै सक्दैन । र, माया गरिने मान्छेले गरेको बेइमान वा घात पनि सजिलै माफ हुन्छ, हुनुपर्छ ।

कसैलाई मन पराउनु नै माया हो भन्ठान्छौं हामी । तर मन पराउनु र माया गर्नु एउटै होइन कि ? मन परेको चीजको माया लाग्नु अस्वभाविक होइन । तर मन नपर्दानपर्दै प्रेमभाव जागृत हुन पनि के बेर ? मन पराउनु नै माया हो भने फुलिरहेको फूल टिपेर किन मार्छाैं हामी ? मन पराएको चीजको निम्ति प्राण त्याग्नु बुद्धिमत्ता नहोला तर जसलाई प्रेम गरिन्छ उसको निम्ति सती जान समेत संकोच नहोस् न ?

जीवनसाथी र प्रेमजोडी भन्नु फरक कुरा हो । वैवाहिक सम्बन्धमा प्रेम भन्दा प्रधान कुरा साथ र समझदारी हो । प्रेम नभई–नभई पनि जीवनभर सँगै बिताउनुपरेको, एक–अर्कालाई साथ दिनुपरेको दम्पती कति छन् कति यो समाजमा । आफ्ना आवश्यकता, इच्छा, आकांक्षा पूरा गरिदिए श्रीमान्को माया लाग्ने नत्र नलाग्ने । यस्तै आफूले भनेको मानी भने पत्नीलाई प्रेम गर्ने नत्र नगर्ने । यस्तो छ हाम्रो सम्बन्ध ? अनि यो कसरी प्रेम सम्बन्ध भयो ? हामी त प्रेम गरेको भन्छौं ऊ अशक्त भएर थला पर्दा छोडेर जान्छौं । आफूलाई प्रेम नगरेको झोंकमा एसिड छ्यापिदिन्छौं । आफू बाहेक अरु कसैलाई प्रेम गरेको, अरुसित यौन सम्बन्ध राखेको थाहा पाए त हत्या सम्म गरिदिन्छौं । यस्तोमा आत्महत्या गर्नु पनि मूर्खता हो । प्रेममा स्वतन्त्रता हुनुपर्छ । आफ्नो पति वा पत्नीको अरुसित अफेयर छ वा अरुसित यौन सम्बन्ध राख्छन् भने पनि त्यसमा रिस गर्नु, त्यो थाहा पाएर मारपिट गर्नु सच्चा प्रेमी, प्रेमिकाको पहिचान हुनै सक्दैन । तर हामी त स–साना कुरामै झगडा गर्छाैं, मारपिट गर्छाैं ?

परपुरुष–परस्त्रीबीच प्रेम हुनुलाई हाम्रो समाजमा राम्रो मानिँदैन । त्यो सामाजिक धारणा नै बेठिक छ । वास्तवमा परस्त्री–परपुरुष भन्ने कुरा नै गलत हो । यो संसारमा को आफ्नो, को पराई ? रगतको नाता भन्दा त भावनाको नाता गाढा हुन्छ भने सिन्दूरको नाता त केही पनि होइन । शरीर कहिल्यै आफ्नो हुँदैन । मानिसको मन हो आफ्नो हुने । शरीर एक जनासँग भएर के भो ? मान्छेको मनले हजारौंलाई माया गर्न सक्छ । प्रेम प्राकृतिक चीज हो, जहिले जोसँग पनि उत्पन्न हुन सक्ने । पति–पत्नीबीच मात्रै प्रेम सीमित हुन्छ र हुनुपर्छ भन्ठान्नु संकीर्ण सोचाइ मात्र रहेछ । यौन पनि पति–पत्नीबीच मात्रै हुनुपर्ने सामाजिक मर्यादा जुन छ, त्यो अप्राकृतिक–अस्वभाविक छ । जब हामी प्रकृतिको विपरीत चल्दछांै भने दुःख–कष्ट अनेक झेल्दछौं । कसैलाई प्रेम गरेपछि उसलाई आफ्नो यौवन सुम्पिनु स्वभाविक चाहनाको कुरा हुन्छ । तर यहाँ त कथित सामाजिक मर्यादा र राज्यको कानुनले मानिसलाई यसरी बाँधेको छ कि ऊ उकुसमुकुस जीवन व्यतीत गर्न बाध्य छ । संसारका अरु कुनै प्राणीमा त्यस्तो बन्धनचाहिँ नहोला । बरु संसारका कतिपय निरीह प्राणीलाई मानिसले नै साङ्लो, दाम्लोले बाँधेर उसको प्राकृतिक स्वतन्त्रता हनन् मात्र गरेको छैन कि मारेर उसको बाँच्न पाउने अधिकारसमेत खाइदिएको छ ।

यौनको कुरा गर्दा प्रहरी प्रशासनले होटल–लजमा गएर छापा मार्दै यौनजोडीलाई समातेर दुःख दिँदै आएको छ । तर मानवीय स्वभाव तथा प्रकृतिको हिसाबले यसमा प्रहरी दमन अनुचित हो कि ¤ चाहे अर्कैका श्रीमान्–श्रीमती नै किन नहुन्, आफ्नो चाहना अनुसार पनि बाँच्न नपाउने ? स्वेच्छाले आफ्नो यौवन साट्न नपाउने ? यो कस्तो हस्तक्षेप हो राज्यको नागरिकमाथि ? आफ्नो श्रीमान्–श्रीमती वा घरका मान्छेले थाहा पाउलान् भनेर होटल–लज वा एकान्तमा लुकेर प्रेमालाप (यौनालाप) गर्न गयो, त्यैपनि प्रहरी–प्रशासनले समातेर सार्वजनिक गरिदिने, मुद्दा चलाएर कोचिदिने ? श्रीमान् वा श्रीमती विदेश छ, यौन चाहनाले सतायो अनि कोही मन मिल्ने, माया लाग्ने मान्छे भेटेर ऊसित शारीरिक सम्बन्ध राख्नु कसरी अस्वभाविक–अव्यवहारिक भयो ? श्रीमान्–श्रीमती स्वदेशमै भएपनि यौन प्यास नमेटिएको हुन सक्छ वा अरु नै प्रेमी–प्रेमिकासित यौवन साट्ने मन हुन सक्छ । त्यस्ता घटनालाई प्रहरी, मिडिया र समाजका कसैले पनि अतिरञ्जित–दण्डित बनाउनु उपयुक्त छैन । तर यहाँ त यस्तो थाहा पायो भने ब्ल्याकमेल गरेर नाजायज फाइदा लुट्न कस्सिन्छन् फटाहाहरु ।

कसैमाथि जबरजस्ती करणी गर्नु पो ठिक होइन । बालबालिकालाई ललाइफकाइ करणी गर्नु पनि दण्डनीय छ । तर उमेर पुगेका स्त्री–पुरुषबीच मन मिलेर गरिने सहवासलाई परपुरुष÷परस्त्रीका नाममा दण्डित गर्ने समाज र कानुनको जुन नजरिया छ, त्यो परिवर्तन हुन आवश्यक छ । जमाना कहाँदेखि कहाँ पुगिसक्यो, कोरोना जस्तो सूक्ष्म भाइरसले मान्छे मार्न थालिसक्यो । हामीचाहिँ अझै परस्त्री–परपुरुष सम्बन्ध भन्दै मान्छे–मान्छेमै सजाय थोपरिरहेका छौं ¤ धन्दा नै चलाएर यौनको व्यापार गर्नेहरुलाई समात्नु अर्कै कुरा भयो । तर धन्दा रोक्ने ध्याउन्नमा प्रेमजोडी (यौनजोडी)को धिक गर्नु बिल्कुल उचित होइन । बरु रेडलाइट एरिया तोकेर देहव्यापारलाई पनि मान्यता दिनुपर्ने समयको माग छ ।

माछा पानी विना बाँच्न सक्दैन, चरालाई जति पिँजडाले थुनेपनि उसको अन्तिम इच्छा खुला आकाशमा विचरण गर्नु नै हो । अरु सबै आवश्यकता पूर्ति भएपनि, भौतिक सुख–सुविधाले भरिपूर्ण भएपनि प्रेम र यौनको अभावमा मानिस पलपल तड्पिन्छ, मरेतुल्य जीवन बाँच्दछ । आफ्नो इच्छा–आकांक्षा मारेर बाँच्नुपर्ने पनि के जिन्दगी ?

टिप्पणीहरू