मतपत्र सेनाको निगरानीमा छापिने

मतपत्र सेनाको निगरानीमा छापिने

आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिने भएको छ । झण्डै २ करोड थान मतपत्र नेपाली सेनासहितका सुरक्षाकर्मीको निगरानीमा छाप्ने तयारी गरिएको हो ।

निर्वाचन आयोगले पर्सि नमूना मतपत्र छाप्ने र त्यसपछि दुई करोड थान सक्कल मतपत्र छाप्ने निर्णय गरेपछि उक्त चाँजोपाँजो मिलाइएको हो । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेनाको टोली आजैदेखि तैनाथ गरिनेछ ।

‘नेपाली सेनासहित झण्डै डेढ सय सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आएलगत्तै हामी मतपत्र छाप्न थाल्नेछौं,’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइस्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’

मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा हुनेछ । प्रवेशस्थलमा भने सेनाले जाँच गर्नेछ । उक्त क्षेत्रमा सिसिटिभी क्यामेरा पनि थपिने बताइएको छ ।

दुई करोड मतपत्र छाप्न नौ वटा मेशिनलाई तयारी अवस्थामा राखिएको छ ।

टिप्पणीहरू