कुन बास रोज्छौ र कमरेड !

कुन बास रोज्छौ र कमरेड !

भनाइ नै छ ‘भाइ फुटे, गँवार लुटे ।’ महाकाली सन्धि संसद्बाट पारित गराउनु राष्ट्रघात हो भन्दै वामदेव, सीपी, घनश्यामलगायतको ठूलो पंक्तिले एमालेलाई फुटाएर नयाँ कम्युनिष्ट पार्टी नेकपा(माले) गठन ग¥यो । यो पंक्तिकार पनि तत्कालीन मालेको सदस्य थियोे ।

माले र एमाले बनेपछि पहिलोपटक कहिल्यै नसुनिएको आरोप–प्रत्यारोप सुन्न पाइयो । मालेलाई एमालेले र एमालेलाई मालेले टुँडिखेलमा आमसभा गरी–गरी तथानाम भने, अनेकथरी आरोप लगाए । तर ती आरोपमाथि कहिल्यै छानबिन भएन । कांग्रेसका मित्रहरूले प्रदीप नेपालले मालेका मान्छेलाई लगाएको आरोप र योगेशले एमालेका मान्छेहरूलाई लगाएको आरोप सुनाएर अहिले पनि हामीलाई घोचपेच गर्छन् ।

उक्त विभाजनपछि एमाले र माले छुट्टाछुट्टै पार्टी बनेर चुनावमा गए । चुनावमा मालेले ६ लाख मत ल्यायो तर समानुपातिक नहुँदा संसद्मा शून्य सिट भयो । लडाइँमा पछि पर्नु र चुनावमा दोस्रो हुनु एउटै हो हार्नु, हो, एमाले दोस्रो भएर हा¥यो । कांग्रेस पहिलो दल बनेर जित्यो र सत्तामा गयो । फुट्दा के–कस्तोसम्मको नोक्सानी व्यहोर्नुपर्छ र फाइदा कसलाई हुन्छ भन्ने कुराको यो ठूलो उदाहरण हो । यसबाट पाठ सिक्नुपर्छ ।

०५९ सालमा कांग्रेस विभाजन भयो । विभाजनको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । राजदरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाश भएपछि राजा बनेका ज्ञानेन्द्रले उनै देउवालाई प्रयोग गरेर के–के हात पारे भन्ने कुरा उल्लेख गरिरहनु परेन । प्रजातन्त्रलाई दरबारमा लगेर बुझाएको आरोप देउवालाई आज पनि लागिरहेकै छ । शक्तिशाली राजनीतिक दल विभाजित भएर कमजोर बन्दा कसरी लोकतन्त्रसमेत कमजोर हुन जाने रहेछ भन्ने यो एउटा उदाहरण हो ।

पहिलो संविधानसभा चुनावमा नेकपा (माओवादी) ले दुई सय २९ सिट जितेर संविधानसभामा ठूलो दल बन्यो । तर, ठूलो दल बनेर पनि पहिलो संविधानसभाबाट संविधान बनाएर जारी गर्ने काममा सफलता हासिल गर्न असफल रह्यो र सत्तामा बसेर राम्रो काम गरेर जनताको मन जित्न पनि सकेन । बरु अनावश्यक घमण्ड र दम्भ प्रदर्शन गरेका कारण आठ महिनामै सत्ताबाट बेदखल हुन पुग्यो ।

दोस्रो संविधानसभा चुनावमा त यसका सुप्रिमो प्रचण्ड स्वयं नै चुनाव हार्न पुगे काठमाडौंबाट । अरू कति जना र कोको हारे भन्ने कुराको त लेखाजोखा नै छैन । अहिले माओवादी केन्द्र अस्तित्व बचाउने लडाइँमा छ । विवाद, झगडा, असमझदारी, टुटफुट र अकर्मण्यताले कस्तो असर पार्नेरहेछ भन्ने यो अर्को उदाहरण हो ।

०७४ सालको प्रदेश र संघको चुनावमा एमाले र माकेले चुनावी गठबन्धन गरेर जनतामा गए । वामपन्थी गठबन्धनले जनताको मनलाई छोयो । वामपन्थीको नेतृत्वमा सरकार बने देशमा राजनीतिक स्थायित्व कायम हुनेछ र विकास निर्माणका काम पनि अघि बढ्नेछ भन्ने भरोसा जनतामा पैदा गरायो । जनताले अत्यधिक बहुमतसहित गठबन्धनका उम्मेदवारलाई जिताइदिए । पछि एमाले र माकेबीच एकता भएर बनेको नेकपा (नेकपा )को संसद्भित्रको शक्ति सोही गठबन्धनको नतिजा थियो ।

तर, आज त्यो तागतवर र विशाल शक्ति भएको पार्टी नेताको जुँगाको लडाइँको शिकार भएर तीनतिर उछिट्टिएको छ । यद्यपि, आजको दिनमा पनि एमाले नै देशको सबैभन्दा ठूलो र मजबुत जनाधार भएको दल हो । तर, यो अवस्था हिजोको गठबन्धनको कारणले बनेको हो भन्ने कुरा पनि उत्तिकै साँचो हो ।

सबै दलले एक्लाएक्लै चुनावमा भाग लिए भने हुन सक्छ एमाले नै ठूलो दलको रूपमा आउन पनि सक्ला । तर, चुनाव यसरी हुनेवाला छैन । कांग्रेससँग त सीधा प्रतिस्पर्धा नै छ । एक्लाएक्लै चुनावमा जाँदा माके र एसले पनि भोट पाउने त एमालेले मेरो भनेकै मतदाताबाट हो । यी दुई दलमा लागेका वा यिनलाई समर्थन गर्ने मतदाताले आफ्नो दलले नजित्ने चुनावमा विवेक प्रयोग गरेर वामपन्थीलाई जिताउनुपर्छ भनेर एमालेलाई भोट देलान् कि ओली कमरेडको सेखी झार्नुपर्छ भनेर कांग्रेसतिर सोझ्याउलान् ?

राजनीतिक तिक्तता जुन स्तरमा छ माथिल्लो वर्गमा त्यसले जुन दलको भए पनि वामपन्थीले नै जित्नुपर्छ भन्ने कुरालाई आत्मसात् गर्दैन । यो वर्गले एमालेलाई हराउन आवश्यक परे कांग्रेसलाई भोट हाल्न लगाउन सक्छ अथवा यी दुबै दलले आफ्नो भोट आफैँलाई दिलाए भने पनि एमालेको भोट त घट्छ नै ! यसकारण समय अझै बिग्रिसकेको छैन । एमाले नेता घनश्याम भुसालले लेखेर र बोलेर भनेजस्तो अरूको होइन कि आ–आफ्नो कमजोरी केलाउने हो तीन नेताले भने लिकभन्दा बाहिर गएको सम्बन्ध पुनः लिकमा आउन सक्छ ।

अब लिकमा आएपछि त फुल स्पिडमा कुदाउनुको विकल्प रहन्न । स्पिडमा गुड्यो भने फेरि पनि ड्राइभर (ठूलो नेता) बन्ने भनेको अरू नभएर उहाँहरू नै हो । त्यसकारण यदि एकता वा गठबन्धन नगरी, अहिलेकै जस्तो तिक्तता बोकेर चुनावमा भाग लिने हो भने माके र एस त धुलोपिठो नै हुनेछन् तर एमाले पनि नराम्ररी पछारिने कुरामा दुईमत छैन ।

यसले फाइदा पु¥याउने कांग्रेसलाई नै हो, त्यसकारण साम्राज्यवादी पुँजीवादी शक्तिलाई नै हो । मिति भएको औषधि खाए मात्रै काम गर्छ । बेला छँदै चेतौँ । एकपटक चुनावमा पराजित भैयो भने अर्को चुनाव जित्न धेरै मुश्किल हुन्छ । भविष्यमा हुने कुनै पनि चुनाव सजिलोसँग जितिने छैन । मिलेको अवस्थामा सत्ता सामुन्नेमै छ नत्र भने चपरी मुनिको बास त पक्का छ । सत्ता रोज्ने कि चपरीमुनीको बास कमरेड ?

टिप्पणीहरू