एमालेका जनप्रतिनिधिले गर्मीमा कम्बल बाँडे

एमालेका जनप्रतिनिधिले गर्मीमा कम्बल बाँडे

धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले स्थानीयलाई कम्बल वितरण गरेका छन् । पालिकाभित्र रहेका पाँच वटा वडाका सात सय ५३ ज्येष्ठ नागरिकलाई उनले कम्बल वितरण गरेका हुन् । गर्मीले बसिनसक्नु र उकुसमुकुुस भएको बेलामा कम्बल वितरण गर्नुको औचित्य बुझिनसक्नु भएको विपक्षीहरुले बताएका छन् ।

जाडोमा वितरण गर्नुपर्ने कम्बल अध्यक्ष राउतले गर्मीमा किन वितरण गरे ? भन्दै उनीहरुले प्रश्न गरेका छन् । सरकारले बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा गरेको छ । चुनाव आउन अब जम्मा ४३ दिन बाँकी छ ।

निर्वाचन मिति घोषणापछि कतिपय जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । विभिन्न कार्यक्रमको आयोजनादेखि शिलान्यास,उद्घाटनमा उनीहरु व्यस्त भएका हुन् । यस्तोमा बटेश्वरका अध्यक्ष राउतले पनि कम्बल बाँड्नुलाई विपक्षीले शंकाको घेराभित्र राखेका छन् ।

निर्वाचन आयोगले चुनावको मुखमा मतदाता रिझाउने कार्य गर्न नहुने बताए पनि अध्यक्ष राउतले अटेर गरेको आरोप छ । मधेश प्रदेशमा यतिखेर उखरमाउलो गर्मी छ । त्यहाँका स्थानीय गर्मीबाट जोगिन हुने खानेहरु एसी,पंखा खरिद गरिरहेका छन् । विपन्न वर्गले रुखको छहारी खोज्दै हिँड्छन् । तर,जनप्रतिनिधिहरु भोटका लागि जाडोमा बाँड्नुपर्ने कम्बल मध्य गर्मीमा बाँडिरहेका छन् ।

यतिखेर कम्बलमा बजेट खन्याउनु बालुवामा पानी मिसाएसरह भएको सबैको बुझाइ छ । पुसको जाडोमा कठ्याङ्ग्रिएर बसेका स्थानीयलाई नदेख्ने जनप्रतिनिधिले चुनावको मुखमा यस्तो गर्न नसुहाउने स्थानीयको भनाइ छ । कम्बल बाँड्न अध्यक्ष राउतसँगै उपाध्यक्ष प्रमिलादेवी महतोलगायत पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु घर घरमा पुगेका हुन् ।

अध्यक्ष राउत गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् । पालिकाले हालसम्म पनि कम्बल वितरणको बजेट सार्वजनिक नगरेको भन्दै विपक्षीहरुले चर्को आवाज उठाएका छन् ।

टिप्पणीहरू