अध्यक्ष उपेन्द्रमाथि आरोप लगाउँदै जसपा जनप्रतिनिधिले पार्टी छाडे

अध्यक्ष उपेन्द्रमाथि आरोप लगाउँदै जसपा जनप्रतिनिधिले पार्टी छाडे

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सिरहाको औरही गाउँपालिका–३ की उपाध्यक्ष सीताकुमारी यादवले पार्टी परित्यागको घोषणा गरेकी छन् । आज विज्ञप्ति जारी गर्दै उनले साधारण सदस्यसमेत नरहने गरी जसपा छाडेको जानकारी गराएकी हुन् ।

उपाध्यक्ष यादवले अध्यक्ष उपेन्द्र यादवले आफूमाथि अन्तर्घात गरेकाले पार्टी छाड्न बाध्य भएको बताएकी छन् । पाँच वर्षसम्म गरेको राम्रो कामको पार्टीले मूल्याङ्कन नगरेको उनले आरोप लगाएकी छन् ।

यसबारे जिल्ला पार्टीको कार्यसमितिमा दिएको निवेदन सुनुवाइ नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र केन्द्रीय अध्यक्षलाई दिएको ज्ञापनपत्रमाथि कुनै चासो नदिएका कारण पार्टीबाट अलग हुनुपरेको उनको तर्क छ ।

निर्वाचनको मिति नजिकिएसँगै तराई–मधेशमा बहालवाला जनप्रतिनिधि नै धमाधम पार्टी छाडिरहेका छन् । यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जसपा छाडेर एमालेमा गएका थिए । पुनः जनप्रतिनिधि बन्न चाहेकाहरु टिकटको सुनिश्चितताका लागि पार्टी चाहार्दै हिँड्नेक्रम सबैतिर देखिए पनि मधेशमा अत्यधिक देखिन्छ ।

टिप्पणीहरू