कहाँ गयो ग्यास ?
अभाव हुनुपर्ने कुनै कारण छैन, तर बजारमा ग्यास पाइँदैन ।सरकारद्वारा घोषित रुपमा लकडाउन शुरु भएको ९ दिन र त्यसअघि नै भएको आंशिक लकडाउनको अवधी जोड्दा १५ दिन हुन्छ । उद्योग, कलकारखाना र सबैखाले व्यावसायिक गतिविधि सुचारु हुने स्थितिमा महिनावारी खपत हुनेभन्दा बढी ग्यास आयात भएको छ । तर, अहिले बजारमा ग्यासकै हाहाकार छ । ती ग्यास कहाँ लुकाइयो भनेर सरकारी संयन्त्र धुइँपत्ताल खोज्दैछ, तर भेटाउँदैन ।
नेपालमा खाना पकाउने एलपी ग्यासको कूल आयातमध्ये २५ देखि ३० प्रतिशत ग्यास व्यावसायिक प्रयोजनमा खर्च हुन्छ । तर, देशमा १५ दिनयता सबैखाले व्यावसायिक गतिविधि ठप्प छ ।
अरु बेला मासिक ३५ हजार मेट्रिकटन ग्यासको उपभोग हुने नेपाली बजारमा कोभिड– १९ को संक्रमणबाट जनजीवन अस्तव्यस्त हुन नपाओस् भनेर आयल निगमले चैत महिनाका लागि ४५ हजार मेट्रिकटन ग्यास आयात ग¥यो । तर, अहिले बजारमा ग्यासको हाहाकार छ । मानौं, ती ग्यासमध्ये १५ हजार मेट्रिकटन व्यावसायिक प्रयोजनमै खर्चिएछन् भने पनि बाँकी हुने ग्यास छेलोखेलो हुनुपर्ने हो । तर, स्थिति त्यस्तो छैन ।
सामान्यतया एउटा परिवारले घरका सरदर दुई बाथरुमका लागि एक–एक वटा, भान्सामा चालु अवस्थाको एउटा र अर्को स्टोरेज गर्ने प्रचलन छ । त्यसो गर्दा पनि ग्यासको अभाव थिएन । त्यसमाथि अहिले काठमाडौं उपत्यकाबाट करिव १२ लाख जनसंख्या बाहिरिएको छ । यस्तो स्थितिमा देशभरबाट दैनिक डेढ लाख सिलिण्डर निस्किनुपर्ने हो । तर, भेटिँदैन । आयल निगमले मंगलबार देशभरका बजारमा कडाइँ गर्दा एक लाख १० हजार लाख ग्यास निस्कियो । अब निगमनले तीन–चार दिनमा डेढ लाख सिलिण्डर ग्यास निकाल्न सक्यो भने अभाव शून्य हुन्छ । नत्र, ग्यास भएर पनि सर्वसाधारणले नपाउने स्थिति रहन्छ ।
नेपालमा एलपी ग्यासका सिलिण्डर प्रशोधन र प्याकेजिङ गर्ने ६० वटा कम्पनी छन् । ती कम्पनीले बजारलाई चाहिने भन्दा बढी नै ग्यास दिइसके । तर, बजारमा ग्यास लुकिरहेको छ ।
थोक विक्रेताले एउटा भरी सिलिण्डरमा २५ देखि ३० रुपैयाँ नाफा लिन्छन् । तर, प्रत्येक सिलिण्डरमा सयदेखि दुई सय ग्राम लेदो बस्छ । र, आधा केजीसम्म ग्यास तलमाथि भइरहे ग्राहकले मेलो पाउँदैनन् । अहिले उपभोक्तालाई बढी र थोरैको होइन, केवल ग्यासको आवश्यकता छ । तर, ग्यास हराइरहेको छ ।
टिप्पणीहरू