चुनावमा उठ्न मन छ ? फर्म भर्नोस्

चुनावमा उठ्न मन छ ? फर्म भर्नोस्

आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकांक्षी व्यवस्थापन गर्न प्रमुख राजनीतिक दलहरुलाई हम्मेहम्मे परिरहेका बेला विवेकशील साझा पार्टीले भने विज्ञापन खुलाएको छ ।

‘बिचारभन्दा देश माथि’ भन्दै अध्यक्ष रवीन्द्र मिश्रले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएपछि रित्तिदै गएको विवेकशीलले चुनावका लागि उम्मेदवारी दरखास्त आव्हान गरेको हो । उसले तराजु चिन्हबाट उठ्न आग्रह गर्दै उम्मेदवार बन्न चाहनेहरुसङ्ग प्रस्ताव मागेको हो ।

उम्मेदवारका लागि प्रस्ताव आह्वान गर्दै विवेकशीलले देशभरबाट इमान्दार र सक्षम व्यक्तिहरुले अनलाइन फारम भर्न सक्ने जनाएको छ । त्यसका लागि https://bsp.org.np/looking-for-leaders/ मा गएर आ-आफ्ना दाबी पेश गर्न अनुरोध गरिएको छ ।

साथै,विवेकशीलका प्रदेश संयोजक/इन्चार्जहरूसँग सम्पर्क गरेर आफ्नो उम्मेदवारी पेश गर्न सकिने भनिएको छ । विवेकशीलले प्रदेश नं १: प्रकाशचन्द्र परियार,मधेस प्रदेशमा धनपति महतो,बागमतीमा उज्वलकृष्ण श्रेष्ठ,गण्डकीमा सुशीला केसी अधिकारी, लुम्बिनीमा अनुपमान सैँजु,कर्णालीमा कर्णबहादुर शाही र सुदूरपश्चिममा दिनेश भण्डारीलाई सम्पर्क व्यक्ति तोकेको छ ।

विदेशमा रहेका नेपालीले आफ्नो गाऊँ ठाउँमा आएर उम्मेदवार बन्न चाहे अन्तर्राष्ट्रिय समितिका संयोजक एसके श्रेष्ठलाई https://www.facebook.com/sks.sthaa मा सम्पर्क गर्न पनि विवेकशील पार्टीले आग्रह गरेको छ ।

पछिल्लो समय विवेकशील साझामा चरम विवाद छ । ‘मार्ग परिवर्तन’ का नाममा मिश्रले पश्चगामी बाटो समातेको भन्दै संयोजक मिलन पाण्डेसहितका नेताहरु अलग भैसकेका छन् भने पार्टीमै रहेकाहरु पनि असन्तुष्ट छन् । गत स्थानीय निर्वाचनमा काठमाडौँको मेयरमा उम्मेदवारी दिएर प्रतिष्पर्धात्मक मत ल्याएकी रन्जु दर्शना पनि घरजम बसाएर अहिले विवेकशीलमा छैनन् भने थुप्रै चर्चित अनुहारले पार्टी छोडिसकेका छन् ।

अध्यक्ष मिश्रले राप्रपासँग एकता गर्न लागेको भन्दै केही दिनअघि बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले विरोध गर्दा झडपसमेत भएको थियो ।

वैकल्पिक राजनीतिका नाममा मिश्रले ‘ब्याल्कमेलिङ’ गरेको र एकपछि अर्को समूहले पार्टी छोड्दा उम्मेदवारी दिने व्यक्तिसमेत नपाएर विज्ञापन खोल्नुपरेको कतिपयले टिप्पणी गरेका छन् ।

टिप्पणीहरू