कति र कस्तो मतपत्र छापिँदै

कति र कस्तो मतपत्र छापिँदै 

आगामी वैशाख ३० गने हुने स्थानीय तह निर्वाचनमा एक करोड ९४ लाख थान मतपत्र छापिने भएको छ । जसमा २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने छ । मतपत्र छाप्ने काम शुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले हिजो एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । थप मतपत्र छाप्ने कामलाई तीव्रताका साथ अघि बढाएको आयोगले जानकारी दिएको छ ।

मतपत्र छाप्नको लागि आयोगले प्राथमिकता निर्धारण गरे अनुसार सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने छ । मतपत्र छाप्न सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ । नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन् ।

मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन् । मतपत्र छाप्ने कार्य आगामी २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ ।

स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । कुल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने व्यवस्था छ ।

टिप्पणीहरू