पृथ्वीसुब्बाको जिल्लामा एमाले भर्सेज ४ दल

पृथ्वीसुब्बाको जिल्लामा एमाले भर्सेज ४ दल

लमुजङमा हिजो अबेर बसेको चारदलीय गठबन्धनको बैठकले आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मिलेर जाने निर्णय गरेको छ । सत्तारुढ नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एकढिक्का भएर एमालेको तुजुकलाई नामेट पार्ने भनेका छन् ।

काँग्रेस जिल्ला सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकबाट जिल्लाका सबै वडादेखि नगरपालिकासम्म गठबन्धन गरेर जाने तय भएको छ । तर काँंग्रेसभित्रै व्यापक असन्तुष्टिको छाल देखिएकाले उनको निर्णय कार्यान्वयन आफ्नै पार्टीभित्र चुनौतिपूर्ण देखिन्छ ।

गुरुङसहित माओवादी केन्द्रका जिल्ला संयोजक मधु अधिकारी गुरुङ,एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा चार दल ‘भर्सेज’ एमाले हुने जनाएका छन् । कहाँ को उम्मेदवार भन्ने टुंगो नलागे पनि बेसीशहर नगरपालिकामा काँग्रेसलाई मेयर र माओवादीलाई उपमेयर, सुन्दरबजारमा नेकपा एकीकृत समाजवादीका मेयर,काँग्रेसका उपमेयर,मध्यनेपाल नगरपालिकामा काँग्रेस मेयर, माओवादी उपमेयर, राइनास नगरपालिकामा काँग्रेस मेयर,माओवादी उपमेयर,दोर्दी गाउँपालिका माओवादीलाई प्रमुख काँग्रेसलाई उपप्रमुख,दूधपोखरीमा काँग्रेसलाई प्रमुख,माओवादीलाई उपप्रमुख,मर्स्याङ्दीमा काँग्रेस प्रमुख, नेकपा समाजवादी उपप्रमुख, क्व्होलासोथारमा पनि काँग्रेस नै प्रमुख र माओवादीलाई उपप्रमुखमा तय गरिएको बुझिएको छ ।

वडामा भने जित्ने आधारमा विभाजन गर्ने र जिल्ला तहमा कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन । खासै प्रभाव नरहेको जसपाले भने कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख पाउने छनक देखिएको छैन । कास्की र तनहुँसँग जोडिएको मध्यनेपाल नगरपालिकामा काँग्रेसले पुनः रमेश पाण्डेलाईभन्दा उपसभापति आनन्द घिमिरेलाई मेयरमा खडा गर्ने तयारी गरेको छ ।

घिमिरे लामो समय शिक्षण पेशामा रहेर अवकाशप्राप्त नेता हुन् । सुन्दरबजारमा काँग्रेसभित्र चर्को द्वन्द्व छ । पूर्व सभापतिहरु चन्द्रबहादुर कुँवर र कृष्ण कोइरालाको राम्रो मिल्ती नभएका कारण नेकपा समाजवादीलाई दिने गुञ्जायस छ । बेसीशहरमा पनि काँग्रेसको खटपट कम छैन । गत निर्वाचनमा भेषबहादुर पौडेललाई काँग्रेसभित्रकै श्रीकान्त घिमिरेहरु लागिपरेर हराएको आरोप छ ।

बेसीशहरमा काँग्रेसका श्रीकान्त घिमिरेले टिकट पाएको अवस्थामा पौडेलहरुले विगतको तीतो भुल्न सक्लान् र भन्ने चर्चा पनि उत्तिकै छ । सबै दलको चासो अन्य पालिकामा भन्दा पनि सदरमुकाम रहेको नगरपालिका बेसीशहरमा देखिएको छ ।

– अञ्जनकुमार हिमाली

टिप्पणीहरू