वाग्मतीमा आकांक्षीको रस्साकस्सी शुरु, एमालेलाई गठबन्धन भारी

वाग्मतीमा आकांक्षीको रस्साकस्सी शुरु, एमालेलाई गठबन्धन भारी

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीहरु खुल्न थालेका छन् ।

वाग्मती गाउँपालिकामा गत निर्वाचनमा काँग्रेसले जितेको स्थानीय तह हो । त्यहाँ वीरबहादुर लोप्चन अध्यक्ष छन् । फेरि अध्यक्ष बन्ने तयारीमा रहेका उनी आफ्नो पक्षमा माहोल बनाउन थालिसकेका छन् । काँग्रेसबाट स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको पनि अध्यक्षमा दाबी छ ।

‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नो दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’

यता, एमालेबाट नवराज सञ्जेल अध्यक्षको उम्मेदवार बन्ने चर्चा चलेको छ । आफूलाई पार्टीले टिकट दिने दाबी गर्दै उनले गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर जित्ने बताउने गरेका छन् । सञ्जेल भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’

एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०–३० लाख बजेट हात्तीको मुखमा जीरा जस्तो हुँदो रहेछ ।’

माओवादी केन्द्रबाट निसान दर्लामी मगरले इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्योलमै छ ।

गत चुनावमा प्रमुख तीन दल एक्लाएक्लै लड्दा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । ३३ सय ८८ मतसहित लोप्चनले अध्यक्ष जित्दा एमालेका दुर्गाप्रसाद घिमिरेले २२ सय ५२ भोट ल्याएका थिए । तेस्रो स्थानमा रहँदै माओवादीका उम्मेदवार राजु आलेमगरले १६ सय ४२ मत पाएका थिए ।

वाग्मतीमा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले चार वडाध्यक्ष जितेको थियो भने एमालेले तीन वटा वडा हात पारेको थियो । पालिकामा तेस्रो स्थानमा रहेको माओवादी केही वडामा भने थोरै मतले पराजित हुँदा दोस्रो भएको थियो ।

गत निर्वाचनको मत परिणाम हेर्दा केन्द्रीय निर्णयअनुसार वाग्मती गाउँपालिकामा पनि कांग्रेस र माओवादी, एकीकृत समाजवादीबीच गठबन्धन भए एमालेका लागि कठिन हुने देखिन्छ ।

काँग्रेसका स्थानीय नेता रमेश गौतम भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । काँग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार काँग्रेस बाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’

टिप्पणीहरू