अर्थमन्त्रालयमा हिजो महिला, आज सहकारी

अर्थमन्त्रालयमा हिजो महिला, आज सहकारी

मुलुक चरम आर्थिक संकटमा पुगेको भनिएका बेला आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनाउने तयारीमा रहनुभएका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सरोकारवालाहरुसँगको छलफललाई तीव्रता दिनुभएको छ ।

हिजो महिलाका सरोकारबारे कुराकानी गर्नुभएका मन्त्री शर्माले आज सहकारी क्षेत्रका सारोकारवालाहरुसँग अन्तरक्रिया गर्नुभएको छ । दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्रीले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभयो । उहाँले सबैको सुझाव संकलन गरेर बजेटमा समेट्ने प्रयास गरिने पनि प्रष्ट पार्नुभयो ।

‘छलफलमा सहकारी क्षेत्रलाई राम्रो गर्ने बिषयमा धेरै सुझाव आएका छन् । यी सुझावलाई बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ’ मन्त्री शर्माले भन्नुभयो ।

छलफलमा सहकारी क्षेत्रका दुई दर्जनभन्दा बढीको सहभागिता थियो । उनीहरुले सहकारीलाई घर घरसम्म लैजान प्रोत्साहन गर्नुपर्ने, कर्जा असुली न्यायाधिकरणलाई प्रभावकारी बनाउनुपर्ने, सहकारीमा हुने बदमासीलाई नियमन गर्न कडा कानुनी व्यवस्था गरिनुपर्ने, सहकारी विकासका लागि अनुसन्धानका कामहरु हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयले आगामी आबको बजेट निर्माणका लागि निरन्तर छलफल गर्दै आएको छ । अहिलेसम्म कृषि, शिक्षा, निजी क्षेत्र, बैंक, बित्तीय संस्था र बिमा, संघीयता, पूर्वाधार, दलित, अपाङ्गता, अर्थविद्लगायत क्षेत्रका प्रतिनिधिसँग छलफल भइसकेको छ । मन्त्रालयले बजेटका लागि सुझाव लिन सांसद, पूर्व अर्थमन्त्रीहरु, युवा तथा बिद्यार्थीलगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

भौतिक रुपमा छलफलमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि मन्त्रालयले ११३८ नम्बरको टोल फ्रि उपलब्ध गराएको छ । कार्यालय समयमा फोन गरी सुझाव दिन सकिने टोल फ्रि नम्बरमा पनि उत्साहजनक हिसाबले सुझावहरु आइरहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू