घर बिदाबाट नफर्केका नेता बैद्यद्वारा निश्कासित

घर बिदाबाट नफर्केका नेता बैद्यद्वारा निश्कासित

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले पार्टीका पोलिटब्यूरो सदस्य नगेन्द्र राई ‘लालबहादुर’सहित तीन केन्द्रीय नेतालाई पार्टीबाट निकालेको छ ।

पार्टी हितविपरितका क्रियाकलापमा संलग्न भएको आरोपमा राई, केन्द्रीय सदस्यद्वय कुमार बोगटी ‘बिकल्प’ र निलबहादुर पुन ‘हिरा’लाई साधारण सदस्यसमेत नरहने गरी अनुशानको कारवाही गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ।

उनीहरुमाथि पार्टी हितविरुद्ध गुटबन्दी गर्दै फुटपरस्त गतिविधिहरुमा संलग्न रहँदै आएको, केन्द्रीय कार्यालयका तर्फबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको,पार्टीले दिएका जिम्मेवारी पूरा नगरी विरोधी पार्टीहरुमा प्रवेश गर्ने उद्देश्यले मोलतोल (बार्गेनिङ्) गरेको वैद्यले आरोप लगाएका छन् ।

साथै,बोगटीको हकमा व्यक्तिगत कामका लागि पार्टीबाट ६ महिनाको घरबिदा लिएर बसेको तर उक्त अवधि समाप्त भएपछि पनि सम्पर्कमा नआएकाले समेत कारवाही गर्नुपरेको बताइएको छ ।

क्रान्तिकारी माओवादीको आज बसेको स्थायी कमिटी बैठकले तीनै जनालाई केन्द्रीय समिति, जनवर्गीय संगठनलगायत अन्य जिम्मेवारीहबाट हटाउनुका साथै साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कार्बाही गरी निष्कासन गरेको सो पार्टीले जनाएको छ ।

टिप्पणीहरू