भरतपुरमा एमाले एकगठ, गठबन्धनमा तानातान

भरतपुरमा एमाले एकगठ, गठबन्धनमा तानातान

भरतपुर महानगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले महानगर कमिटीको आज बसेको विस्तारित बैठकले प्रदेशसभा सदस्य विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गत निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालसँग मेयरमा पराजित एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीको प्रस्ताव र त्यहीँका संघीय सांसद कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदी सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् । चितवन २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकारमा २ महिने मन्त्री बनेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा रहँदै आएको छ । त्यहाँ रेणुलाई फेरी उम्मेदवार बनाउने माओवादीको तयारी छ ।

तर, तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले कुनै हालतमा मेयर नछोड्ने बताइरहेको छ । बरु गठबन्धननै तोड्ने तर कुनै हालतमा भरतपुर नछोड्ने अडानका साथ चितवनका कांग्रेसी नेता लागेपछि गठबन्धनलाई उम्मेदवार छान्न सकस परेको छ ।

आन्तरिक विवादले गठबन्धनका दलहरुले उम्मेदवार चयन गर्नै नसकिरहेका बेला एमालेले भने सुवेदीलाई मेयरको उम्मेदवार बनाएर चुनावी अभियान शुरु गरेको छ ।

टिप्पणीहरू